वागमती प्रोस्कुनको कानुन विपरित लगानी : ६०% कर्जा विना धितो

वागमती प्रोस्कुनको कानुन विपरित लगानी : ६०% कर्जा विना धितो :: Sahakari Akhabar

काठमाडौं । वागमती प्रदेशका बचत तथा ऋण सहकारीहरुको छाता संगठन वागमती प्रदेश बचत तथा ऋण सहकारी संघ (वागमती प्रोस्कुन) ले कानुन विपरित जोखिमपूर्ण रुपमा ऋण लगानी गरेको पाइएको छ । संघले गत आर्थिक वर्ष (२०७८/०७९) सम्ममा १ अर्व ३१ करोड रुपैयाँ बचत संकलन गरी ७२ करोड ३४ लाख रुपैयाँ ऋण लगानी गरेको छ । तर, संघको कुल लगानीमध्ये ६०.९४ प्रतिशत धितो सुरक्षण बिना नै लगानी गरेको लेखापरिक्षण प्रतिवेदनले औल्याएको छ । 

सहकारी ऐन, नियमावली र मापदण्डमा सहकारी संघसंस्थाहरुले बिना धितो ऋण लगानी गर्न नपाउने प्रावधान छ । वागमती प्रदेश सरकारले हालै जारी गरेको मापदण्डमा पनि लघुऋण मात्र सामूहिक जमानीमा दिने पाउने व्यवस्था गरेको छ । तर, वागमती प्रोस्कुनले भने कानुनी प्रावधान विपरित ठूलो कर्जा विनाधितो जोखिमपूर्ण रुपमा लगानी गरेको छ ।

संघका अध्यक्ष उद्धव सापकोटाले नयाँ संघ भएकाले सुरुवाती दिनहरुमा बिना धितो लगानी गरिएको स्वीकार गरे । ‘सुरुवाती दिनहरुमा हामीले बिना धितो लगानी गरेका हौं’ उनले भने, ‘अहिले बिना धितो लगानी गर्दैनौं ।’ गुणस्तर सुनिश्चितता कार्यक्रममा आवद्ध संस्थाहरुलाई लगानी गरेकाले जोखिममा नभएको उनले दावी गरे ।    

 
संघका प्रमुख कार्यकारी अधिकृत केशव प्रसाद दाहाल चालु आर्थिक वर्षदेखि बिना धितो लगानी बन्द गरिएको बताउछन् । ‘गत आर्थिक वर्षसम्म मात्र बिना धितो लगानी भएको हो’ उनले भने, ‘पुराना ऋणको पनि धितो राख्नका लागि ऋणीहमरुलाई ताकेता गरिरहेका छौं ।’ 

संघले ऋण लगानी गर्दा कानुन अनुसार कर्जा नोक्सानीको ब्यवस्था पनि गरेको छैन । सहकारीहरुले ऐन अनुसार असल ऋणको १ प्रतिशत, एक वर्षसम्म भाका नाघेको शंकास्पद ऋणको ३५ प्रतिशत र एक वर्ष भन्दा बढि भाका नाघेको खराब ऋणको शत प्रतिशत नोक्सानी व्यवस्था गरी कोषमा राख्नुपर्ने व्यवस्था छ । 

संघको लेखापरिक्षण प्रतिवेदन अनुसार गत आवसम्ममा कर्जा नोक्सानी कोषमा २५ लाख रुपैयाँ मात्र छुट्याएको छ । संघका सिइओ दाहाल गत आवसम्म नोक्सानी कोषमा रकम नछुट्याएको र चालु आवदेखि भने नियमित गरिएको बताउछन् । 

कर्जा नोक्सानी कोषमा रकम नछुट्याए पनि संघले नाफाबाट भने सदस्यलाई लाभांस बाड्दै आएको छ । अघिल्लो आवमा १२ प्रतिशत नगद लाभांस बाडेको संघले गत आवमा पनि १३ प्रतिशत नाफा वितरणको गर्ने प्रस्ताव साधारणसभाबाट पारित गरिसकेको छ । 

प्रारम्भिक संस्थाहरुलाई ऐन कानुन कार्यान्वयन र सुशासन सिकाउने जिम्मेवारी लिएको संघ आफैले भने कानुन विपरित कारोबार गरिरहेको छ । प्रोस्कुनले सदस्य संस्थाहरुलाई सुसानमा राख्नका लागि स्तरिकण कार्यक्रम ‘कोसिस’ संचालन गर्दै आएको छ । कार्यक्रमलाई वागमती प्रदेश सरकार, भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयले समेत स्वीकृती दिएको छ । 

संघको दोस्रो वार्षिक साधारणसभामा अतिथिका रुपमा प्रदेश रजिष्ट्रार नारायण प्रसाद ज्ञवाली उपस्थित भएपनि कानुन विपरित बिना धितो लगानी गरेको र कर्जा जोखिम कोषमा रकम नछुट्याएको विषयमा भने अनभिज्ञता प्रकट गरे । ‘संघको साधारणसभामा अतिथिका रुपमा सहभागि भएर भाषण गरेको हो’ उनले भने, ‘कानुन विपरित विना धितो लगानी गरेको र कर्जा जोखिम कोषमा रकम नछुट्याएको विषय जानकारीमा छैन ।’ संघले साधारणसभाको रिपोर्ट बुझाएपछि यसबारेमा छानविन गर्ने उनले बताए ।  
 



Leave a comment