‘घरमा भएको पैसा सहकारीमा जम्मा गर्नुहोस्, फाइदा लिनुहोस्’

‘घरमा भएको पैसा सहकारीमा जम्मा गर्नुहोस्, फाइदा लिनुहोस्’ :: Sahakari Akhabar

बागलुङ । बरेङ गाउँपालिकाका अध्यक्ष कृष्ण प्रसाद शर्माले सर्वसाधारणलाई घरमा राख्ने पैसा सहकारीमा बचत गरेर फादा लिन आग्रह गरेका छन् । ‘नगदलाई घरमै राख्दा त्यसले नाफा कमाउन सक्दैन’ आदर्श सञ्चार सहकारी संस्थाको एकाइ सभा उद्घाउन गर्दै उनले भने, ‘त्यसलाई सहकारी मार्फत परिचालन गर्दा सदस्यको हित हुन्छ,  सहकारी मार्फत कारोबार गर्दा न्यून पुँजी भएकालाई बढी फाइदा पुग्छ ।’ उनले सहकारीले ग्रामीण क्षेत्रमा पुँजी परिचालन गर्न महत्वपूर्ण योगदान गरेको बताए । 

उनले  सञ्चार कर्म गर्ने सहकारीहरु प्रभावकारी नदेखिएको सन्दर्भमा आदर्श सञ्चार सहकारी आर्थिक रुपमा र सञ्चार क्षेत्र दुबैमा अब्बल सावित भएको उल्लेख गरे । ‘सहकारी मार्फत सञ्चार कार्य निकै चुनौतीपूर्ण छ, तर आदर्श सञ्चार सहकारीको मेहनतका कारण गाउँ–गाउँमा शाखा विस्तार र प्रभावकारी मिडियाहरु सञ्चालन गर्नु उदाहरणीय छ’ अध्यक्ष शर्माले भने । गाउँमा आर्थिक समृद्धिका लागि सहकारीको भूमिका अतुलनीय रहने उनको भनाइ थियो । 

साधारणसभामा बरेङ गाउँपालिका–३ का वडा अध्यक्ष शेर बहादुर खनाल, संस्थाका सल्लाहकार रुद्र बहादुर महत, अभियान कृषि सहकारी बरेङ सेवा केन्द्रका सचिव धनिश्वर पौडेल, सहकारीका बरेङ गाउँपालिकामा सञ्चालित बरेङ सेवा केन्द्रका संयोजक जयराम शर्मालगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । 

बरेङ गाउँपालिका सेवा केन्द्र अन्तरगतका शेयर सदस्यहरुको सहभागिता रहेको साधारणसभामा सहकारीमा सदस्यको भूमिका, आयआर्जन र वचतका लागि सहकारी र सदस्यबीचको सम्बन्ध, वित्तीय साक्षरता लगायतका विषयमा सहजीकरण समेत गरिएको थियो । 
    
संस्थाको गत आर्थिक वर्षको समिक्षा, चालु आर्थिक वर्ष र १० वर्षे रणनीतिक योजना अन्तरगत बनेका योजना र कार्यक्रमहरुको बारेमा सदस्यहरुबीच छलफल भएको थियो । सदस्यहरुको सक्रियतामा मात्रै सहकारी संस्था प्रभावकारी रुपमा सञ्चालन हुने भएकाले सदस्य वृद्धि गर्दै सहकारी मार्पत आर्थिक कारोवार गर्नुपर्ने सहकारी संस्थाका अध्यक्ष हुमा कुमारी जिसी (अञ्जु) ले जानकारी दिइन् । कार्यक्रममा संस्थामा उत्कृष्ट कर्जा कारोवार गर्ने श्याम बहादुर क्षेत्री, उत्कृष्ट जोडीका रुपमा कारोबार गर्ने कमल शर्मा र रुपा शर्मा, शेयर वृद्धि तर्फ उत्कृष्ट कर्मचारीको रुपमा सुवाश शर्मालाई प्रशंसा पत्रले सम्मान गरिएको थियो ।  

आदर्श सञ्चार सहकारी संस्थाको दोस्रो सेवा केन्द्र बरेङ गाउँपालिकामा गत असोज १५ गतेदेखि औपचारिक रुपमा शुरु भएको छ । बरेङ गाउँपालिका भित्रका करिव ३ सय जना शेयर सदस्यका बीच संस्थाले कारोबार गर्दै आएको छ । आगामी असार मसान्तसम्म बरेङ गाउँपालिका ६ सय जना शेयर सदस्य पु¥याउने लक्ष्य रहेको बरेङ सेवा केन्द्रका संयोजक जयराम शर्माले जानकारी दिए ।

आदर्श सञ्चार सहकारीले विगत १६ वर्षदेखि धौलागिरी जागरण दैनिक, ९ वर्षदेखि अग्रसर साप्ताहिक र ४ वर्षदेखि आदर्शसञ्चार अनलाईन सञ्चालन गर्नुका साथै १० वर्षदेखि धौलागिरी टेलिभिजनमा सहकार्य गर्दै आइरहेको छ । संस्थामा हाल ३ हजार ३ सय जना शेयर सदस्य ५ करोड ५५ लाख शेयर रकम, ३० करोड वचत, ३८ करोड कर्जा लगानी सहित ४५ करोड कुल सम्पत्ती रहेको प्रवन्धक दिपकराज सापकोटाले जानकारी दिए । आगामी असार मसान्तसम्म ५ हजार जना भन्दा बढी शेयर सदस्य, ८ करोड शेयर पुँजी, ४६ करोड वचत, ५१ करोड कर्जा लगानी सहित कुल सम्पत्ती ५६ करोड पु¥याउने लक्ष्य रहेको साधारणसभा जानकारी दिइएको थियो । संस्थाले लिएको लक्ष्य पुरा गर्नका लागि प्रत्येक शेयर सदस्यले प्रत्येक वर्ष २ जना शेयर थप (इच वन, क्याच टु) अभियान सञ्चालन गरिरहेको छ ।


संस्थाले विद्यालयमा सहकारी शिक्षा, दुव्र्यवसन विरुद्ध आमाहरु अभियान, महिलाहरुले महिनाबारीमा प्रयोग गर्ने प्याड घरमै बनाउने तालिम, महिला शसक्तिकरण, युवा र विद्यार्थीका लागि वित्तीय साक्षरता, पर्यटन प्रवद्र्धनमा सञ्चार सहकारीको भूमिका, स्वास्थ्य शिक्षा र उपचार लगायतका कार्यक्रम सञ्चालन गर्दै आएको छ ।      



Leave a comment