काठमाडौं । चालु आर्थिक वर्ष २०७९/०८० को तीन महिनामा देशको अर्थतन्त्रमा सुधारको संकेत देखिएको छ । उच्च शोधानान्तर घाटाले घट्दो विदेशी विनिमय संचितीले अर्थतन्त्रमा बाह्य दवाव बढिरहेका बेला तीन महिनाको तथ्यांकले भने सुधारको संकेत गरेको हो ।
नेपाल राष्ट्र बैंक र सरकारको नीतिका कारण आयातमा नियन्त्रण र कोभिडको महामारीको प्रभावले घटेको रेमिट्यान्स आम्दानी बढेपछि अर्थतन्त्रका सूचकमा सुधार देखिएको छ । राष्ट्र बैंकले प्रकाशित गरेको देशको आर्थिक तथा वित्तीय अवस्था सम्बन्धी तथ्यांक अनुसार २०७९ असोजमा देशको शोधानान्तर १२ अर्ब ४३ करोड रुपैयाँले बचत भएको छ । जबकी २०७९ बैशाखमा शोधानान्तर घाटा २ खर्व ८८ अर्व ५० करोड रुपैयाँ पुगेको थियो ।
अत्याधिक आयातका कारण शोधानान्तर घाटा उच्च हुनुका साथै विदेशी मुद्राको संचिती समेत घट्न थालेपछि राष्ट्र बैंकले आयात निरुत्साहित गर्न नीति अघि सारेको थियो । यसैगरी सरकारले पनि पनि विलासिताका सामान आयातमा रोक लगाउदै आएको छ ।
यसैगरी चालु आर्थिक वर्षको तीन महिनामा देशको रेमिट्यान्स आन्दानी १६ दशमलव ८ प्रतिशतले वृद्धि भई २ खर्ब ८१ अर्ब ५ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ७ दशमलव १ प्रतिशतले घटेको थियो ।
यस्तै अमेरिकी डलरमा विप्रेषण आप्रवाह पनि ७ दशमलव ९ प्रतिशतले वृद्धि भई २ अर्ब १९ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ७ दशमलव १ प्रतिशतले घटेको थियो । वैदेशिक रोजगारीमा जाने नेपालीहरुको संख्या बृद्धि र डलरको भाउ उच्च हुँदा रेमिट्यान्स आम्दानीमा सकारात्मक प्रभाव देखिएको छ । रेमिट्यान्ससँगै पर्यटकबाट हुने भ्रमण आयमा पनि सुधार भएको छ । चालु आवको असोजसम्ममा भ्रमण आय ११० दशमलव ४ प्रतिशतले वृद्धि भई ११ अर्ब ४१ करोड रुपैयाँ पुगेको छ ।
तीन महिनामा आयात निर्यातसँगै व्यापार घाटा पनि घटेको छ । यस अवधिमा निर्यात ३५ दशमलव ७ प्रतिशतले कमी ४१ अर्ब ८२ करोडमा सिमित हुँदा आयात पनि १६ दशमलव २ प्रतिशतले घटेर ४ खर्ब १ अर्ब पुगेको छ । जसको कारण चालु आवको तीन महिनामा कुल वस्तु व्यापार घाटा १३ दशमलव १ प्रतिशतले घटेर ३ खर्ब ५९ अर्ब १८ करोड कायम भएको राष्ट्र बैंकले उल्लेख गरेको छ ।
विदेशी मुद्रा संचितीमा सुधार
शोधानान्तर स्थितीमा सुधारसँगै लामो समयदेखि दवावमा रहेका देशको विदेशी मुद्रा संचिती पनि सुधार भएको छ । २०७९ असारमा १२ खर्ब १५ अर्ब ८० करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति २ दशमलव ५ प्रतिशतले वृद्धि भई २०७९ असोजमा १२ खर्ब ४६ अर्ब २२ करोड पुगेको छ । तर, अमेरिकी डलरमा भने यस्तो सञ्चिति २०७९ असारमा ९ अर्ब ५४ करोड रहेकोमा २०७९ असोजमा ०.६ प्रतिशतले कमी आई ९ अर्ब ४८ करोड कायम भएको छ ।
आर्थिक वर्ष २०७९/८० को तीन महिनाको आयातलाई आधार मान्दा बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति ९.६ महिनाको वस्तु आयात र ८.३ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने राष्ट्र बैंकले जनाएको छ ।
Leave a comment