हाइलाइट

त्रासमा सहकारीका बचतकर्ता 

त्रासमा सहकारीका बचतकर्ता  :: Sahakari Akhabar

चीना थापा, विराटनगर । मोरङको केराबारी गाउँपालिका ५ की सोभा गुरुङले फरक फरक उदेश्यका २ सहकारीमा बचत गर्छिन् । अहिले उनलाई पैसा राखिरहनुकी झिक्न जानु भन्ने चिन्ता छ । पछिल्लो समय सहकारीमा देखिएको विकृति र विसंगतिको विषयमा विभिन्न सञ्चार माध्यममा आएका समाचार पढ्दा आफ्नो पैसा पनि सुरक्षित नहुने होकी भन्ने चिन्ता उनलाई छ ।

‘बचत गरेको पैसा फिर्ता नपाएको, नखाएको ऋणको पैसा मागेको समाचारहरु आईरहेको छ’, उनले भनिन्, ‘यस्तो देख्दा दुःख गरेर कमाएको पैसा फस्ला भन्ने चिन्ता जसलाई नी भईहाल्छ ।’ ‘सञ्चालक समितिका मान्छेहरु आफैले पैसा खाईदिए भने हाम्रो दुःखको कमाई त गयो’, उनले भनिन्, ‘गाउँको हो हाम्रो त खादैनन् होला तर, पनि डर हुँदो रहेछ ।’ थोरै भएपनि बचत होला भनेर कमाएको बचत गरिएको पैसा नफसोस् भन्ने आफ्नो चाहना भएको उनको भनाई छ ।

विराटनगरकै सर्मिला तामाङ दुर्गा चोकमा चिया पसल गर्छिन् । उनले दैनिक कमाएको केही रकम सहकारीमा बचत गर्छिन् । उनलाई पनि आफ्नो दुःखको कमाई के हुने हो भन्ने चिन्ता छ । उनलाई आफुले बचत गर्दै आएको सहकारीको सञ्चालकमा को को छन्, कस्ले सहकारी चलाएको हो भन्ने पनि थाहा छैन ।

अहिले पत्रपत्रिका, अनलाईन, टेलिभिजन तथा रेडियोहरुमा सहकारी सदस्यको बचत लिएर भाग्यो, सहकारी डुब्यो भन्ने समाचार देख्दा सुन्दा उनलाई पनि सहकारीमा बचत गर्ने की नगर्ने भन्ने दोधार भएको छ । सहकारीका कर्मचारी आएर हामी त्यस्तो गर्दैनौ भन्दा पनि आफ्नो मनमा शंका उत्पन्न हुने गरेको उनले बताईन ।

‘आफूले चिया बेचेर कमाएको पैसा गयो भने त गईहाल्यो नी’, उनले भनिन्, ‘खाई नखाई दुःखले बचत गरेको छ, हामी दुःख गरेर खाने मान्छेलाई संस्थाको सबै कुरा पनि थाहा हुँदैन, उनीहरुले पनि भन्दैनन् ।’ सँधै जान हाम्रो नी फुर्सद हुँदैन । 

विराटनगर–३ की सविता थापा किराना पसल गर्छिन् । सहकारी संस्थाप्रति सचेत उनी पछिल्लो समयमा आएका घटनाले चिन्तित छिन् । ‘काठमाडौंमा मात्र हैन मोरङका सहकारीहरुले पनि सदस्यको बचतको पैसा लिएर भागेका छन’, उनले भनिन्, ‘आफु सचेत हुँदा हुँदै संस्थाको नियत के छ भन्ने कुरा बुझ्न गाह्रो हुने रैछ ।’ पहिला आफुले तीन वटा सहकारीमा बचत गर्ने गरेको बताउँदै उनले अहिले एक वटा सहकारीमा मात्र बचत गर्ने गरेको बताईन । दुःख गरेर कमाएको पैसा त्यसै अरुलाई खान दिन नसकिने उनको भनाई छ ।

एउटाको बचत पनि गर्ने की नगर्ने भन्ने दोधारमा रहेको उनले सुनाईन । जुन उदेश्यले सञ्चालन भएका हुन् त्यो अनुसार नचलेको उनको गुनासो छ । सहकारीहरु सदस्यको जीवन स्तर उकास्ने भन्दा नी सञ्चालकहरु मोटाउने गरेको उनले बताईन । यस्तो हुँदा सहकारीप्रति धेरैको नकारात्मक धारणा व्यक्त हुने गरेको उनको भनाई छ । 

पछिल्लो समय  सहकारीमा देखिएका समस्याका समाचारहरु धेरै आईरहेका छन् । जसले गर्दा सहकारीमा बचत गर्ने बचकर्ताहरु त्रासमा देखिन्छन् । बचतकर्तामा विश्वासको कमीले गर्दा सहकारीबाट बचत झिक्नेको संख्या बढिरहेको छ । जसको कारण सहकारीमा तरलता अभावको समस्या पनि बढिरहेको छ ।



Leave a comment