काठमाडौं । सहकारी केन्द्रीय संघ तथा महासंघको नेतृत्व प्रारम्भिक संस्थाका समस्यामा संवेदनशिल नभएको भन्दै संचालकहरु नै आन्दोलनमा उत्रिएका छन् । काठमाडौं जिल्लामा संचालित सहकारीकर्मीहरुको भेलाले सहकारी क्षेत्रमा देखिएका समस्या समाधानका लागि पहल गर्न संघहरुलांई दबाब दिने योजना बनाएका छन् ।
संघहरुलाई दवाव दिने निर्णय गर्ने भेलामा पनि अधिकांश संघका संचालकहरु नै उपस्थित रहेका थिए । विरोधस्वरुप कालो ब्यानर राखेर कार्यक्रम गर्दा मञ्चमा बसेका अधिकांश सहकारीकर्मी कुनै न कुनै संघको संचालक नै थिए ।
भेलाले विद्यमान सहकारी समस्या सामुहिक समस्या हो वा होईन भन्ने संघहरुको आधिकारक धारणा माग गर्ने निर्णय गरेको छ । त्यस्तै सहकारीमा सदस्यहरुको निक्षेप सुरक्षित रहनेमा आश्वस्त पार्न केन्द्रीय संघ, सहकारी बैंक र महासंघको सामुहिक प्रतिवद्धता जारी गर्न अनुरोध गर्ने निर्णय गरिएको छ ।
यसैगरी सहकारीमा देखिएको तरलता संकटको सुरुवाती जिम्मेवार सन्दर्भ व्याजदर भएकाले तत्काल सन्दर्भ ब्याजदरको अवज्ञा गर्दै खारेजीको पहल संघहरुले गर्नुपर्ने, ऋण असुलीमा देखिएका कानुनी जटिलता हटाउँदै संस्थाको कालोसूचिको व्यवस्था गर्न माग गरिएको छ ।
राज्यको तर्फबाट सहकारीमा देखिएको तरलता समस्या समाधान गर्न सदस्यहरुलाई आश्वस्त गर्ने विषयको विज्ञप्ती जारी गर्नको लागि संघहरुले पहल गर्नुपर्ने, तरलता संकटको अर्थपूर्ण समाधानका उपायहरु खोज्ने र अभियानबाट समाधान हुन नसक्ने भएमा सरकारसँग सहुलियत पूर्ण कोष सहितको व्यवस्थाका लागि संघहरुले पहल गर्नुपर्ने माग गरिएको छ ।
भेलाले मागहरु सम्बोधन नभए संघहरुको कार्यालय घेराउ गर्ने, तालाबन्दी लगायत विरोधका कार्यक्रमहरु गरी आन्दोलन सुरुवात गर्ने निर्णय पनि गरेको छ । तर, आन्दोलनको मिति भने सार्वजनिक गरिएको छैन ।
Leave a comment