काठमाडौं । मार्गदर्शन, विज्ञप्ती, अपीलमार्फत प्रारम्भिक संस्थाहरुलाई सल्लाह र सुझाव मात्र दिएर जिम्मेवारीबाट पछिन्दै आएका सहकारी संघहरु आफै समस्यामा पर्न थालेपछि भने मौन देखिएका छन् । वित्तीय क्षेत्र हुँदै सहकारीमा देखिएको तरलता अभावको समस्याले संघको कारोबार समेत प्रभावित हुन थालेपछि उनीहरु सहकारीका अन्य समस्याहरुमा समेत मौन बस्न थालेका हुन् ।
सहकारीबाट निक्षेप संकलन गर्ने तथा थोकमा कर्जा उपलब्ध गराउने राष्ट्रिय सहकारी बैंकसहित नेफ्स्कून, नेपाल बहुउद्देश्यीय सहकारी केन्द्रीय संघका साथै जिल्ला संघ र जिल्लास्तरिय विषयगत संघहरुमै तरलताको अभाव छ । जसको कारण उनीहरुले नयाँ कर्जा लगानी बन्द गर्नुका साथै निक्षेप रकम समेत फिर्ता गर्न समेत ग्राहो परिरहेको छ ।
चालु आर्थिक वर्षको सुरुमा छाता संघहरुबीच अपिल जारी गरेर प्रारम्भिक संस्थाहरुलाई सल्लाह सुझाव दिने प्रतिस्पर्धामा देखिएको थियो । एकपछि अर्को गर्दै संघहरुले जारी गरेको अपील तथा विज्ञप्तीले न प्रारम्भिक संस्थाको समस्या समाधान भयो न त संघहरु नै बजवुत भए । सहकारी क्षेत्रको समस्या गहिरिदै गएपछि संघहरु आफ्नै कारोबार सम्हाल्न मात्र केन्द्रीत हुन थालेका छन् ।
‘संघहरुलाई आफ्नै कारोबार सम्हाल्न ग्राहो छ’ एक सहकारीका कर्मचारीले भने, ‘यो अवस्थामा संस्थाहरुले यसो गर भनेर सिकाउने नैतिकता समेत छैन ।’ संघहरुलाई तरलता कायम गर्ने उपाय सिकाएका संघहरु आफैले तरलता व्यवस्थापन भद्रगोल बनाएका छन् ।
सहकारी संघहरुको उपल्लो निकाय राष्ट्रिय सहकारी महासंघमार्फत नै अपिल जारी भएपछि पनि केन्द्रीय र जिल्लास्तरिय संघहरुले पनि छुट्टाछुट्टै तथा संयुक्त अपिल जारी गरेका छन् । सहकारीमा समस्या बढ्दै गएपछि महासंघले साउन १७ गते ९ बुँदे अपिल जारी गर्दै प्रारम्भिक संस्थाहरुलाई सल्लाह सुझाव दिएको थियो । त्यसपछि साउन २० गते महासंघकै सदस्य रहेको नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्सकून), साउन २० गते जिल्ला सहकारी संघ काठमाडौ, साउन २२ गते महासंघमार्फत १५ वटा संघहरुको नाममा १५ बुँदे संयुक्त अपील, २४ गते जिल्ला बहुउद्देश्यीय संघ काठमाडौंले अर्को अपील जारी गरेको थियो ।
पूर्व रजिष्ट्रार तथा सचिव केदार न्यौपाने सहकारीका संघ तथा यसको नेतृत्वसँग सहकारी अभियानलाई अघि बढाउने क्षमता र भिजन नभएको बताउछन् । ‘अधिकांश केन्द्रीय संघहरु आफै सुशासनमा बस्न सकेका छैनन’ उनले भने, ‘यो अवस्थामा संघहरुले प्रारम्भिक संस्थालाई सहयोग गर्छन् भनेर विश्वास गर्न सकिदैँन ।’
Leave a comment