काठमाडौं । कोभिड–१९ को महामारी, रुस तथा युक्रेनको द्धन्द्धको कारण विश्वव्यापी रुपमा देखिएको आर्थिक मन्दीले बैंक तथा वित्तीय संस्था हँदै सहकारी क्षेत्रमा तरलता अभावको समस्या गहिरिदै गएको छ । आर्थिक गतिविधिमा देखिएको मन्दीका कारण नियमित बचत संकलनका साथै ऋणको सावा र ब्याजको किस्ता असुली प्रभावित भएपछि कतिपय सहकारीहरु सदस्यको माग अनुसार बचत समेत फिर्ता गर्न नसक्ने अवस्थामा पुगेका छन् ।
सहकारीमा समस्या विकराल बन्दै गएपनि समस्या समाधानका लागि भने सरकारी निकाय र सहकारी संस्थाका अभिभावक निकायले वेवास्ता गरिरहेका छन् । तरलता अभावका कारण बैंक तथा वित्तीय संस्थाले ब्याजदर बढाएपछि सहकारीका संचालकहरुले पनि सन्दर्भ ब्याजदर बढाउन सुझाव दिएपनि भूमि व्यवस्था सहकारी तथा गरिवी निवारण मन्त्री शशी श्रेष्ठको कारण सन्दर्भ ब्याजदर निर्धारण समितिको बैठक समेत बसेको छैन ।
गत असोजमा बैंकहरुले निक्षेपको ब्याज बढाएपछि सहकारीले सन्दर्भ ब्याजदर पुनरावलोकनको माग गरेका थिए । बैंकले बढाएको ब्याज समेत घटाउने भन्दै सहकारीका संचालकलाई थामथुम पारेपनि अहिलेसम्म न बैंकहरुको ब्याज घटेको छ न सहकारीको सन्दर्भ ब्याजदर पुनरावलोकन नै ।
हाल सहकारी संस्थाहरुले ऋण लगानी गर्दा १६ प्रतिशत भन्दा बढि ब्याज लिन नपाउने गरी सन्दर्भ ब्याजदर तोकिएको छ । ऋणको ब्याजदर बढाउन नपाएका कारण संस्थाहरुले बचतको ब्याजदर पनि बढाएर बैंकसँग प्रतिस्पर्धा गर्न नसकिएको सहकारीका संचालक बताउछन् ।
ब्याजदरका कारण पछिल्लो समय सहकारी संस्थाहरुबाट निक्षेप बैंकमा गएपनि ब्याजदर पुनरावलोकन गर्न तथा बचतकर्तालाई विश्वस्त बनाउनका लागि सरकारले र सहकारी अभियानले भूमिका नखेलेको भन्दै प्रारम्भिक सहकारीका संचालकहरुले आन्दोलनको तयारी गरेका छन् । काठमाडौंका सहकारीहरुले स्वस्फूर्त रुपमा सहकारी नेता र सरकार विरुद्ध चरणबद्ध आन्दोलनका घोषणाको घोषणाको तयारी गरेका छन् । यसका लागि बुधबार बेलुकी अनौपचारिक छलफल कार्यक्रम आयोजना गरिएको स्रोतले जनाएको छ । छलफलपछि महासंघ, विभाग घेराउलगायतका चरणवद्ध आन्दोलन घोषणा गर्ने तयारी छ ।
राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कडेँल सहकारी मन्त्रीलाई समस्याबारे पटक पटक जानकारी गराएपनि संवेदनशिल नभएको बताउछन् । ‘हामीले फोनमा तथा प्रत्यक्ष भेटमा पटक–पटक समस्याको जानकारी गराएका छौं’ उनले भने, ‘तर मन्त्रीज्यू सहकारीको समस्याबारे कुरा सुन्नै चाहानुहुन्न ।’
सोमबारमात्र ललितपुर जिल्लाका सहकारी नेताहरुले संघिय रजिष्ट्रारलाई ज्ञापनपत्र बुझाउदै सहकारी क्षेत्रमा विश्वासको वातावरण बनाउन आग्रह गरेका थिए । उनीहरुले सहकारी अभियानको छाता संगठन राष्ट्रिय सहकारी महासंघलाई पनि ज्ञापनपत्र बुझाएका छन । सहकारीको समस्यामा नियामक निकायसँगै सहकारी अभियान समेत संवेदनशिल नभएको कतिपय सहकारी संचालकको गुनासो छ ।
Leave a comment