काठमाडौं । सहकारी अभियानका नेताहरुले तरलता संकटका कारण कारोबार नै बन्द गर्नुपर्ने अवस्था आएको भन्दै विषेश सम्बोधन गर्न संघिय सहकारी विभागका रजिष्ट्रारको ध्यानाकर्षण गराएका छन् । ललितपुर जिल्लाका सहकारी संघसंस्थाको समस्या समाधानका लागि गठित सहजिकरण संयन्त्रको तर्फबाट ज्ञापनपत्र बुझाउदै उनीहरुल तरलता अवस्था सहज बनाउनका लागि सहयोग गर्न आग्रह गरेका हुन् ।
ज्ञापनपत्रमा ब्याजदरका कारण सहकारीबाट निक्षेप बैंकमा रकमान्तर भइरहेको उल्लेख गर्दै तत्काल सन्दर्भ ब्याजदर पुनरावलोन गर्न आग्रह गरिएको छ । सन्दर्भ ब्याजदर पुनरावलोकन नभए यसको अवज्ञा गर्ने चेतावनी समेत दिइएको छ ।
यसैगरी सहकारी संघसंस्थाको भाका नाघेको कर्जा असुली गर्नका लागि विशेष संयन्त्र गठन गर्न र सहकारी क्षेत्रमा सकारात्मक सन्देश जानेगरी विभाग र सरकारको तर्फबाट विज्ञप्ती जारी गर्न पनि आग्रह गरिएको छ।
ज्ञापनपत्रमा जिल्ला सहकारी संघ ललितपुरका अध्यक्ष केदार गोर्खाली, ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष रामहरि बजगाई र ललितपुर जिल्ला बहुउद्देश्यीय सहकारी संघका अध्यक्ष शरद कुमार महर्जनले हस्ताक्षर गरेका छन् ।
सहकारीले अर्थतन्त्रको खम्बाको रुपमा आर्थिक विकास, महिला शसक्तिकण, रोजगारी सिर्जना, स्थानीय श्रम तथा सीपको प्रवद्र्धन र गरिवी निवारणमा महत्वपूर्ण भूमिका निर्वाह गरेपनि यसको विकास प्रवद्र्धनका लागि राज्यले भूमिका निर्वाह नगरेको आरोप लगाइएको छ ।
कोभिड–१९ महामारी र रुस तथा युक्रेन युद्धका कारण विश्वव्यापी रुपमा देखिएको आर्थिक मन्दीका कारण नेपालका बैंक तथा वित्तीय संस्थाहरुले तरलता अभावको समस्या भोगिरहेका छन् । तरलता अभावको समस्या गहिरिदै जाँदा कतिपय सहकारी संस्थाहरुले सदस्यको बचत समेत फिर्ता गर्न सकेका छैनन् । जसको कारण सहकारी क्षेत्रको साखः गिर्दै गएको छ ।
Leave a comment