जसपा नेपालको घोषणापत्र : सहकारीको बेथिति रोक्न प्रभावकारी अनुगमन र दण्ड

जसपा नेपालको घोषणापत्र : सहकारीको बेथिति रोक्न प्रभावकारी अनुगमन र दण्ड :: Sahakari Akhabar

काठमाडौं ।  जनता समाजवादी पार्टी नेपालले सहकारी क्षेत्रमा देखिएको बेथिती र वित्तीय अपराध रोक्नका लागि प्रभावकारी अनुगमन र दण्डको व्यवस्था गर्ने घोषणा गरेको छ । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि पार्टीको घोषणपत्र सार्वजनिक गर्दै पार्टीले सहकारीको अनुगमनमा जोड दिएको हो । 

घोषणापत्रमा अर्थतन्त्रको संचालन र विकासमा निजी क्षेत्र, राज्य क्षेत्र, सहकारी क्षेत्र र सामुदायिक क्षेत्रको भूमिकाको गतिशील सन्तुलन कायम गरिने उल्लेख गरिएको छ । कृषिसम्बन्धी सम्पूर्ण सेवाहरू आपूर्ति गर्ने कार्यमा सहकारी संस्थाहरूलाई प्राथमिकता दिने, दुई वा दुईभन्दा बढी किसानहरूको संलग्नतामा चक्लावन्दी गरी सहकारी खेती गर्ने किसानहरूलाई राज्यले प्रोत्साहित गर्ने र ऊर्जा विकासका लागि सार्वजनिक, सहकारी र नीजि क्षेत्रको सहकार्यलाई प्रोत्साहित गर्ने उल्लेख गरिएको छ । 

यस्तै ग्रामीण क्षेत्रमा उपभोक्ता, बचत तथा ऋण, उत्पादन आदि उद्देश्यले सहकारी संस्था खोलेर जनतालाई ग्रामीण स्वरोजगार कार्यक्रममा आबद्ध गर्ने, श्रमजीवि जनताको उत्थान, गरिबी निवारण, रोजगारीको सिर्जनाका निम्ति सहकारीलाई प्रभावकारी माध्यमको रूपमा अगाडि बढाउने, उत्पादन वृद्धि र उत्पादनका साधन माथिको समाजिकीकरणका लागि सहकारी अभियानलाई महत्त्वपूर्ण माध्यमको रूपमा विकसित गर्ने उल्लेख गरिएको छ ।

यसैगरी सहकारीको प्रकृति हेरी नमूना काम गर्ने सहकारीलाई पुरस्कारको व्यवस्था गर्ने तथा समाज कल्याणको काममा लागेका सहकारीहरूलाई आवश्यक कर छूट दिने पनि जसपाले घोषणा गरेको छ । 


 



Leave a comment