काठमाडौं । बैंक तथा वित्तीय संस्थाको ब्याजदर, सेवा शुल्कलगायतको विरोध गर्दै राजधानीमै उद्योगी तथा व्यायापारीहरु सडकमा उत्रिएका छन् । शुक्रबार काठमाडौं, ललितपुर तथा भक्तपुरका व्यवसायीहरुले माइतीघर मण्डलामा भेला प्रदर्शन गरेका हुन् ।
व्यवसायीहरुले बैंक आतंक बन्द गर, मनपरी प्रिमियर बन्द गर, उच्च ब्याजदर खारेज गर, तरलता समस्या समाधान गर जस्ता बैंक तथा वित्तीय संस्था र नेपाल राष्ट्र बैंकको विरोधमा नारा लगाएका थिए ।
यसअघि पूर्वका विभिन्न जिल्लाहरुमा बैंकको ब्याजदर विरुद्ध आन्दोलन भएपनि काठमाडौंमा भने पहिलोपटक प्रदर्शन भएको हो । काठमाडौं उद्योग वाणिज्य संघको आग्रहमा व्यवसायीले प्रदर्शन गरेका हुन् ।
नेपाल राष्ट्र बैंकको नीति र बैंक तथा वित्तिय संस्थाका काण बैंकको ब्याज सेवा शुल्क, ब्याज उद्योगी व्यवसायीले थेग्नै नसक्ने अवस्थामा पुगेपछि शान्तिपूर्ण विरोध गरिएको संघका अध्यक्ष दिनेश श्रेष्ठले बताए । उद्योग व्यवसाय धरासायी भएपनि बैंकहरुले मात्र नाफा कमाउने नीति लिएको भन्दै यसको खारेजीको माग गरे । यसैगरी बैंकहरुले कालो सूची तथा लिलामीको धम्की दिदा व्यवसायीहरु त्रसित भएको श्रेष्ठले बताए ।
तरलता अभावको कारण देखाउदै निक्षेप संकलन गर्न बैंकहरुले ब्याज बढाएपछि कर्जा महंगो हुदै गएको छ । यसैगरी नेपाल राष्ट्र बैंकले पनि कसिलो मौद्रिक नीति लिएपछि बैंकको ब्याजदर बढ्दै गएको छ ।
Leave a comment