काठमाडौं । वित्तीय क्षेत्रमा तरलता अभावको समस्या गहिरिदै गएपछि प्रारम्भिक संस्थाहरुसँगै सहकारीका केन्द्रीय छाता संघहरुमा पनि दवाव बढ्दै गएको छ । सहकारीबाट निक्षेप बैंकमा जान थालेपछि सहकारी संस्थाहरुसँग थोकमा बचत तथा ऋणको कारोबार गर्ने केन्द्रीय सहकारी संघ तथा सहकारी बैंकमा पनि तरलताको अभाव बढ्दै गएको हो ।
तरलता व्यवस्थापनका लागि संघहरुले ऋण असुलीमा जोड दिन थालेका छन् । संघहरुको बचत संकलनसँगै ऋण लगानी पनि घटेको पाइएको छ ।
सहकारी क्षेत्रको एक मात्र बैंक राष्ट्रिय सहकारी बैंकको मात्र तीन महिनाको अवधिमा ५ अर्व रुपैयाँ निक्षेप घटेको छ । बैंकले प्रकाशित गरेको मासिक वित्तीय विवरण अनुसार साउनमसान्तसम्ममा सहकारी बैंकसँग ५४ अर्व ५७ करोड निक्षेप रहेकोमा असोज मसान्तमा ४० अर्व ३५ करोड रुपैयाँमा झरेको छ ।
बचत संकलन घटेपछि बैंकले तरलता व्यवस्थापनका लागि ऋण लगानी पनि घटाएको छ । साउन समान्तसम्मा बैंकको कुल ऋण लगानी ३६ अर्व ७ करोड रुपैयाँ रहेकोमा असोज मसान्तसम्ममा ३५ अर्व ५७ करोड रुपैयाँमा झरेको छ । बैंकको तरलता प्रतिशत पनि साउनमा २१.८२ प्रतिशत रहेकोमा असोजमा १५.२६ प्रतिशतमा झरेको छ ।
यसैगरी बचत तथा ऋण सहकारीहरुको केन्द्रीय निकाय नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) को पनि साउन मसान्तमा बचत संकलन १७ अर्व १७ करोड रुपैयाँबाट असोज मसान्तमा १५ अर्व ६९ करोडमा झरेको छ ।
बचत संकलन घटेपछि संघले ऋण लगानी बन्द गरी असुलीमा जोड दिएको छ । जसको कारण संघको ऋण लगानी साउनमा १५ अर्व ४४ करोड रहेकोमा असोजमा १५ अर्व ३७ करोडमा सिमित भएको छ । संघले भदौमा ऋण लगानी बढाएर १५ अर्व ७६ करोड पु¥याएकोमा तरलता टाइट भएपछि असोजमा लगानी घटाएको हो ।
नेफ्सकूनको साउनमा तरलता २२.५७ प्रतिशत रहेकोमा भदौमा १७.९७ प्रतिशतमा घटेको थियो । असोजमा ऋण घटाएपछि तरलताको अवस्था पनि सुधार भई १८.१६ प्रतिशत कायम रहेको संघले जनाएको छ ।
Leave a comment