काठमाडौं । सामान्यतया वित्तीय क्षेत्रमा बैंकहरुको भन्दा सहकारीमा निक्षेप तथा कर्जाको ब्याजदर महंगो भएको छ । सहकारीले बैंक तथा वित्तीय संस्थाको भन्दा बढि ब्याज दिएर निक्षेप संकलन गर्छन् भने लगानी पनि बैंकको भन्दा बढिमा गर्छन् ।
तर, अहिले बजारमा देखिएको तरलता अभावसँगै बैंक तथा वित्तीय संस्थाको ब्याजदर बृद्धि भएपनि सहकारीको सन्दर्भ ब्याजदर भने पुनरावलोकन नहुँदा अवस्था ठिक उल्टो भएको छ । अहिले सहकारीको तुलनामा बैंक तथा वित्तीय संस्थाको कर्जाको ब्याजदर महंगो भएको छ ।
बैंकहरुले निक्षेपको ब्याजदरमा बृद्धि गरेसँगै पुँजीको लागत उच्च हुन गई कर्जा महंगो भएको छ । बैंकहरुको असोज मसान्तमा आधारदर बृद्धि भएसँगै कर्जाको ब्याजदर १८ प्रतिशतभन्दा माथी पुगेको छ ।
बाणिज्य बैंकहरुले प्रकाशित गरेको कर्जाको नयाँ ब्याजदरअनुसार कात्तिकमा बढेर १८.२८ प्रतिशतसम्म पुगेको छ । बैंकहरुको औशत आधारदर नै १० प्रतिशत पुगेको छ । यसमा बैंकहरुले ७ प्रतिशतसम्म प्रिमियम थप गरेर कर्जाको ब्याजदर निर्धारण गर्ने गर्छन् ।
बैंकहरुले प्रकाशित गरेको ब्याजदर अनुसार सबैभन्दा बढी आधारदर सिभिल बैंकको ११.१५ प्रतिशत रहेको छ । बैंकबाट कर्जा लिँदा आधारदरमा ७ प्रतिशतसम्म प्रिमियम थपिने भएकाले सिभिलको कर्जाको ब्याज १८.१५ प्रतिशत पुग्नेछ ।
बैंकको ब्याजदर बढेपनि सहकारीको भने सन्दर्भ ब्याजदर पुनरावलोकन हुन सकेको छैन । जसको कारण अहिले पनि सहकारीहरुले कर्जामा १६ प्रतिशत भन्दा बढि ब्याज लिन पाउदैनन् । असोजमा बैंकहरुले ब्याज बढाएपछि सहकारीका संचालकहरुले पनि सन्दर्भ ब्याजदर पुनरावलोकन गर्न दवाव दिएपनि सहकारी विभागले आलटाल गर्दै आएको छ ।
यद्यपी विभागले निर्धारण गरेको सन्दर्भ ब्याजदर भने प्रभावकारी रुपमा कार्यान्वयन हुन सकेको छैन् । सहरी क्षेत्रमा सहकारीहरुले सन्दर्भ ब्याजदरभन्दा बढि ब्याज लिने, सेवा शुल्कलगायत नाममा रकम लिने गरेका सहकारीका सदस्यहरु गुनासो गर्छन् ।
यसैगरी बैंकहरुको निक्षेपको ब्याजदर पनि सहकारीले भन्दा बढि पु¥याएका छन् । बैंकहरुले असोजदेखि व्यक्तिगत निक्षेपको ब्याजदर १२.१३ प्रतिशत, संस्थागत मुद्दती निक्षेपको १०.१३ र रेमिट्यान्स मुद्दति निक्षेपमा १३.१३ प्रतिशत ब्याजदर कायम गरेका थिए ।
Leave a comment