काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) का महासचिव दामोदर अधिकारीले सहकारीहरु शसक्त भएमा गाउँबाट बैंक तथा वित्तीय संस्थाहरुलाई विस्थापित गर्न सकिने उद्घोष गरेका छन ।
आफै अध्यक्ष रहेको बर्दियाको ठाकुरबाबा नगरपालिका भुरिगाउँस्थित सिको बचत तथा ऋण सहकारीको बार्षिक साधारणसभा बोल्दै उनले सहकारीहरु एकीकरण गरी ठूला संस्था बनाउने हो भने गाउँमा बैंक आवश्यक नपर्ने बताए । ‘
अब स–साना सहकारीहरुलाई एकीकरण गरी ठुला संस्था बनाउनुपर्छ’ उनले भने, ‘जनतालाई घर दैलोमै सेवा प्रदान गर्ने र बचतका माध्यमबाट खुसी र समृद्ध बनाउने जिम्मा अब सहकारीको भएकाले गाउँबाट बंैकलाइ विस्थापित गर्ने सकिन्छ ।’
सिको साकोसले केहि समयअघि मात्र ५ वटा संस्थाहरु एकीकरण गरेको थियो । बर्दियाका ठाकुरबाबा नगरपालिका, राजापुर नगरपालिका, मधुवन नगरपालिका, बारबर्दिया नगरपालिका तथा गेरुवा गाउँपालिकामा सेवा केन्द्रमार्फत सेवा दिएरहेको संस्थामा हाल १० हजार भन्दा बढि सदस्य रहेका छन् ।
४० करोड भन्दा बढि कारोबार रहेको संस्थाको नेफ्सकूनकै प्रोबेसन ब्राण्ड प्राप्त गरेको छ । यस्तै राष्ट्रिय र प्रदेशबाट उत्कृष्ट सहकारी ब्यवसाय पुरस्कार समेत पाएको छ ।
साधारणसभामा अध्यक्ष अधिकारीले लक्ष्य, भावना र उद्देश्यहरु एकै भएका सहकारीहरु एकीकरण भएपछि गुणस्तर र दिगो विकासमा थप सहयोग भएको बताए ।
एकीकरणपछि संस्थाको वित्तिय सुचकांकहरुमा उल्लेख्य बृद्धि भएको र सहज तथा सरल ढंगबाट सदस्य केन्द्रित सेवा सुविधा प्रदान गर्न सजिलो भएको उनको अनुभव थियो ।
कार्यक्रममा राष्ट्रिय सहकारी बैंकका अध्यक्ष के.वि उप्रेतीले गाउँ गाउँमा छरिएको पुँजी एकीकृत गर्नका लागि सहकारीको भूमिका महत्वपूर्ण रहेको बताए ।
सहकारीको पुँजीका कारण गाउँमा आर्थिक तथा सामाजिक विकास गर्दै गरिवी निवारणमा योगदान पुगेको उनको भनाइ थियो।
कार्यक्रममा बोल्दै ठाकुरबाबा नगरपालिकाका नगरप्रमुख तिलकराम लम्सालले नगरपालिकामा उत्कृष्ट सहकारी संस्थाहरु रहेको भन्दै स्थानियको जीवनस्तर उकास्नमा महत्वपूर्ण भूमिका रहेको बताए । उनले कृषि क्षेत्रलाई सहकारीसँग जोडेर अर्गानिक उत्पादनमा जानुपर्ने आवश्यक्ता औल्याए ।
Leave a comment