धरान । धरानका मेयर हर्कराज साम्पाङ राईले बचत फिर्ता नगर्ने सहकारीलाई कारवाही गर्ने चेतावनी दिएका छन् । धरान उपमहानगरपालिकाले आयोजना गरेको सहकारी अन्तरक्रिया कार्यक्रममा बोल्द उनले भने, ‘बचतकर्ताको रकम फिर्ता नगर्ने धरानका सहकारीमा नगरपालिकाले भोटेताल्चा लगाउछ ।’
धरानका आधा दर्जन भन्दा बढी सहकारीले बचत फिर्ता नदिएको भन्दै नगरपालिकामा गुनासो आएको छ । सहकारी ऐन अनुसार बचतकर्ताको रकम फिर्ता नगर्ने सहकारी सञ्चालकलाई कडा कारबाही गर्ने चेतावनी दिए । उनले नगरमा संचालिक सहकारीको अनुगमन गर्न टिम गठन गर्ने समेत बताए ।
यसअघि बराहा सहकारीका बचतकर्तासँग मलाई सोधेर पैसा राखेको हो र भनेपछि मेयर राई विवादमा तानिएका थिए ।सहकारीका बचतकर्ताहरुले मेयरको कार्यकक्षमा धर्ना दिनुका साथै कार्यलयसमेत तोडफोड गरेका थिए ।
धरानका उपमेयर अइन्द्रविक्रम बेघाले नियम विपरीत सञ्चालनमा आएका सहकारीले बचतकर्ताको रकम अपचलन गरेको बताए । उनले नियम मिचेर केही सहकारीले बदमासी गरेको बताए । त्यसको असर सबै सहकारीलाई परेको उनले बताए ।
जिल्ला बचत तथा ऋण सहकारी संघ सुनसरीका अध्यक्ष शिवराज श्रेष्ठले बचत गरेको रकम सहकारीले फिर्ता गर्न नसकेको गुनासो बताए ।
श्रेष्ठले धरान उपमहानगरपालिकाद्वारा पारित सहकारी ऐन २०७५ को दफा ६१ मा सहकारीको ऋण नतिर्ने ऋणिलाई उपमहानगरपालिकाले सेवासुविधाबाट बञ्चित गर्नुपर्ने बताएका छन् । यसका साथै उनले बचतकर्ताको लगानी सुरक्षित गर्न पनि उनले आग्रह गरे ।
Leave a comment