हाइलाइट

सूर्य साकोस हिनामिना प्रकरण  ः सानालाई दोष देखाएर ठूला कर्मचारी उम्किदै

सूर्य साकोस हिनामिना प्रकरण  ः सानालाई दोष देखाएर ठूला कर्मचारी उम्किदै :: Sahakari Akhabar

चीना थापा, विराटनगर : मोरङको उर्लाबारी नगरपालिका–६ स्थित सुर्य बचत तथा ऋण सहकारी सस्थाको २७ लाख रुपैया हिनामिना प्रकरणमा तल्लो तहका कर्मचारीलाई दोष देखाएर माथिल्लो तहका कर्मचारी र संचालकहरु उम्कन खोजेको सदस्यहरुले आरोप लगाएका छन् ।


रकम हिनामिना गरेको आरोपमा प्रहरीले संस्थाका २ जना कर्मचारीलाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ । संस्थाको उजुरीको आधारमा मोरङको मिक्लाजुङ गाउपालिका क्षेत्रको मधुमल्लामा बचत संकलन गर्ने बजार प्रतिनिधी रोजीत पौडेल र संस्थाकी क्यासियर प्रतिमा चौहानलाई पक्राउ परेका हुन् । उनीहरुलाई २०७८ चैत महिना देखी २०७९ साउनसम्ममा सस्थाको २७ लाख रुपैयाँ हिनामिना गरेको आरोपमा लगाइएको छ । 

तर सहकारीकै शेयर सदस्यहरुले भने तल्लो दर्जाका कर्मचारी दोष देखाएर ठूला कर्मचारीलाई र संचालकहरुलाई उन्मुक्ती दिन खोजेको आरोप लगाएका छन् । उनीहरुले उपल्लो दर्जाका कर्मचारी र संचालक समितीका पदाधिकारीको संलग्नताबिना साना कर्मचारीले ठूलो रकम हिनामिना गर्न नसक्ने भन्दै संस्थाका व्यवस्थापक तिला दाहाल र सस्थाको कार्यकारी प्रमुख मदन बराललाई पनि छानविनको दायरामा ल्याउन माग गरेका छन् । 

सहकारीका शेयर हेमन्त भट्टराईले सहकारीमा संचालक समितिका केही पदाधिकारी र उपल्लो दर्जाका कर्मचारीको साठगाँठमा रकम हिनामिना गरेर दोष जति तल्लो तहका कर्मचारीमा थुपारेर पानीमाथीको ओभानो हुन खोजेको बताए । ‘सहकारीले तीन दिन अगाडि बार्षिक साधारण सभा पनि गरिसकेको छ’, उनले भने, ‘हामीले साधारण सभामा कुरा उठायौं, तर हाम्रो कुरा सञ्चालक समितिले सुनेन्, मनोमानी रुपमा अगाडि बढ्यो ।’

शेयर सदस्यले उठाएको माग सुनुवाई नहुनुपर्ने कारण के त ? अन्य कर्मचारीलाई पनि नियन्त्रणमा लिएर अनुसन्धान गर्न किन गाह्रो ? शेयर सदस्यले उठाएका माग सम्बोधन गर्न नेतृत्व डराउनु भनेको त्यहाँ उहाँहरुको पनि संलग्नता रहेको सहकारीकी पुर्व कर्मचारी समेत रहेकी तारा घिमिरेले बताईन । संस्थाका पदाधिकारी र उपल्लो दर्जाका कर्मचारीको राम्रै मिलेमतोमा रकम हिनामिना गरी उनीहरुमा माथी मात्रै दोष लगाएर पन्छिन खोजेको उनको आरोप छ ।

सहकारीले क्यासिर र बजार प्रतिनिधीको मिलेमतोमा ५ महिनादेखी बचतकर्ताको बचत फिर्ता र बचतकर्ताको पासबुक र चेकमा किर्ते गरी रकम हिनामिना गरेको आरोप लगाएको छ । तर, बजार प्रतिनिधी पौडेलका बुबा हेमप्रसाद पौडेलले छोरा सोझो भएका कारण सवै दोष थुपारेर मोटो रकम हिनामिना गर्ने सञ्चालक समिति र माथिल्लो तहका कर्मचारीलाई उन्मुक्ति दिन अध्यक्ष आफै लागि परेको बताए ।

यता सहकारीका अध्यक्ष तेजनाथ घिमिरेले भने रकम हिनामिनामा संचालक समितीको कुनै हात नरहेको बताउदै कर्मचारीका कारण सस्था ठगिएको र सवै वचतकर्ताको रकम फिर्ता गर्न आफु प्रतिवद्ध रहेको बताए । सहकारीको रकम हिनामिनामा प्रत्यक्ष सग्लनता देखिएको कर्मचारीबारे प्रहरीले अनुसन्धान गरिरहेको उनले बताए । 
 



Leave a comment