तनहुँ । शुक्लागण्डकी नगरपालिकाका प्रमुख कृष्णराज पण्डितले विपन्न वर्गका जनतालाई उद्यमशिलतामार्फत मध्यम वर्गका रुपान्तरण गर्ने काममा सहकारीहरुको भूमिका प्रभावकारी बन्दै गएको बताएका छन् । राष्ट्रिय सहकारी बैंक दमौली शाखाले शुक्रवार शुक्लागण्डकी नगरपालिकाकोदुलेगौडामा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै नगर प्रमुख पण्डितले यस्तो बताएका हुन् ।
प्रमुख पण्डितले दुर्गमदेखि सुगम क्षेत्रमा बस्ने आफ्ना सदस्यहरुलाई आयआर्जन गर्न, उद्यमशिलताको विकास गर्न तथा उनीहरुलाई करयोग्य नागरिक निर्माण गर्न सहकारीहरुको महत्वपूर्ण भएको रहेको चर्चा गर्दै सहकारीहरुको प्रवद्र्धनका लागि राज्यले नीति निर्माणमा ध्यान दिनु पर्नेमा जोड दिए । ‘संविधानको भावना अनुसार मुलुकलाई समाजवाद उन्मुख अर्थतन्त्रतर्फ अग्रसर गराउनका लागि एउटा महत्वपूर्ण आधार सहकारी नै हो’ उनले भने, ‘यसको प्रवद्र्धनका लागि राज्यले ऐन कानुनमा सहजता ल्याउन जरुरी छ ।’
शुक्लागण्डकी नगरपालिकाको आगामी योजनामा सहकारीको प्रवद्र्धनमा योगदान गर्ने तरिकाले कार्यक्रमहरु अगाडि बढाउने प्रतिवद्धता समेत उनले व्यक्त गरे ।
बैंकका अध्यक्ष केबी उप्रेतीको अध्यक्षता, बैंकको दमौली शाखा समन्वय उपसमितिका संयोजक तथा केन्द्रीय दुग्ध उत्पादक सहकारी संघका वरिष्ठ उपाध्यक्ष अमर बहादुर कुँवरको स्वागत र दमौली शाखाका प्रमुख उपेन्द्र दाहालको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको छ ।
Leave a comment