सुदूरपश्चिम प्रदेशको बजेटमा सहकारी

सुदूरपश्चिम प्रदेशको बजेटमा सहकारी :: Sahakari Akhabar

काठमाडौं । सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३ / ८४ कोलागि ३७ अर्ब ७० करोड रुपैयाँ बराबर बजेट प्रस्तुत गरेको छ । आर्थिक मामिलामन्त्री विक्रमसिंह धामीले सोमबार प्रदेश सभामा आउँदो आर्थिक वर्षको आय–व्ययको अनुमानित विवरण प्रस्तुत गरेका थिए । सत्ता साझेदार दलहरूबिच कुरा नमिल्दा हिजो दिनभर अन्योलमा परेको बजेट सहमति जुटेपछि मध्यराति मात्रै संसद्मा पेस गरिएको थियो ।

सहकारी क्षेत्रलाई उत्पादन, रोजगार र समावेशी आर्थिक विकासको महत्त्वपूर्ण आधारस्तम्भका रूपमा स्थापित गर्न यसको संस्थागत क्षमता अभिवृद्धि, सुशासन प्रवर्धन तथा प्रभावकारी नियमनका लागि ३ करोड ५० लाख बजेट विनियोजन गरेको र यसबाट सहकारी क्षेत्रमा पारदर्शिता, उत्तरदायित्व र साझेदारीको संस्कृति थप सुदृढ भई आर्थिक समृद्धिमा टेवा पुग्ने बजेटमा उल्लेख छ।

बजेटमा मन्त्री धामीले सहकारी संस्थाको सबलीकरण, सुदृढीकरण र प्रभावकारी नियमन गदै सहकारी खेतीलाई प्रोत्साहन गरिने, सहकारी संस्थाहरूमा सुशासन प्रवर्धन कार्यलाई थप प्रभावकारी बनाइने बताएका छन् । कृषि मस्य पशुपंक्षि क्षेत्रको उत्पादन र उत्पादकत्व वृद्धि गरी उत्पादित वस्तुको मूल्य अभिवृद्धि तथा व्यवसायीकरणलाई प्रवर्धन गर्नुका साथै ती वस्तुहरूलाई स्थानीय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारसँग प्रभावकारी रूपमा आबद्ध गरी रोजगारका थप अवसर सिर्जना गर्ने उद्देश्यले सञ्चालनमा रहेको, एक स्थानीय तह, दुई उत्पादन कार्यक्रमलाई थप प्रोत्साहन तथा परिष्कृत गर्दै निरन्तरता दिएको जनाए । उक्त कार्यक्रम कार्यान्वयनका लागि ५५ करोड ४४ लाख विनियोजन गरेको बजेटमा उल्लेख छ ।

त्यसैगरी प्रदेशको गौरव र पहिचानसँग जोडिएका रैथाने तथा भौगोलिक पहिचान प्राप्त विशिष्ट उत्पादनहरूको पहिचान, संरक्षण र संवद्र्धन र ‘ब्रान्डिङलाई उच्च प्राथमिकता दिइएको साथै मौलिक वस्तुहरूको पहिचानलाई सुदृढ गर्दै तिनको मूल्य अभिवृद्धि र बजारीकरण मार्फत किसान तथा उद्यमीहरूको आम्दानी वृद्धि गरिने लक्ष्य लिएको जनाए ।

मानव, वन्यजन्तु द्वन्द्वको व्यवस्थापन तथा कृषकको आर्थिक समृद्धिलाई सँगसँगै अगाडि बढाउने उद्देश्यले जोखिम प्रभावित क्षेत्र, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको सहकार्यमा बोधिचित्त, मरिङ्गा, फलफूल, अदुवा, बेसार, खुर्सानी, टिमुर लगायत बहुमूल्य वन पैदावार तथा नगदे बालीको उत्पादन र विस्तार कार्यक्रम सञ्चालन गर्न २ करोड ९० लाख विनियोजन गरेको बजेटमा उल्लेख छ ।

त्यसैगरी कृषिको व्यवसायीकरण, यान्त्रिकीकरण, विविधीकरण तथा आधुनिकीकरणको माध्यमबाट कृषि पेसालाई मर्यादित, आकर्षक र सम्मानित बनाउँदै कृषि क्षेत्रको समग्र रूपान्तरण गर्ने लक्ष्यका साथ यस क्षेत्रमा उत्कृष्ट कार्यसम्पादन गर्ने कृषकहरूलाई प्रोत्साहन तथा सम्मान प्रदान गर्न, भीमदत्त पन्त उत्कृष्ट कृषि पुरस्कार कार्यक्रमलाई निरन्तरता दिएको मन्त्री धामीले जनाए ।

कृषि उत्पादन तथा उत्पादकत्व वृद्धि गर्न थप १,५०० हेक्टर खेतीयोग्य जमिनमा भरपर्दो सिँचाइ सुविधा विस्तार गर्न साना सिँचाइ आयोजनाको निर्माण तथा मर्मत सम्भार कार्यक्रमलाई निरन्तरता दिई भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय र भौतिक पूर्वाधार विकास मन्त्रालयको सहकार्यमा एकीकृत कृषि तथा सिँचाइ विकास आयोजना सञ्चालन गर्न १ करोड ३५ लाख विनियोजन गरेको मन्त्री धामीले जनाए ।

त्यसैगरी सुदूरपश्चिम प्रदेश दुग्ध विकास बोर्ड मार्फत दुग्धजन्य उत्पादनको मूल्य शृङ्खला अभिवृद्धि गर्दै दुग्ध क्षेत्रलाई आत्मनिर्भर र प्रतिस्पर्धी बनाउन धुलो दुध कारखाना स्थापना गर्न ५ करोड विनियोजन गरेको जनाए । साथै दिगो र वातावरणमैत्री कृषि प्रणालीको प्रवद्र्धन गर्न प्राङ्गारिक मल कारखाना स्थापना तथा प्राङ्गारिक मलको उपयोगमा अनुदान कार्यक्रम सञ्चालनका लागि २ करोड बजेट विनियोजन गरेको जनाए ।



Leave a comment