हाइलाइट

मधेस प्रदेशमा पनि मनाइयो अन्तर्राष्ट्रिय सहकारी दिवस

मधेस प्रदेशमा पनि मनाइयो अन्तर्राष्ट्रिय सहकारी दिवस :: Sahakari Akhabar

काठमाडौं । जिल्ला सहकारी संघ लिमिटेड, धनुषाको आयोजनामा मधेस प्रदेशको जनकपुरमा पनि १०४औँ अन्तर्राष्ट्रिय सहकारी दिवस मनाइएको छ । संघले विविध कार्यक्रम गरी अन्तर्राष्ट्रिय सहकारी दिवस मनाइएको छ । कार्यक्रममा सहकारी क्षेत्रका अगुवा, जनप्रतिनिधि, सरकारी अधिकारी तथा विभिन्न जिल्लाका सहकारीकर्मीहरूको सहभागिता रहेको थियो ।

संघका अध्यक्ष ध्रुवनारायण यादवको अध्यक्षतामा सम्पन्न कार्यक्रममा मधेश प्रदेश सभाका सभामुख रामआशिष यादव प्रमुख अतिथि रहेका थिए । कार्यक्रममा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, मधेश प्रदेशका सचिव डा. संजयकुमार यादव तथा मधेश प्रदेश सहकारी रजिस्ट्रार कार्यालयका निमित्त रजिस्ट्रार रुपेशकुमार साह विशिष्ट अतिथिका रूपमा उपस्थित रहेका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै सभामुख रामआशिष यादवले सहकारी क्षेत्र आर्थिक समृद्धि, सामाजिक रूपान्तरण र रोजगारी सिर्जनाको महत्वपूर्ण आधार भएको बताए । सहकारीको मूल मर्मअनुसार पारदर्शिता, सुशासन र सदस्यको हितलाई केन्द्रमा राखेर अघि बढ्नुपर्ने उनले बताए ।

सहकारीलाई उत्पादन, उद्यमशीलता र स्थानीय अर्थतन्त्रसँग जोड्न सके प्रदेशको समग्र आर्थिक विकासमा महत्वपूर्ण योगदान पुग्ने उनको भनाइ थियो । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव डा. यादवले सहकारी क्षेत्रलाई थप व्यवस्थित, पारदर्शी र उत्तरदायी बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताए । उनले सहकारी संस्थाहरूले कानुनी व्यवस्था, वित्तीय अनुशासन र सुशासनलाई आत्मसात गर्दै सदस्यको विश्वास कायम राख्नुपर्ने बताए ।

मधेश प्रदेश सहकारी रजिस्ट्रार कार्यालयका निमित्त रजिस्ट्रार साहले सहकारी संस्थाहरूको प्रभावकारी नियमन, क्षमता अभिवृद्धि र प्रविधिमैत्री व्यवस्थापनमा जोड दिनुपर्ने बताए । सहकारी क्षेत्रलाई विश्वासिलो र दिगो बनाउन सबै पक्षबीच समन्वय आवश्यक रहेको उनको भनाइ थियो ।

संघका अध्यक्ष ध्रुवनारायण यादवले सहकारी आन्दोलनले ग्रामीण अर्थतन्त्र सुदृढ बनाउन तथा नागरिकलाई आत्मनिर्भर बनाउन महत्वपूर्ण भूमिका खेल्दैआएको बताए । सहकारी अभियानलाई थप प्रभावकारी बनाउन सबै सहकारी संस्थाहरूबीच सहकार्य र एकताको आवश्यकता रहेको उनको भनाइ छ ।

कार्यक्रममा धनुषा, महोत्तरी, सिराहा लगायत मधेश प्रदेशका विभिन्न जिल्लाबाट आएका सहकारी अभियन्ता, तथा सरोकारवाला निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो । सहभागीहरूले सहकारी क्षेत्रको वर्तमान अवस्था, चुनौती, अवसर तथा आगामी कार्यदिशाबारे विचार आदान–प्रदान गरेका थिए ।

कार्यक्रममा सहकारीमार्फत आर्थिक आत्मनिर्भरता, सामाजिक एकता, समावेशी विकास तथा सामूहिक समृद्धिको यात्रालाई अझ सशक्त बनाउने प्रतिबद्धता व्यक्त गरिएको थियो । वक्ताहरूले सहकारी आन्दोलनलाई सुशासन, पारदर्शिता र सदस्यकेन्द्रित सेवामार्फत अझ प्रभावकारी बनाउँदै मुलुकको आर्थिक विकासमा अग्रणी भूमिका निर्वाह गर्नुपर्ने बताए ।



Leave a comment