‘मलाई सोधेर सहकारीमा पैसा राखेको हो र !’ भनेपछि धरानका मेयर विवादमा

‘मलाई सोधेर सहकारीमा पैसा राखेको हो र !’ भनेपछि धरानका मेयर विवादमा :: Sahakari Akhabar

इटहरी । धरानको बराह बचत तथा ऋण सहकारीबाट पीडित बचतकर्ताहरुलाई ‘मलाई सोधेर पैसा राख्न दिएको हो र !’ भनेपनि धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ विवादमा तानिएका छन् । मेयर साम्पाङले बचतकर्ताको समस्या समाधान गर्नुपर्नेमा उनले गैरजिम्मेवार अभिव्यक्ति दिएपछि सहकारीका बचतकर्ताहरु आक्रोशित भएका थिए ।

बचत फिर्ताको माग गर्दै आन्दोलन गरिरहेका बचतकर्ताहरुले मेयर साम्पाङविरुद्ध नाराबाजी गर्नुका साथै कार्यकक्षसमेत तोडफोड गरेका थिए । 

संविधानमा सहकारीलाई संघ, प्रदेश र स्थानिय सरकारको साझा अधिकारभित्र राखिएको छ । स्थानिय तहभित्र सहकारी दर्तादेखि नियमन गर्ने अधिकारी सोहि स्थानिय तहलाई दिइएको छ । संघियता कार्यान्वयनसँगै संघिय सरकारले सहकारीहरुको अभिलेख स्थानिय सरकारलाई हस्तान्तरण गरिसकेको छ । तर, स्थानिय सरकारले सहकारीको नियमन गर्न नसक्दा विकृति बढिरहेको छ । 

स्थानिय तहहरुले आफु मातहत रहेका सहकारीको प्रभावकारी अनुगमन गर्न सकेका छैनन् । स्थानिय तहमा अझैसम्म पनि सहकारीको अनुगमन गर्न सक्ने दक्ष तथा प्राविधिक जनशक्तिको व्यवस्थापन समेत हुन सकेको छेन । 

बराह सहकारीमा बचतकर्ताको करिब ८ अर्ब रकम फसेको छ । एक वर्षदेखि समस्यामा रहेको सहकारीको समस्या समाधान गर्न उपमहानगरपालिका तथा मेयरले वेवास्ता गरेको भन्दै बचतकर्ताहरुले आन्दोलन गरिरहेका छन् । 

उपमहानगरपालिकाले अध्ययन समिति निर्माण गरेपनि बचतकर्ताले रकम फिर्ता गर्न सकेको छैन । सहकारीको पछिल्लो प्रतिवेदन अनुसार शेयर पुँजी १० करोड २९ लाख १६ हजार, जगेडा कोषमा ३ करोड २८ लाख ८० हजार रहेको छ । संस्थाको बचत संकलन ७२ करोड १९ लाख ८४ हजार र ऋण लगानी ७९ करोड ३२ लाख रहेको छ । 

बराहले जग्गा दृष्टिबन्धक, वचत खाता जमानी, बराह ज्वेलरी इन्भेष्टमेन्ट प्रालि व्यवसाय र कारखानामा लगानी, बराह डिपार्टमेन्टमा लगानी, बराह कृषि उपज तथा पशुपालन प्रालि, बराह फेमिली किचन धरानमा लगानी, बराह भेडेटार मल्टिप्रपोज कम्पनी प्रालिलगायतमा लगानी गरेको छ । 



Leave a comment