काठमाडौं । सहकारी ऐन विपरित मुख्यमन्त्री नै अध्यक्ष रहेको नेपाल स्वास्थ्य सहकारी केन्द्रीय संघमा महासचिव खेमराज सुवेदी पनि गैरकानुनी रुपमा दोहोरो पदमा बसेको पाइएको छ ।
नियमित साधारणसभा नै नगरी निश्कृय संघमा महासचिव रहेका सुवेदी जिल्ला सहकारी संघ काठमाडौंको बरिष्ठ उपाध्यक्ष र जिल्ला स्वास्थ्य सहकारी संघ काठमाडौंको उपाध्यक्षको भूमिकामा समेत छन् । जबकी सहकारी ऐन–२०७४ तथा वागमती प्रदेश सरकारको सहकारी ऐनले एकै व्यक्ति एक भन्दा बढि संघसंस्थामा संचालक बस्न नपाउने ब्यवस्था गरिएको छ । तर, सहकारीका नेताहरुले ऐनको प्रावधान कार्यान्वनमा अटेरी गर्दै आएका छन् ।
स्वास्थ्य सहकारीकै दुई वटा संघमा पदाधिकारी रहेका सुवेदी व्यक्तिगत रुपमा भने बचत तथा ऋण सहकारीमा सक्रिय छन् । उनी नयाँ बानेश्वरस्थित सहयात्री बचत तथा ऋण सहकारीको कार्यकारी अध्यक्ष हुन् । यसअघि बहुउद्देश्यीय सहकारी संस्था भएपनि सहकारी ऐन अनुसार कारोबार गर्न नसकेपछि बचत तथा ऋणमा परिवर्तन भएको हो ।
स्वास्थ्य सहकारीको जिल्ला संघ काठमाडौं र केन्द्रीय संघ नै लामो समयदेखि साधारणसभा नगरी निश्कृय बसेको छ । केन्द्रीय संघको अध्यक्ष बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डे हुन् ।
अध्यक्ष पाण्डे र महासचिव सुवेदीको पद कानुन ब्यवस्था विपरित भएपनि साधारणसभा गरी संघको नेतृत्व परिवर्तन गर्न तथा संघलाई पुर्नजीवन उनीहरुले नै वेवास्ता गरेको सहकारीकर्मी गुनासो छ ।
स्वास्थ्य केन्द्रीय संघ ६ वर्षदेखि निष्कृय रहेपनि संघका सञ्चालकको राजनीतिक पहुँचका कारण नियामकले कारवाही गर्न सकेको छैन । विभागले साधारणसभा नगर्ने स्वास्थ्यलगायत आधा दर्जन केन्द्रीय संघहरुलाई माघ ५ गते पत्र काटी साधारणसभा नगरेकोबारे स्पष्टीकरण सोधेको थियो । त्यसपछि अधिकांश संघहरुले साधारणसभा गरेपनि स्वास्थ्यले न साधारणसभा गरेको न त विभागमा साधारणसभा गर्न नसक्नुको कारणबारे कुनै जवाफ ।
आर्थिक गतिविधि शुन्य भएकाले साधारणसभा समेत गर्न नसकिएको संघका महासचिव सुवेदी बताउँछन् । केन्द्रीय संघको यस वर्ष भदौभित्रै साधारणसभा गर्ने तयारी गरिएको उनले जानकारी दिए । ‘ढिलोमा दसैंअघि संघको साधारणसभा भएर नयाँ नेतृत्व चयन हुन्छ’, सुवेदी भन्छन्, ‘संघलाई चलायमान बनाउने विषयमा अध्यक्षसँग छलफल भइसकेको छ ।’
जिल्ला संघ पनि खल्तीमै सिमित
केन्द्रीय स्वास्थ्य सहकारी संघ मात्र होइन, दर्ता भएका दुईवटा जिल्ला स्वास्थ्य सहकारी संघ पनि निश्क्रिय छन् । काठमाडौं जिल्ला स्वास्थ्य सहकारी संघ र बाग्लुङ जिल्ला स्वास्थ्य सहकारी संघ दुवै निश्क्रिय छन् ।
काठमाडौं जिल्ला स्वास्थ्य सहकारी संघको साउनभित्रै साधारणसभा गर्ने तयारी भएको उपाध्यक्ष सुवेदी बताउँछन् । लेखापरीक्षण प्रतिवेदन भइरहेकाले छिट्टै साधारणसभा गर्ने उनले बताए । ‘सबै ठाउँमा बसेर काम पनि छैन’ सुवेदी भन्छन्, ‘साधारणसभा गरेर नेतृत्व हस्तान्तरण गर्ने योजना छ ।’
स्वास्थ्य सहकारीको अभिभावकको रुपमा रहेको केन्द्रीय संघ र जिल्ला संघ निश्क्रिय हुँदा स्वास्थ्य सहकारी संस्थाहरुको बहस, पैरवी कमजोर बनेको छ ।
Leave a comment