काठमाडौं । वागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डे अध्यक्ष रहेको नेपाल स्वास्थ्य सहकारी केन्द्रीय संघको संचालक समिति नै अवैधानिक भएको छ । ५ वर्षयता कुनै पनि गतिविधि नगरेको संघको संचालक समितिको कार्यकाल सकिएर अवैधानिक भएको छ । तर, अध्यक्ष पाण्डे साधारणसभा गरी नेतृत्व हस्तान्तरण गर्न तथा संघलाई सक्रिय बनाउन उदासिन भएको संचालकहरुले आरोप लगाउदै आएका छन् ।
संघ निश्कृय भई संचालक समिति समेत अवैधानिक भएपनि अध्यक्ष पाण्डे भने उक्त संस्था देखाएर सहकारीका गतिविधिमा क्रियाशिल हुँदै आएका छन् । वागमती प्रदेशको मुख्यमन्त्री भएपछि पनि उनले संघको नेतृत्व नछोडेपछि संघको कामले प्राथमिकता पाउन सकेको छैन ।
सहकारी विभागको निर्देशन अनुसार सार्वजनिक पदमा भएका व्यक्तिहरु सहकारीको पदमा बस्न पाउदैनन् । अध्यक्ष पाण्डेले यो प्रावधानलाई पनि उल्लङघन गर्दै आएका छन् । यस्तै संघकी कोषाध्यक्ष रहेकी शोभा सापकोटा काठमाडौं महानगरपालिका वडा नम्बर १४ को वडा अध्यक्ष निर्वाचित भएपनि संघको नेतृत्व छोडेकी छैनन् ।
साधारणसभा गराउन र संघको गतिविधि अघि बढाउन प्रारम्भीक सहकारीले दवाव दिएपनि संघको नेतृत्वले पद ओगटेर मात्रै बसिरहेको छ । प्रारम्भीक सहकारीले संघको साधारणसभा बोलाउन दवाव दिएको भएपनि संघको नेतृत्व मौन रहँदै आएको छ ।
संघमा आर्थिक वर्ष २०७३/७४ पछि साधारणसभा नभएको महासचिव खेमराज सुवेदीले जानकारी दिए । संघमा आर्थिक गतिविधि शुन्य भएकाले साधारणसभा समेत गर्न नसकिएको उनले बताए । संघका उपाध्यक्ष इन्द्रलाल सापकोटा, कोषाध्यक्ष शोभा सापकोटा हुन् । संघका सञ्चालकमा नारायण ढकाल, कृष्णदास मानन्धर, हरीराम सापकोटा, रविन्द्र नेम्कुल, खड्गबहादुर श्रेष्ठ, कृष्ण श्रेष्ठ, विजय शाक्य रहेका छन् ।
कतिपय अस्पतालमा सहकारी पनि खोलिएको छ । अस्पतालमा कार्यरत कर्मचारीले स्वास्थ्य सहकारी खोलेपनि बचत तथा ऋणको काम गर्दै आएका छन् । देशभर १ सय १५ वटा स्वास्थ्य सहकारी दर्ता भएका छन् । ती मध्ये ४२ वटा सहकारी मात्रै केन्द्रीय संघमा आबद्व छन् । दर्ता भएका १ सय १५ मध्ये ६८ वटा मात्रै सञ्चालनमा छन् ।
विभाग मौन
पाँच वर्षदेखि निष्कृय रहँदा पनि संघका संचालकको राजनितिक पहुँचका कारण नियामक निकायले कुनै एक्सन चालेको छैन । पछिल्लो समयमा भने सहकारी विभागले संघलाई स्पष्टीकरण सोधेको छ । माघ ५ गते पत्र काटी साधारणसभा किन नगरेको ? भन्दै स्पष्टीकरण सोधेको हो । महासचिव सुवेदीले स्पष्टीकरणबारे छलफल भइरहेकाले छिट्टै विभागलाई बुझाउने तयारी गरेको उनको भनाइ छ । छिट्टै साधारणसभा बोलाएर नयाँ नेतृत्व चयन गर्ने सुवेदीले बताए । ‘नयाँ सदस्यलाई पनि समेटेर नयाँ नेतृत्व चयन गर्न खोजिरहेका छौं’ उनले भने ।
महासचिव सुवेदीले आर्थिक अवस्था कमजोरका कारणले संघलाई सक्रिय बनाउन नसकिएको स्वीकार गर्छन् । ‘केन्द्रीय संघलाई सक्रिय बनाउन नसकिएको सत्य हो’ उनले भने,‘अब पुर्नजीवन दिने पक्षमा छौं ।’
केन्द्रीय संघको कार्यालय स्वयंम्भुमा छ । तर संघमा कर्मचारी कोही छैनन् । कार्यालय राखिएपनि संघले लामो समयदेखि भाडा तिर्न सकेको छैन ।
संघका अध्यक्ष राजेन्द्र पाण्डे अध्यक्ष रहेको नेपाल स्वास्थ्य सहकारी संस्थाद्वारा सञ्चालित मनमोहन मेमोरियल अस्पताल भवनमै केन्द्रीय संघको कार्यालय राखिएको छ । केन्द्रीय संघको बैठक तथा छलफल गर्न कहिलेकाँही कार्यालय खुलेपनि संघबाट अरु खासै गतिविधि सञ्चालन हुन नसकेको पदाधिकारी नै बताउँछन् ।
स्वास्थ्य सहकारी जिल्ला संघ पनि निश्क्रिय छन् । काठमाडौं र भक्तपुरमा जिल्ला स्वास्थ्य सहकारी संघ स्थापना भएको छ । तर, दुईवटै संघ पनि सञ्चालनमा आउन सकेका छैनन् । के गर्छन् स्वास्थ्य सहकारी? सञ्चालन भएका अधिकांश स्वास्थ्य सहकारीले अस्पताल सञ्चालन गरिरहेका छन् । केहीले शैक्षिक प्रतिष्ठानसमेत सञ्चालन गरेका छन् ।
केन्द्रीय सहकारी संघका अनुसार उपत्यकामा मनमोहन, गणेशमान सिंह, महेन्द्रनारायण, स्तुपा, सहीद मेमोरियल, सहयात्री, लालीगुराँस सहकारीले अस्पताल सञ्चालन गरेका छन् । उपत्यकाबाहिर पनि केही जिल्लामा सहकारीको अस्पताल राम्रोसँग सञ्चालन भइरहेका छन् ।
कतिपय अस्पतालमा सहकारी पनि खोलिएको छ । अस्पतालमा कार्यरत कर्मचारीले स्वास्थ्य सहकारी खोलेपनि बचत तथा ऋणको काम गर्दै आएका छन् । देशभर १ सय १५ वटा स्वास्थ्य सहकारी दर्ता भएका छन् । ती मध्ये ४२ वटा सहकारी मात्रै केन्द्रीय संघमा आबद्व छन् । दर्ता भएका १ सय १५ मध्ये ६८ वटा मात्रै सञ्चालनमा छन् ।
Leave a comment