हाइलाइट

सहकारी आन्दोलनमा उदाहरणीय विन्धवासिनी : यस्ता छन् संस्थाको रणनीति 

सहकारी आन्दोलनमा उदाहरणीय विन्धवासिनी : यस्ता छन् संस्थाको रणनीति  :: Sahakari Akhabar

नेपालको सहकारी आन्दोलनमा उदाहरणीय संस्थाको रुपमा लिइने नाम हो, काभ्रेस्थित विन्धबासिनी बचत तथा ऋण सहकारी संस्था । २०५० साल पुसमा काभ्रे जिल्लामा स्थापना भएको संस्थाले समुदायमा आधारित भई लघुवित्त कार्यक्रममार्फत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पहिचाहन बनाउन सफल छ । संस्थाको सफलताका रणनीतिबारे अध्यक्ष प्रदिप थापाका विचार :–

हामीले सुरुवातदेखि समूहमा, समुदायमा आधारित भई सदस्यमा केन्द्रित भएर संस्था सञ्चालन गरेका छौं । सुरुदेखि नै समुदायमा आधारित भएर अघि बढ्नुपर्छ भन्ने प्रयन्त गरौं । र त्यसमा सफल पनि भएका छौं । सदस्यको हित र आर्थिक उन्नतीमा कसरी जान सकिन्छ भनेर प्रयत्न गर्दा आज सफलताको बाटोमा आइपुगेका हौं । 

विन्धवासिनीको सदस्य हुन कुनै पनि समूहमा आबद्ध हुनुपर्छ । २०५३ सालदेखि नै हामीले यस्तो अभ्यास थालनी गरेका हौं । एउटै गाउँ, टोली र वस्तीका व्यक्तिहरु मिलेर समूह निर्माण हुन्छन् । ती समूहभित्र त्यहाँका सबै आबद्ध हुन्छन् । समूहले सदस्यको आवश्यकता पूरा गर्न सहज भइरहेको छ । समुदायलाई पनि संलग्न गराएर एक आपसमा सहयोग आदानप्रदान गर्दै आएका छौं । यसले सुशासनमा पनि सघाएको छ । 

हामीले युवा तथा महिला सशक्तीकरणमा जोड दिएका छौं । महिलाको नेतृत्व विकास गर्न जोड दिएका छौं । महिलाको चाहना, इच्छा, आकांक्षा हुन सक्छन् तर, आर्थिक अवस्था कमजोर भएका कारण श्रीमान तथा  अभिभावकसँग हात पसार्नुपर्ने अवस्था हुन सक्छ । त्यसलाई चिर्न हामीले लघुवित्त कार्यक्रम चलाएर महिलालाई आत्मनिर्भर बनाएका छौं । लघुवित्त कार्यक्रमबाट महिलालाई सम्वृद्ध बनाउन सघाउ पुगेको छ । यसबाट महिलाहरु परनिर्भरताबाट आत्मनिर्भर हुन सकेका छन् ।

संस्थालाई सुशासनमा सञ्चालन गर्न नीतिगत व्यवस्थामा ध्यान दियौं । नियमावली, निर्देशिका र कार्यविधि बनाएका छौं । सबै नीतिगत व्यवस्थाका आधारमा अघि बढेका छौं । सहकारीमा विकृति देखिनुको मुख्य कारण सञ्चालक समिति पनि हो । त्यसकारण हामीले संस्थालाई सुशासनमा ल्याउन संचालकको आचारसंहिता बनाएका छौं । प्रारम्भीक चरणदेखि नै सञ्चालक समिति तथा एकाघरका सदस्यले ऋण लिन नपाउने व्यवस्था ग¥यौं । कर्मचारी राख्दा पनि सञ्चालक समितिका नातेदार राख्न नपाउने व्यवस्था छ । प्रमुख कार्यकारी अधिकृतले पनि आफ्ना नातेदार कर्मचारी राख्न पाउँदैन । 

राजनीतिक आस्था र विचार जो कोहीमा हुन सक्दछ, तर सहकारी संस्थामा पस्दा राजनीतिको जुत्ता फुकालेर मात्र भित्र पस्नुपर्ने व्यवस्था गरेका छौं । सबैको आस्था रहेको साझा फुलवारी भएपनि विशुद्ध त्यहाँ सहकारी भन्दा बाहिरका कुरा गर्न नपाइने विनियममै व्यवस्था गरेका छौं । विभिन्न पदको जिम्मेवारीमा रहेका व्यक्ति राजनीतिमा जान नपाउने, यदी कोही जनप्रतिनिधिमा निर्वाचित भएमा तत्काल राजीनामा दिने व्यवस्था अनिवार्य गरेका छौं । राजनीतिक एलाइन्स गरेर सहकारीको नेतृत्वमा नजाने व्यवस्था गरेका छौं । स्वतन्त्र भएर निर्वाचन लड्ने परम्परा बसाएका छौं । 
सदस्यको सन्तुष्टी, उहाँहरुका इच्छा आकांश पूरा गर्न सदस्य शिक्षा शिविर चलाउने गरेका छौं । उहाँहरुका आवश्यकता पूरा गर्न वार्षिक कार्यक्रम बनाएर कार्यान्वयन गर्ने गरेका छौं । 

हामीले कृषि व्यवसायलाई फोकस गरेका छौं । विगत २ वर्षदेखि किसान टुर योजना सञ्चालन भइरहेको छ । २ हजार सदस्यलाई संलग्न गराउने उद्देश्यले उक्त कार्यक्रम अघि बढेको छ । चारजना जेटिए व्यवस्था गरेका छौं । जेटिएबाट कृषकलाई तालिम÷प्रशिक्षण दिने, मल, बीउबिजनमा सहजीकरण गर्ने प्रयत्न गरेका छौं । 

केही स्थानीय तहसँग समन्वय गरेर पनि कृषिलाई अझ व्यापकता दिएका छौं । स्थानीय तहसँग साझेदारी गरी कार्यक्रम गर्दा कृषिमा आत्मनिर्भर हुन सघाउ पुगेको छ । किसानहरुलाई ५ प्रतिशतमा साढे ६ लाखसम्म ऋण दिने व्यवस्था गरेका छौं । हामीले १ प्रतिशत छुट दिने र स्थानीय तहले ५ प्रतिशत छुट दिने गरी सहुलियत कर्जा चलाएका छौं । रोशी गाउँपालिकासँग साझेदारी गरेर यस्तो कार्यक्रम सञ्चालन गरिएको हो । 

कृषकको उत्पादनलाई बजारीकरण गर्न, विचौलिया अन्त्य गर्न हाम्रो ध्यान गएको छ । बचत तथा ऋण सहकारीले त्यस्तो काम गर्न नसकेपनि अन्य निकायसँग समन्वय गरी अघि बढेका छौं । बनेपामा २ रोपनी जग्गा खरिद गरेर मिनी मार्ट, कोल्डस्टोर निर्माण गर्ने योजना अघि बढाएका छौं । सदस्यले उत्पादन गरेका वस्तु ग्रेडिङ, प्याकेजिङ गर्ने काम हुने छ । 

सदस्यलाई सीपमूलक तालिम दिने गरेका छौं । लघु उद्यमी विकास गर्न सीटिइभीटीसँग पनि सहकार्य गरी कार्यक्रम गरिरहेका छौं । वास्तवमा किसानले यस्ता विषयमा जहिले पनि समस्या भोगिरहेको अवस्थामा सहकारीले मलखाद, बिउ, उत्पादनका बजार सुनिश्चित गर्न सहजीकरण गरिरहेको छ । 

सुशासन, सदस्यलाई वित्तीय अनुसशासनमा ल्याउने काममा पनि दत्तचित्त भएर लागेका छौं । सिंगो अभियानलाई उदाहारणीय काम गर्न लागिपरेका छौं । सहकारीमा प्रबन्धक सञ्चालक हुने, एकै घरका अध्यक्ष र सिइओ हुने प्रथा अन्त्य गर्नैपर्छ । हामीले नियामक निकायलाई पनि यस्ता विषयमा सुझाव दिइरहेका छौं । 

हामीले सदस्यलाई उत्पादनतर्फ जान प्रोत्साहन गरेका छौं । व्यवसायिक खेती, सामूहिक खेती, स्वाबलम्बन कार्यक्रम अभियान चलाएका छौं । व्यक्ति कृषिबाटै आत्मनिर्भर भएका छन् । २ हजार सदस्य योजनाबद्ध अघि बढेका छन् । कृषिमा करिब ७ हजार कृषक जोडिएका छन् । 
(कुराकानीमा आधारित)
 



Leave a comment