हाइलाइट

सहकारीमा महिलाहरुको उडान : बहुउदेश्यीयबाट कृषिमा रुपान्तरण गरी व्यवसायीकतातर्फ 

सहकारीमा महिलाहरुको उडान : बहुउदेश्यीयबाट कृषिमा रुपान्तरण गरी व्यवसायीकतातर्फ  :: Sahakari Akhabar

चीना थापा, विराटनगर । ३६ जना महिलाहरूले बचत गर्नका लागि २०५४ सालमा सुरु गरेको एउटा समूह यतिबेला उर्लाबारी नगरपालिका–७ स्थित नारी सिर्जना कृषि सहकारी संस्थाको रुपमा २ हजार १५६ जना महिलालाई संगठित गर्दै बचत ऋणका अतिरिक्त कृषि उत्पादन तथा बजारीकरण गर्न सफल भएको छ । आफूलाई आवश्यक परेको बेला पुरुषहरूसँग हात थाप्नु नपर्ने र मन लागेको कुरामा बचतको पैसा चलाउन पाउँदा उनीहरू दंग त छदैछन्, घरायसी कामकाजमा मात्र अल्झिने महिलाहरु आफ्नो जीवनस्तर समेत सहकारीको माध्यमबाट उकास्दै छन् । यतिबेला सहकारीले सदस्यहरुको बचत मात्रै गर्दैन, सदस्यहरुलाई कृषि उत्पादनमा जोडिन उप्रेरित गर्दै र उत्पादित वस्तुको सहज बजार व्यवस्थापनमा समेत सफलता पाउदै गएको छ । 

नारी सिर्जनाले सदस्य महिलाहरुले उत्पादन गरेका कृषि उपजहरु खरिद गरेर ब्यवसायीक बन्न सहयोग गर्दै आएको छ । महिलाहरुले  उत्पादन गरेका तरकारी फलफूल तथा अन्नबाली सहकारीले नगदमै खरिद गर्छ । महिलाले आफैं गरिखानु पर्छ भनेर सदस्यले उत्पादन गरेका कृषि वस्तुहरुको बजारीकरण सहकारीमार्फत गर्न थालिएको संस्थाकी अध्यक्ष पुष्पकुमारी राजभण्डारीले बताइन् । 

सहकारीले सदस्य महिलाहरुको अग्रसरतामा उत्पादन भएका कृषि वस्तुहरु खरिद गरेर बजारको सुनिश्चितता गरिदिएको छ । सदस्य परिवारले उत्पादन गरेको धान, गहुँ, तोरी, मकै र तरकारी खरिद गरिदिने र त्यस्ता कृषि उपजको आवश्यक पर्ने सदस्यलाई सहकारीबाटै बिक्री वितरण समेत गर्दै आएको छ ।

सदस्यलाई परेको साह्रो–गाह्रोमा सहकारी सहारा बनेको छ । उर्लाबारीकै एउटा क्याम्पसमा स्नातक तह अध्ययरत छोराको ‘फी’ तिर्न पैसा अभाव भएपछि सहकारी पुगेकी कोपिला न्यौपानेले अभर पर्दा सहकारीकै सहारा लिने गरेको बताइन् । ‘छोरोको कलेजमा फिस तिर्न अभर पर्यो भनेर ३० हजार जति निकाल्न आएको, बेलाबेलामा यहींबाट काम पनि चलाउँदै आएको छु,’ उनले भनिन् ।

नारी सिर्जनाबाट दैनिक सारो गाह्रो व्यवहार टार्नेदेखि उद्यमशीलताकै लागि ऋण लिएर काम गर्ने महिलाहरुको संख्या पनि निकै छ । सहकारीकै सहुलियतपूर्ण ऋणमा केहीले बाख्रापालन गरिरहेका छन्, कसैले तरकारी खेती गरिरहेका छन् ।

सहकारीमा सदस्य महिलाहरुको संख्या बढ्दै गएपछि दैनिक बचत तथा ऋणका अलावा आत्मनिर्भरतातर्फ उन्मुख हुनुपर्छ भन्ने भावना भने कृषि सहकारीमा रुपान्तरण भएपछि आएको हो । खासगरी कोरोनाको संक्रमणले विश्व आक्रान्त भएको र नेपालमा समेत भयावह स्थिति भएपछि विदेशमा भएका श्रीमानहरुको आम्दानी घटेको र दैनिक ज्यालादारीमा काम गर्ने पुरुषहरु पनि कामविहीन भएकाले सहकारीले कृषिलाई उच्च प्राथमिकतामा राख्यो ।

अध्यक्ष राजभण्डारीले भर्खरैमात्र सहकारीले ३४ जना महिला युवा उद्यमीलाई कृषिलगायतका उद्यमशीलताका क्षेत्रमा ऋण परिचालन गरेको जानकारी दिइन् । सहकारीले विशेषगरी गाई, बंगुरपालन र दुग्ध उत्पादनका क्षेत्रमा लगानी गरेको बताइन् ।

‘युवा स्वरोजगार कोषबाट एक करोड रुपैयाँ सहुलियतपूर्ण ऋण लिएर कृषि, पशुपालन लगायतका उत्पादनसँग जोडिएका क्षेत्रमा लगानी गर्न सुरु गरेका छौं,’ राजभण्डारीले भनिन्, ‘आगामी दिनमा कृषिजन्य उत्पादनको बजार व्यवस्थापन गर्ने योजना छ ।’ उनले सहकारीलाई सक्षम बनाउनका लागि नेपाल सरकारकै समृद्धि आयोजना अन्तरगत सदस्यहरुलाई पटक–पटक महिला सशक्तिकरण, क्षमता विकास र कृषिमा अभिप्रेरित हुने खालका तालिमहरु प्राप्त हुँदै आएको बताइन् । फलस्वरुप सदस्यहरुलाई उत्पादनमा लाग्न निकै प्रेरणा मिलेको अनुभव सुनाइन् ।

हरियो तरकारी, माछा, दुध, बाख्रा तथा सुगन्धित जडिबुटीजन्य वस्तुको क्षेत्र निर्माण गरी आपूर्ति श्रृंखलाको कार्यन्वयन तथा ग्रामीण किसानलाई आयआर्जन सम्बन्धि क्रियाकलापहरुको प्रवर्द्धन र रोजगारीका अवसर सिर्जना गर्नेतर्फ संस्थाले जोड दिएको छ । 

सदस्य महिलाहरुले उत्पादन गरेको तोरी खरिद गरेर तेल पेल्ने र सहकारीकै सदस्य र आवश्यक पर्ने जो कोहीलाई पनि तेल बिक्री गर्ने गरेको अध्यक्ष राजभण्डारीले बताइन् । त्यसैगरी सदस्यहरुले उत्पादन गरेको बेसार, मसला, मह, तरकारी पनि खरिद गरिदिने गरेको जानकारी दिइन् । त्यस्ता कृषि उपज सहकारीमै बिक्रीका लागि राखिने गरेको छ । आवश्यक पर्नेले गएर सहजै रुपमा खरिद गर्नसक्ने व्यवस्था सहकारीले मिलाएको छ ।

सञ्चालनको समस्यामा रहेको हलो डोको कृषि सहकारीलाई गाभेर नारी सिर्जना सहकारीलाई कृषि सहकारीमा रुपान्तरण गरिएको हो । बचत तथा ऋण समूहका रुपमा २०७८ साउन २८ मा विधिवत रुपमा नारी सिर्जना कृषि सहकारीमा परिणात भएको थियो । बहुउद्देश्यीय सहकारी संस्थाका रुपमा २०५७ जेठ ८ मा औपचारिक दर्ता भएर २०६१ सालमा बचत तथा ऋण सहकारीमा परिणत गरिएको थियो ।

एकीकरणअघि हलो डोको सहकारीले व्यवस्थापन गर्दै आएको ४ बिघा जग्गालाई १० वर्षका लागि भाडामा लिएर सिजन अनुसार धान, आलु, बेसार, तरकारी र खर्बुजा खेती सुरु गरेको र पहिलो वर्ष आलु र खर्वुजा उत्पादन गरेको छ । अहिलेसम्म ४० मन आलु र २४ मन धान फलाएको छ । सदस्यहरुले उत्पादन गरेको जिरा मन्सुली धानसमेत खरिद गरेर चामल बनाएर विक्री गरिंदै आएको छ ।

भाडाको जग्गामा यसपटक भिण्डी खेती गरिएको र सन्तोषजनक रुपमै उत्पादन भएको अध्यक्ष राजभण्डारीले बताइन् । साथै पाँचवटा पोखरीमा माछापालन पनि सुरु गरिएको उनले बताइन् । हाम्रा सदस्यहरु अधिकांश कृषि कर्ममै संलग्न रहेका छन् तर विस्तारै विस्तारै सवै कुरा किनेर खानुपर्ने अवस्था आएपछि त्यस्तो हुन नदिन सवै सदस्य मिलेर कृषिमा लाग्ने योजना बनाएका छौं,’ अध्यक्ष राजजभण्डारीले भनिन्, ‘अब हाम्रा सदस्यलाई सहकारीमा बचत गर्ने पैसा आफैंले कमाउने अवसर तयार भएको छ, जे जे उत्पादन हुन्छ हामी खरिद गरिदिन्छौं, खरिद गरेको कृषि बालीको भुक्तानी तत्कालै नगदै दिइरहेका छौं ।’

अहिले उर्लाबारी वडा नं ७ का प्राय हरेक घरका महिला सदस्य सहकारीमा आवद्ध भएका छन् । सहकारीमा आवद्ध भएर सफल भएका लगनशील महिला उद्यमीहरु प्रशस्त पाइन्छन् । जसले सहकारीप्रति महिलाको आकर्षण बढ्नुमा आर्थिकसँगै सामाजिक इज्जत नै मुख्य कारण हो ।

पुरुषहरुले मात्रै चलाएका सहकारीमा महिलाको पहुँच नपुगेको भन्दै आफैं केही गर्ने उद्देश्यका साथ उनीहरुले सहकारी दर्ता गराएका थिए । सुरुवातमा ६०–७० वटा जति समूहबाट बचत गर्दै सहकारीको आधार तयार गरेको पूर्वअध्यक्ष भगिरथा अधिकारीले बताइन् ।

त्यतिबेलाको दुःखलाई अहिले सुखमा बदल्न सफल भएको कुरा सुनाउँदै उनले भनिन् ‘हामीलाई त्यतिबेला सवै कागजात पुर्याएर जाँदा पनि आफ्नै घर र समाज भित्रका पुरुषहरुकै दवावले सहकारी दर्ता हुन दिएका थिएनन्, अहिले त तिनै घरका महिलाहरु बचत पनि गरिरहेका छन्, कृषि उत्पादन पनि गरिरहेका छन् ।’



Leave a comment