सहकारीका समस्या समाधान गरौं : महासचिव पोखरेल

सहकारीका समस्या समाधान गरौं : महासचिव पोखरेल :: Sahakari Akhabar

काठमाडौं ।  नेकपा एमालेका महासचिव शंकर पोखरेलले अभियान र राज्यले सहकार्य गरी सहकारीका समस्या समाधान गर्नुपर्ने बताएका छन् ।

एमालेको सहकारी तथा गरिवी निवारण विभागको बैठकलाई सम्बोधन गर्दै महासचिव पोखरेलले सहकारी क्षेत्रमा देखिएका समस्या समाधानका लागि राज्यका निकाय चनाखो हुनुपर्ने बताए । ‘सहकारी अभियानका संघसंस्थाहरुको पनि सक्रियता बढ्नुुपर्छ’ उनले भने ।

सहकारी मूल्य, मान्यता र सिद्धान्त विपरित चल्न नहुने महासचिव पोखरेलले बताए । ‘एकदुईवटा सहकारी खराब भए सबै सहकारीलाई असर पर्छ’, उनले भने,‘खराब सहकारीकाबारेमा अभियान पनि सक्रिय भएर समस्या समाधान गर्नतर्फ लाग्नुपर्छ ।’ 

सहकारी मुलुकको आर्थिक विकासको महत्वपूर्ण माध्यम भएको उनको भनाइ छ । ‘यसको प्रभावकारी परिचालनबाट गरिवी निवारणमा योगदान गर्न सकिन्छ’ उनले भने । 

सहकारीमार्फत कृषि क्षेत्रको रुपान्तरण गर्न सकिने उनले बताए । गरिवी निवारणको महत्वपूर्ण पाटोका रुपमा कृषिलाई स्थापित गर्न, उत्पादन बढाउन, बजारीकरणलाई प्रभावकारी बनाउन सहकारीले प्रभावकारी कदम चाल्नुपर्ने महासचिव पोखरेलले बताए । बचत परिचालन गरी उत्पादन तथा रोजगारी सिर्जनामा विशेष जोड दिनुपर्ने उनको भनाइ छ । 

सहकारीले विचौलिया अन्त्य गरी सदस्यलाई राहत दिन सक्नुपर्ने महासचिव पोखरेलले बताए । ‘विचौलियाका कारण किसान र उपभोक्ता मारमा परेका छन्’ उनले भने । विचौलियाको अन्त्य गर्न सहकारीले कसरी भूमिका निर्वाह गर्न सक्छ भन्ने विषयमा सहकारीकर्मीले सधैँ  ध्यान दिनुपर्ने उनले बताए । 

संविधानले तीन खम्बे अर्थनीति अंगिकार गरे पनि सहकारी प्रभावकारीरुपमा अघि बढ्न नसकेको उनले बताए । समाजवाद उन्मुख अर्थतन्त्रको विकासका लागि सहकारी उपयुक्त माध्यम भएकाले त्यसतर्फ सहकारीकर्मीको ध्यान जानुपर्ने उनले बताए । 
विभाग प्रमुख कमल चौलागाईको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन उपप्रमुख निर्मल भट्टराईले गरेका थिए । 
 



Leave a comment