काठमाडौ । राष्ट्रिय सहकारी महासंघले सांसद विनोद चौधरीको अभिव्यक्तिको विरोध गरेको छ । मंगलबार अर्थ समितिको बजेट सम्बन्धी छलफल कार्यक्रममा नेपाली कांग्रेसका नेता चौधरीले सहकारीको नचाहिने अभिव्यक्ति दिएको भन्दै महासंघले ध्यानाकर्षण भएको जनाएको हो ।
चौधरीले समितिको बैठकमा दिएको ‘सहकारी चाहिदैन’ भन्ने अभिव्यक्ति सम्बन्धी समाचार सहकारी अखबारले प्रकाशित गरेको थियो । ‘नेपालको अर्थतन्त्रको एउटा खम्बाका रुपमा रहेको सहकारी क्षेत्रको आवश्यकता नरहेको भन्ने टिप्पणी सार्वजनिक भएको विषयमा महासंघको गम्भिर ध्यानआकर्षण भएको छ’ अध्यक्ष मिनराज कडेलद्धारा जारी विज्ञप्तिमा भनिएको छ ।
‘मूल्यमा आधारित भएर गरिने सहकारी व्यवसायप्रति जिम्मेवार व्यक्तिले गरेको टिप्पणी पूर्वाग्रहपूर्ण रहेको हाम्रो ठहर छ’ विज्ञप्तिमा भनिएको छ । सार्वजनिक, निजी र सहकारी क्षेत्रको सहभागिता र स्वतन्त्र विकासमार्फत राष्ट्रिय अर्थतन्त्र सुदृढ गर्ने संवैधानिक व्यवस्था रहेकोमा संविधान विपरित सहकारीका विषयमा अभिव्यक्ति दिएकोमा आपत्ति जनाइएको हो ।
‘नेपालका करीव ७३ लाख भन्दा बढी मानिस आवद्ध रहेको जनताको अभियानप्रति अवमूल्यांकन गर्ने काम भएको छ,’ विज्ञप्तिमा भनिएको छ,‘गरिबी न्युनिकरण, रोजगार सिर्जना, महिला सशक्तिकरण र दीगो विकास लक्ष्य प्राप्तिका लागि महत्वपूर्ण योगदान दिइरहेको सामाजिक उद्यमका रुपमा स्वीकारिएको सहकारी अभियानप्रति कुनै एक क्षेत्रलाई फाइदा हुने गरि गरिएको टिप्पणीको भत्र्सना गर्दछौं ।’
स्वरोजगार कोषको पैसा सहकारीमार्फत युवा उद्यमीहरुमा वितरण गर्ने योजनाको विरोधमा बोल्दै समुदाय नै मालिक हुने व्यवसायप्रति दिइएको अभिव्यक्तिले समुदायको उत्थानप्रति गैरजिम्मेवार रहेको स्पष्ट भएकोे जनाइएको छ ।
आर्थिक संकटको समयमा, हालैको विश्वव्यापी कोभिड–१९ को महामारीको समयमा अन्य व्यवसायभन्दा सहकारी व्यवसायले प्रभावकारी रुपमा समुदायलाई सेवा पु¥याएको विभिन्न अध्ययनहरुले देखाएको जनाइएको छ। समुदायको दिर्घकालिन हित र आवश्यकताले सहकारीको जन्म भएको हो ।
यो अन्य व्यापार मोडेलभन्दा फरक छ । सहकारी जोखिम प्रतिरोधी र सामाजिक उत्तरदायित्वप्रति बलियो प्रतिबद्धतासहितको सामाजिक व्यवसाय भएकाले स्वरोजगार कोषलगायतको समुदायको उत्थानका लागि स्थापित सम्पूर्ण कोषहरुको वितरण सहकारीमार्फत गरिनुपर्छ भन्ने नेपालको सहकारी अभियानको जोडदार माग रहेको छ महासंघले जनाएको छ ।
यो पनि पढ्नुहोला ।
विनोद चौधरी भन्छन्, सहकारी चाहिँदैन

Leave a comment