काठमाडौं । सहकारी संस्थाहरूमार्फत वित्तीय कारोबार वृद्धि हुदै जाँदा यसको प्रभावकारी नियमन नभएकाले वित्तीय स्थायित्वमै चूनौति बढेको एक अध्ययन प्रतिवेदनले औल्याएको छ ।
नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको वित्तीय स्थायित्वसम्बन्धी अध्ययन प्रतिवेदनमा सहकारी क्षेत्रको नियमित रूपमा अद्यावधिक तथ्यांक उपलब्ध नहुनु र प्रभावकारी नियमन नहुँदा जोखिम बढिरहेको र यसले समग्र वित्तीय स्थायित्वलाई जोखिममा पार्न सक्ने चेतावनी दिएको छ ।
‘बचत तथा ऋण सहकारीमार्फत वित्तीय कारोबार बढिरहेको छ’ प्रतिवेदनमा भनिएको छ, ‘नियमन नभएको सहकारी क्षेत्रको प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा वित्तीय क्षेत्रसँग सम्बन्ध जोडिएकाले यसबाट सिंगो वित्तीय प्रणालीमै जोखिम छ ।’
सहकारी ऐन अन्र्तगत दर्ता हुने सहकारीलाई सहकारी विभागले नियमन गर्दै आएको छ । संघियतापछि सहकारीको अधिकार स्थानिय तहसम्म पुगेपछि सहकारीको कार्यक्षेत्रका आधारमा तिनवटै सरकारले सहकारीको नियमन गर्ने अधिकार छ ।
तर, अहिलेसम्म सहकारीको नियमन प्रभावकारी हुन सकेको छैन । तर, सहकारीमार्फत हुने वित्तीय कारोबार भने बढिरहेको छ । सहकारीले जथाभावी वित्तीय कारोबार गर्दा सिंगो वित्तीय प्रणालीमा जोखिम ल्याउने विज्ञहरुको चेतावनी छ ।
डेपुटी गभर्नरको अध्यक्षतामा रहने समितिले तयार गरेको प्रतिवेदनमा वित्तीय स्थायित्व कायम गर्नका लागि सहकारीको नियमन प्रभावकारी बनाउनुपर्ने आवश्यक्ता औल्याएको छ । समितिको आमन्त्रित सदस्यका रुपमा सहकारी विभागका रजिष्ट्रार पनि यस समितिको समस्य रहेका थिए ।
राष्ट्र बैंकका अनुसार वित्तीय प्रणालीमा सहकारीको हिस्सा साढे ४ प्रतिशत रहेको छ । वित्तीय प्रणालीमा सबैभन्दा बढि हिस्सा बाणिज्य बैंकहरुको ५४.५ प्रतिशत रहेको छ । त्यसपछि नेपाल राष्ट्र बैंकको १७.६ प्रतिशत, इस्योरेन्स कम्पनीहरुको ५.५, विकास बैंकहरुको ५.१, कर्मचारी संचय कोषको ४.८ प्रतिशत र सहकारीहरुको ४.५ प्रतिशत रहेको छ ।
हाल २७ वटा बाणिज्य बैंक, १७ विकास बैंक, १७ फाइनान्स कम्पनी र ६६ लघुवित्त वित्तीय संस्थाहरु संचालनमा रहेका छन् । यसैगरी सहकारीहरुको संख्या करिव ३० हजार रहेको छ ।
सहकारीमार्फत करिव १० लाखको कारोबार भइरहेको अनुमान छ । तर, सहकारीको अभिलेख नहुँदा वास्तविक तथ्यांक आउन सकेको छैन । सहकारीको तथ्यांक एकीकृत गर्नका लागि संघिय सहकारी विभागले सहकारी तथा गरिवी निवारण सूचना प्रणाली कोपोमिस निर्माण गरेपनि प्रभावकारी हुन सकेको छैन ।
Leave a comment