काठमाडौं । स्थानीय तहको निर्वाचनमा सहकारीकर्मीको पनि उत्साहजनक सहभागिता देखिएको छ । स्थानीय तहको निर्वाचनमा सहकारीकर्मीहरुले आ–आफ्नो पालिकामा मतदान गरेका छन् ।
सहकारी विभागका अनुसार देशभर २९ हजार ८ सय ८६ वटा सहकारी छन् । ती संस्थाले ८८ हजार ३ सय ९ जनालाई रोजगारी दिएका छन् । विभागका अनुसार सबै स्थानीय तहमा सहकारी स्थापना भएका छन् ।
सहकारीमा ७३ लाख ७ हजार ४ सय ६२ जना आबद्ध छन् । केही व्यक्ति एक भन्दा बढी सहकारीमा सदस्य भएका कारण दोहोरिए पनि सहकारीमा आबद्ध हुने व्यक्तिको संख्या भने उल्लेख छ ।
विभागको तथ्यांक अनुसार कुल जनसंख्याको २८ प्रतिशत सहकारीका सदस्य छन् । सहकारीमा पुरुष भन्दा महिलाको संख्या बढी छ।
विभागका अनुसार सहकारीमा ५६ प्रतिशत अर्थात ४० लाख ९२ हजार ३ सय ९५ जना महिला सदस्य छन् । त्यस्तै ४४ प्रतिशत अर्थात ३२ लाख १५ हजार ६८ जना पुरुष सदस्य छन् । सहकारी क्षेत्रमा पुरुषको तुलनामा १२ प्रतिशत बढी महिलाको सहभागिता छ ।
स्थानीय तहको निर्वाचनमा सहकारीकर्मीको मतदान निर्णायक देखिएको छ । सहकारीकर्मीले उत्साहित भएर मतदान गरेसँगै सहकारी बुझेका जनप्रतिनिधि आउने अपेक्षा गरेका छन् ।
कतिपय सहकारीमा पहिचान बनाएका अनुहार पनि स्थानीय तहको उम्मेदवार भएका छन् । शुक्रबार ७ सय ५३ वटा स्थानीय तहमा मतदान हुँदै छ । केही ठाउँमा सामान्य घटना भएपनि निर्वाचन शान्तिपूर्णरुपमा भइरहेको निर्वाचन आयोगले जनाएको छ ।
देश संघीयतामा गएसँगै सर्वसाधारणले सिंहदरबारको अधिकार आफ्नै गाउँसम्म पुगेको अनुभूति गरेका छन् । स्थानीय सरकार सञ्चालन ऐन २०७४ ले पनि सहकारीको दर्ता, नियमनसँगै अन्य २२ वटा अधिकार दिएको छ ।
तर, सहकारीकर्मीले भने स्थानीय तहले सहकारीलाई वेवास्ता गर्दै आएको आरोप लगाउँछन् । सहकारी बुझेको प्रतिनिधि तथा उच्चस्तरका कर्मचारी भएका स्थानीय तहमा रचनात्मक काम भएको उनीहरुको अनुभव छ । तर, अधिकांश स्थानीय तहमा सहकारी वेवास्तामा परेको भन्दै सहकारी अभियान्ताहरु चिन्तित छन् ।
Leave a comment