घरजग्गा कारोबारकै कारण सहकारीमा समस्या बढ्दै 

घरजग्गा कारोबारकै कारण सहकारीमा समस्या बढ्दै  :: Sahakari Akhabar

काठमाडौं । बचत तथा ऋण सहकारी संस्थाहरुले सहकारी ऐन कानुन र विभागको निर्देशन विपरित घरजग्गा कारोबारमा लगानी गरेपछि सहकारीहरु समस्यामा पर्न थालेका छन् । बचत रकम जग्गा प्लटिङ र हाउजिङमा लगानी गरेका संस्थाहरु सदस्यले मागेको बेला बचत फिर्ता गर्न नसक्ने अवस्थामा पुगेको हुन् ।

२ वर्षदेखि सदस्यको निक्षेप फिर्ता गर्न नसकेको पशुपति बचत तथा ऋण सहकारी संस्थाले चितवनको मेघौलीमा ३ सय वटा घडेरी बुकिङका लागि सूचना जारी गरेको छ । यसअघिदेखि नै घरजग्गा कारोबारकै कारण सहकारीले निक्षेप फिर्ता गर्न सकेको छैन । अन्धाधुन्धु तरिकाले घरजग्गा कारोबारमा संलग्न भएसँगै सहकारी धराशायी छ ।

घरजग्गा कारोबारमै लगानी गरेको सिभिल सहकारी समस्याग्रस्त छ । सहकारीको ९० प्रतिशत भन्दा बढी निक्षेप तामाङले आफ्ना कम्पनीमार्फत घरजग्गामै लगाएकाले सहकारी समस्यामा परेको हो । निक्षेप फिर्ता गर्न नसकेका सहकारीका अध्यक्ष केशवलाल श्रेष्ठ र पूर्व अध्यक्ष इच्छाराज तामाङ थुनामा छन् । अरु १० जना साधारण तारेखमा छुटेका छन् ।

८ अर्ब १३ करोड रुपैयाँ कर्जा प्रवाह भएकामा सिभिल ग्रुपका संस्थापक इच्छाराज तामाङका तीनवटा व्यवसायमा ७ खर्बभन्दा बढी लगानी छ ।  अधिकांश रकम रियल स्टेट व्यवसाय, त्यो पनि आफ्नै कम्पनीमा लगानी गर्दा सिभिल धराशायी बनेको हो ।

यसैगरी समस्याग्रस्त भएको ओरेन्टल सहकारीले पनि भक्तपुरको गुन्डुगमा रहेको जग्गा निक्षेपकर्तालाई बिक्री गर्ने भन्दै सूचना जारी गरेको छ । संस्थाले निक्षेप बराबर जग्गा दिन जनाएको छ । ओरेन्टल सहकारीका ७ हजारभन्दा बढी निक्षेपकर्ता पीडित छन् ।

सहकारी ऐनले घरजग्गा कारोबारमा रोक लगाएपनि कमजोर नियमनका कारण सहकारीले घरजग्गामा कारोबार गर्न छोडेका छैनन् । सहकारी विभागका अनुसार ३० हजार सहकारी छन् । त्यसमध्ये आधाभन्दा बढी बचत तथा ऋण सहकारीका छन् । बचतसँगै बहुउद्देश्यीय तथा कृषि नाम जोडिएर गठन भएका सहकारीले पनि वित्तीय कारोबार गरिरहेका छन् ।

यसअघि पनि केहीले घरजग्गा लिन मञ्जुर गरे पनि अनावश्यक भ्यालुएसन गरेर आधा रकम थप्न लगाएर लुटिरहेको सदस्यहरु गुनासो गर्छन् । ललितपुरको गुडविल बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष दिवाकार श्रेष्ठले संस्थाबाट ६० करोड रकम ऋण लिएर घरजग्गामै लगाएका कारण संस्था डुबेको हो । ७० करोड ऋण प्रवाह भएकोमा अध्यक्ष श्रेष्ठले ६० करोड रकम हिनामिना गरेपछि संस्था जोखिममा परेको हो ।

टेक्सटायल उद्योगी श्रेष्ठले सहकारीको हिनामिना गरेसँगै सहकारीले निक्षेपकर्ताको पैसा तिर्न सकेको छैन । २०६५ सालदेखि सञ्चालनमा आएको आनन्दनगर बचत तथा ऋण सहकारी संस्थाका पदाधिकारी पनि घरजग्गामा लगानी गरेका कारण संस्था धराशायी भएको हो ।

घरजग्गाकै लागि धितो नराखी ३ करोडसम्म ऋण प्रवाह गरेको देखिएको छ । ऋण लगानी गर्दा सानोदेखि ठूलो रकम बिनाधितोका साथै पदाधिकारीले नै मनोमानी ढंगले जग्गा, जमिनमा लगानी गरेका कारण संस्था डुबेको हो ।  संस्थाका सञ्चालक तथा सदस्यले चितवन, तनहुँ, काभ्रेमा समेत घरजग्गा कारोबार गरेको भेटिएको थियो ।

ओरेन्टल,  सिभिल, गुडविल, आनन्दनगर, पशुपति त उदाहरण मात्र हुन् । सहरी क्षेत्रका अधिकांश सहकारी आफैं मात्र नभई सदस्यलाई घरजग्गाकै लागि जथाभावी लगानी गरेकाकारण तरलता संकट हुँदा सस्थाहरु बचत फिर्ता गर्न नसक्ने अवस्थामा पुगेका छन् ।

सहकारी ऐनले घरजग्गा कारोबारमा रोक लगाएपनि कमजोर नियमनका कारण सहकारीले घरजग्गामा कारोबार गर्न छोडेका छैनन् । सहकारी विभागका अनुसार ३० हजार सहकारी छन् । त्यसमध्ये आधाभन्दा बढी बचत तथा ऋण सहकारीका छन् । बचतसँगै बहुउद्देश्यीय तथा कृषि नाम जोडिएर गठन भएका सहकारीले पनि वित्तीय कारोबार गरिरहेका छन् ।

यो पनि पढ्नुहोला

सहकारीमा चरम बेथिति : संकटमा सदस्य



Leave a comment