सहकारीमा चरम बेथिति : संकटमा सदस्य

सहकारीमा चरम बेथिति : संकटमा सदस्य :: Sahakari Akhabar

जिल्ला बचत तथा ऋण सहकारी सङ्घ ललितपुरका अध्यक्ष रामहरि बजगाईँले गुड विल सहकारीको समस्या समाधान गर्न जिल्ला सङ्घले पहल थालेको बताए । समस्या समाधान गर्न निक्षेपकर्ताको तर्फबाट कार्यदल गठन गरिएको छ । फरार रहेका अध्यक्षलाई ७ दिन लगाएर खोज्ने र नभेटिएपछि प्रहरीमार्फत खोज्ने सहमति भएको अध्यक्ष बजगाईँले बताए । बिहीबारदेखि सञ्चालक र बचतकर्ता कार्यालयमा उपस्थित भएर समस्या समाधान गर्ने सहमति भएको बजगाईँले जानकारी दिए ।

काठमाडौँ । पछिल्लो समय सहकारी क्षेत्रमा चरम बेथिति देखिन थालेको छ । सहकारीबाट सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गर्ने र सर्वसाधारण ठगिने क्रम बढेको छ ।

केही दिन यता झन्डै एक दर्जन सहकारीले सदस्यलाई ठगेको घटना बाहिर आएका छन् । सञ्चालकले मनोमानी ढङ्गले रकम चलाउने गर्नाले सहकारीमा समस्या बढ्दै गएको छ । जसले गर्दा एक पछि अर्को संस्थामा समस्या देखिन थालेको छ ।

सहकारी विभागले देशभरका १ सय २५ सहकारीको मात्रै नियमन गर्छ । देशभर ३० हजार सहकारी छन् । अधिकांश सहकारी स्थानीय तह र प्रदेशको मातहतमा छन् । सहकारीमा बलियो नियमन हुन नसक्दा सर्वसाधारण ठगिने क्रम बढेको छ ।

नियामक निकायले सहकारीको प्रभावकारी अनुगमन गर्न सकेका छैनन् । विभागले सहकारीको विकृति हटाउन नियमनमा कडाइ गरेको दाबी गरे पनि वास्तविक रूपमा नियमन हुन सकेको छैन ।

जसले गर्दा सीमित सञ्चालकले मनोमानी गर्दै आएका छन् । अधिकांश सहकारीले सहकारीका मूल्य मान्यता र अन्तर्राष्ट्रिय सिद्धान्तको प्रयोग र पालना नगरी आफूखुसी कारोबार गर्दा सहकारीमा जोखिम बढ्दै गएको हो ।

पछिल्लो समय धुम्बाराहीमा रहेको आनन्द नगर बचत तथा ऋण सहकारी संस्था, कुमारीपाटी स्थित गुड विल बचत तथा ऋण सहकारी संस्था, ललितपुरको पशुपति सेभिङ एण्ड क्रेडिट कोअपरेटिभ धराशायी अवस्थामा छन् । त्यस्तै सिभिल सहकारी केही वर्षअघिदेखि नै धराशायी अवस्थामा छ ।

पशुपति सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ लिमिटेड जथाभाबी घरजग्गामा लगानी गर्दा धराशायी भएको छ । सहकारीका सञ्चालकले कानुन विपरीत जथाभाबी घरजग्गामा लगानी गर्दा संस्था सङ्कटमा परेको हो । सदस्यले लामो समयदेखि निक्षेप फिर्ता पाउन सकेका छैनन् । ८ हजार १ सय ४६ जना सदस्यले १ अर्ब ८३ करोड ३९ लाख ६३ हजार रुपैयाँ फिर्ता पाउन सकेका छैनन् । त्यसमध्ये एक लाखसमेत नपाउनेको सङ्ख्या झन्डै ५ हजार सदस्य छन् ।

बैङ्क तथा वित्तीय संस्थाको नेपाल राष्ट्र बैङ्कले नियमन गर्छ । कुनै समस्या देखिए राष्ट्र बैङ्कले व्यवस्थापन तत्काल हातमा लिएर समस्या सल्टाउने गर्छ । तर सहकारीमा वर्षादेखिको समस्या सल्टिएको छैन । सरकारले समस्याग्रस्त व्यवस्थापन समिति गठन गरी सहकारीका समस्या समाधान गर्ने प्रयास गरे पनि उपलब्धिविहीन भएको छ ।

२०७१ को गौरीबहादुर कार्की आयोगका अनुसार १ सय ५२ वटा सहकारी समस्यामा थिए । त्यसमध्ये सरकारले १२ वटा सहकारी समस्याग्रस्त घोषणा गरे पनि समस्या सल्टाउन सकेको छैन ।

ओरेण्टल सहकारीका पक्षमा सर्वोच्चले अनौठो फैसला गरेपछि समितिले त्यस कामबाट हात झिकेको छ । समस्या घोषणा गरिएका अन्य ११ वटा संस्थाको समस्या समाधान गर्न समिति तथा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय उदासीन देखिएको छ

सहकारीमा धेरै विचलन देखिएको विभागका कर्मचारी स्विकार्छन् । तर सहकारीका विकृति हटाउन नयाँ कदम चाल्न सकेको देखिँदैन । समयमा नियमन गर्न नसकेकाले सहकारीमा समस्या बढ्दै गएको सहकारी विभागले स्वीकार गरिसकेको छ ।

सहकारी विभागका अनुसार सहकारीले मनोमानी ढङ्गले कार्यक्षेत्र बाहिर कारोबार गर्ने गरेका छन् । सहकारीले घरजग्गा तथा हाउजिङ्गमा लगानी गर्दा सहकारी समस्यामा परेका छन् ।

घरजग्गा तथा हाउजिङमा अन्धाधुन्ध लगानी गरेका कारण ओरेन्टल सहकारी समस्याग्रस्त घोषित छ । सिभिल र पशुपति पनि अन्धाधुन्ध घरजग्गामा कारोबार गरेका कारण टाट पल्टिएका हुन् ।

सहकारीको अनियमितता हटाउन सरकारको ध्यान गएको छैन । सहकारीले अपारदर्शी कारोबार गर्दै आएको पाइएको छ । सफ्टवेयरमा एकरूपता नहुँदा समेत सहकारीले चलखेल गर्ने मौका पाएका छन् ।

त्यसो त २०६८ सालमा बनेको एक कार्यदलले सहकारी विभागको संरचनाले सहकारीको अनुगमन गर्न नसक्ने भन्दै छुट्टै संरचना बनाउन सुझाव दिएको थियो । विभागको क्षमता बढाएर तत्काल अनुगमन प्रभावकारी बनाउन सकिने सुझाव दिइए पनि विभागको क्षमता बढाउन सरकारले ध्यान दिएन ।

विभागमा कार्यरत ३६ जना भन्दा बढी कर्मचारीमध्ये पनि अधिकांश हाजिर लगाएर चिया खाएर मात्रै घर फर्किने गरेको आरोप छ । विभागमा दक्ष कर्मचारी नहुँदा सहकारीमा समस्या ज्यूका त्यूँ छन् । विभागमा चार्टर्ड एकाउन्टेन्ट नहुँदा अलि अलि हुने अनुगमन पनि फितलो हुने गरेको हो ।

सिभिल सेभिङ एन्ड क्रेडिट कोअपरेटिभ जोखिममा पुग्नुको मुख्य कारण आफैँ साहु र आफैँ ऋणी भएर हो । सिभिल सहकारीले सिभिल समूहकै संस्थापकका परियोजनामा कुल कर्जाको ९० प्रतिशत प्रतिशतभन्दा बढी लगानी गरेका कारण जोखिममा परेको छ । आठ अर्ब १३ करोड रुपैयाँ कर्जा प्रवाह मध्ये सिभिल ग्रुपका संस्थापक इच्छाराज तामाङको तीन वटा व्यवसायमा ७ खर्ब भन्दा बढी रकम लगानी भएको छ । अधिकांश रकम रियल स्टेट व्यवसाय, त्यो पनि आफ्नै कम्पनीमा लगानी गर्दा धराशायी बनेको हो ।

सहकारी ऐन २०४८ मा बदमास गर्ने सहकारीलाई खासै कारबाहीको व्यवस्था थिएन । २०७४ मा जारी गरिएको सहकारी ऐन र २०७५ जारी गरिएको सहकारी नियमावलीले बदमासी गर्ने सहकारीलाई हदैसम्मको कार बाईँको व्यवस्था गरे पनि कार्यान्वयन हुन सकेको छैन । ऐनमा दण्ड र जरिवानाको स्पष्ट व्यवस्था गरिएपनि त्यस्ता बदमास गर्ने सहकारीका सञ्चालकलाई कारबाही हुन सकेको छैन ।

विभागको अनुगमनका क्रममा सहकारीले कार्यक्षेत्र विस्तार र बचत सङ्कलनमा होडबाजी गर्ने, सीमित सदस्य अ सीमित कारोबार गर्ने गरेको पाइएको छ । ठुला संस्थाबाट सर्वसाधारणको बिचल्ली हुने गरेको छ । ग्रामीण क्षेत्र भन्दा शहरी क्षेत्रमा सहकारीको विकृति बढी छ ।

सहकारीले संस्था डुबाइ सञ्चालक फरार हुने, लोभलाग्दो, अपत्यारिलो ब्याजदर निर्धारण गर्ने,उपहार कार्यक्रम राखी भड्किलो विज्ञापन गर्ने, समयमा लेखा परीक्षण, साधारण सभा नगर्ने, राजनीतिक रंगबाट सहकारीलाई दूषित पार्न काम भइरहेको जानकारहरू बताउँछन्

सहकारीले संस्थापक सदस्य र गैर संस्थापक सदस्य भन्दै विभेद गर्छन् । सबै सदस्यको समान हैसियत भए पनि सहकारीले सदस्यको अनधिकृत वर्गीकरण गर्दै विभेद गर्दै आएका छन् । 

आफै साहु, आफैँ ऋणी : ८ अर्ब जोखिम 

सिभिल सेभिङ एन्ड क्रेडिट कोअपरेटिभ जोखिममा पुग्नुको मुख्य कारण आफैँ साहु र आफैँ ऋणी भएर हो । सिभिल सहकारीले सिभिल समूहकै संस्थापकका परियोजनामा कुल कर्जाको ९० प्रतिशत प्रतिशतभन्दा बढी लगानी गरेका कारण जोखिममा परेको छ ।

आठ अर्ब १३ करोड रुपैयाँ कर्जा प्रवाह मध्ये सिभिल ग्रुपका संस्थापक इच्छाराज तामाङको तीन वटा व्यवसायमा ७ खर्ब भन्दा बढी रकम लगानी भएको छ । अधिकांश रकम रियल स्टेट व्यवसाय, त्यो पनि आफ्नै कम्पनीमा लगानी गर्दा धराशायी बनेको हो ।

सिभिलले सर्वसाधारणको निक्षेप बटुलेर आफ्नो व्यापारमा अर्बौँ प्रयोग गर्दा निक्षेपकर्ताले लामो समयदेखि पैसा फिर्ता पाउन सकेका छैनन् । यस सहकारीका दुई हजार ७ सय सदस्य छन् ।

सहकारी ऐन २०७४ मा कम्पनी ऐनबमोजिम मुनाफा आर्जन गर्ने उद्देश्यले स्थापित कम्पनीहरू सहकारीको सदस्य हुन नपाउने व्यवस्था छ । सदस्य नै हुन नसक्ने कम्पनीलाई ऋण प्रवाह गरेकामा सदस्यहरू रुष्ट छन् ।

सिभिल ग्रुपका अध्यक्ष तामाङले आफू सहकारी संस्थाको अध्यक्ष भएकै बेला रियल स्टेटमा कर्जा दुरुपयोग गरेका हुन् । विगत केही वर्षदेखि समस्यामा रहेको सिभिल अझै तङ्ग्रिन सकेको छैन । 

आनन्द नगर सहकारीको ५० करोड जोखिम

२०६५ सालदेखि सञ्चालनमा रहेको आनन्द नगर बचत तथा ऋण सहकारी संस्थाले ५० करोड रुपैयाँ अपचलन गरेको छ । सञ्चालक तथा कर्मचारीको मिलेमतोमा निक्षेप डुबाइएको बताइएको छ । ९ सय ९९ सदस्यमध्ये ६ सय ७९ जना पीडित छन् ।

यस संस्थाले केही दिनअघि एक दैनिक पत्रिकामा एकै चोटी २ सय ६८ जना ऋणीको धितो लिलामी गर्ने सूचना प्रकाशित गरेको थियो ।निक्षेपकर्ताले गत वर्ष २०७६ देखि बचत फिर्ता पाएका छैनन् । धितोबिना करोडौँ रकम ऋण दिइएको पाइएको छ । सहकारीको कार्य क्षेत्र भन्दा बाहिरकालाई पटक पटक ऋण प्रवाह गरिएको छ ।

सञ्चालक, व्यवस्थापनले सहकारीको रकम अपचलन गरी मनोमानी ढङ्गले चलाएका कारण थप समस्या आएको स्रोतको भनाइ छ । यस संस्थाबाट ठगिनेमा पूर्व उप राष्ट्रपति परमानन्द  झा, पूर्व सचिव श्यामप्रसाद मैनालीलगायत छन् ।

जथाभाबी घरजग्गामा लगानी गर्दा डुब्यो पशुपति

पशुपति सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ लिमिटेड जथाभाबी घरजग्गामा लगानी गर्दा धराशायी भएको छ । सहकारीका सञ्चालकले कानुन विपरीत जथाभाबी घरजग्गामा लगानी गर्दा संस्था सङ्कटमा परेको हो ।

सदस्यले लामो समयदेखि निक्षेप फिर्ता पाउन सकेका छैनन् । ८ हजार १ सय ४६ जना सदस्यले १ अर्ब ८३ करोड ३९ लाख ६३ हजार रुपैयाँ फिर्ता पाउन सकेका छैनन् । त्यसमध्ये एक लाखसमेत नपाउनेको सङ्ख्या झन्डै ५ हजार सदस्य छन् ।

गुड विलका अध्यक्ष फरार, संस्था बन्द

ललितपुरको गुड विल बचत तथा ऋण सहकारी संस्थाका सञ्चालक फरार भएका छन् । संस्था फागुन ९ गतेदेखि बन्द छ । अध्यक्ष दिवाकार श्रेष्ठ एक हप्तादेखि सम्पर्क बाहिर छन् ।

उनका ५ वटा फोन नम्बर रहेकामा सबै नम्बरमा सम्पर्क गर्दा पनि सम्पर्क हुन नसकेको पीडित सदस्यहरू बताउँछन् । ७० करोड ऋण प्रवाह भएकोमा अध्यक्ष श्रेष्ठले ६० करोड रकम चलाएका छन् । निक्षेपकर्ताको करिब ८० करोड निक्षेप जोखिममा परेको छ ।

जिल्ला बचत तथा ऋण सहकारी सङ्घ ललितपुरका अध्यक्ष रामहरि बजगाईँले गुड विल सहकारीको समस्या समाधान गर्न जिल्ला सङ्घले पहल थालेको बताए । समस्या समाधान गर्न निक्षेपकर्ताको तर्फबाट कार्यदल गठन गरिएको छ ।

फरार रहेका अध्यक्षलाई ७ दिन लगाएर खोज्ने र नभेटिएपछि प्रहरीमार्फत खोज्ने सहमति भएको अध्यक्ष बजगाईँले बताए । बिहीबारदेखि सञ्चालक र बचतकर्ता कार्यालयमा उपस्थित भएर समस्या समाधान गर्ने सहमति भएको बजगाईँले जानकारी दिए ।



Leave a comment