काठमाडौं । सहकारी विभागले घोषणा गरेको एकीकृत निर्देशन संसोधन अन्योलमा परेको छ । रजिष्ट्रामा रुद्रप्रसाद पण्डित आएलगत्तै फागुन १ गते जारी गरेको निर्देशन संसोधन गर्ने बताएपनि २ महिना बितिसक्दा पनि संशोधनको विषयमा टुङ्गो लागेको छैन । संसोधन अघि बढाएपछि निर्देशन कार्यान्वयन पनि हुन सकेको छैन ।
विभागले सुझाव संकलन गरी मस्यौदा तयार गर्नका लागि उपरजिष्ट्रार टोलराज उपाध्यायको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गर्नुका साथै सुझाव समेत माग गरेको थियो । तर अहिलेसम्म समितिले यसलाई अन्तिम रुप दिन सकेको छैन ।
उपरजिष्ट्रार खिमानन्द आचार्यले सुझावका आधारमा कार्यदलमा छलफल भइरहेको जानकारी दिए । ‘चैत्रमै ल्याउनुपर्ने थियो, तर राष्ट्रिय सहकारी दिवसको अलमलले ल्याउन सकिएन’ उनले भने ।
रजिष्ट्रारसँग छलफल गरी छिट्टै अन्तिम टुंगोमा पुग्ने र त्यसपछि मन्त्रालयबाट पनि स्वीकृति लिई निर्देशन जारी गर्ने उनले जानकारी दिए।अघिल्ला रजिष्ट्रार झलकराम अधिकारीले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयबाट स्वीकृति नलिई हतार हतारमा निर्देशन जारी गरेकाले सम्बोधन गर्नुपरेकोे अधिकारीले बताउँदै आएका छन् ।
रजिष्ट्रार पण्डितले नेपाल सहकारी पत्रकार समाज (सिजेएन) ले आयोजना गरेको कार्यक्रममा बोल्दै सरोकारवालाहरुको सुझावका आधारमा मन्त्रालयबाट स्वीकृती लिई परिमार्जन गरिने बताएका थिए ।
तर, एकीकृत निर्देशन कहिले आउने अझै टुंगो छैन । देश निर्वाचनमय भइसकेको छ । सुझाव संकलनको जिम्मेवारी पाएका उपरजिष्ट्रार उपाध्याय तत्कालनका लागि विभागको जिम्मेवारी छोडेर निर्वाचनका काममा खटिसकेका छन् । अन्य केही कर्मचारी पनि निर्वाचनको जिम्मेवारीमा जान लागेका छन् ।
उपरजिष्ट्रार आचार्य भने निर्देशनका लागि छलफल भइरहेको जानकारी दिए । ‘सहकारी दिवसको कारण केही ढिलाइ भयो, आएका सबै सुझाव हामीले हेरिसकेका छौं’ उनले भने ।
विभागमा मस्यौदा तयार भएपछि मन्त्रीबाट स्वीकृति लिएर जारी हुने उनले बताए । ‘हाम्रो हेराइबाट सकिएको छ, अब रजिष्ट्रारले अन्तिम रुप दिनुहुनेछ’ उनले भने । विभागले पूर्व रजिष्ट्रार, सहकारीका विभिन्न संघसंस्थालाई सुझाव दिन पत्राचार गरेको थियो ।
Leave a comment