ब्याजदर वृद्धिले पनि सहकारीमा तरलता बढेन, नयाँ कर्जा दिन नसक्ने अवस्था 

ब्याजदर वृद्धिले पनि सहकारीमा तरलता बढेन, नयाँ कर्जा दिन नसक्ने अवस्था  :: Sahakari Akhabar

काठमाडौं । सरकारले सन्दर्भ व्याजदर वृद्धि गरेपनि सहकारीमा लगानीयोग्य रकम (तरलता) भने बृद्धि हुन सकेको छैन । सन्दर्भ ब्याजदर वृद्धि भएको तीन साता वितीसक्दा पनि सहकारीका प्रारम्भिक संस्था, संघ तथा बैंकमा निक्षेप नथपिएपछि नयाँ कर्जा लगानी हुन सकेको छैन ।

बैंकहरुमा ब्याजदर बढेको भन्दै फागुन १५ गतेदेखि सहकारीको पनि सन्दर्भ व्याजदर १४.७५ प्रतिशतबाट १६ प्रतिशत पुर्याइएको छ । यसपछि प्रारम्भिक संस्थाहरूमा केहि सहज भएपनि सहकारी बैंक र वित्तीय कारोबार गर्ने संघहरुमा भने तरलता बढ्न सकेको छैन । तरलता नभएपछि संघ तथा बैंकले प्रारम्भिक संस्थाहरुलाई ऋण दिन सकेका छैनन् ।

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्सकून) का प्रमुख कार्यकारी अधिकृत प्रकाश प्रसाद पोखरेलल सन्दर्भ ब्याजदर वृद्धिलगत्तै निक्षेप बढेपछि फेरी घटेको र नयाँ ऋण दिन सक्ने अवस्था नभएको बताए । ‘तरलता खासै बढ्न सकेको छैन, ऋणको फाइल रोकेका छौं’ उनले भने ।

ललितपुर बचत तथा ऋण सहकारी संघका व्यवस्थापन सन्तोष बजगाईले प्रारम्भिक संस्थामै बचत वृद्धि नभएकाले संघहरुमा नयाँ निक्षेप नआएको बताउछन् । ‘सन्दर्भ व्याजदर बढेपनि प्रारम्भिक संस्थामै बचत आएको छैन’ उनले भने, ‘त्यसैले संघमा पनि बढेको छैन ।’

अत्यावश्यक परेको अवस्थामा संस्थाहरुलाई सानो ऋणहरुमा प्रवाह भइरहेको उनले जानकारी दिए । बैंक तथा वित्तीय संस्थाहरुले कर्जा प्रवाह गर्न नसकेकाले बजारमा पैसा अभाव भएको र त्यसले सहकारीमा दैनिक बचत संकलन समेत घटिरहेको उनले बताए ।

बजारमा ऋणको माग उच्च भएपछि प्रारम्भिक संस्थाहरुले संघ तथा सहकारी बैंकमा बचत गर्न छोडेका छन् । सदस्यहरुबाटै कर्जाको माग भइरहेकाले उनीहरुले पनि लगानीमै जोड दिएका न् । संस्थाहरुले तरलता व्यवस्थापनका लागि अनिवार्य रुपमा राख्नुपर्ने रकम समेत सबै सहकारीको नेटवर्क भित्र राखेका छैनन् ।

सहकारी अभियानलाई राम्रोसँग बुझेका संस्थाहरुले मात्र तरलता व्यवस्था वापतको रकम सहकारी नेटवर्कमा राखेको नेफ्सकूनका सिइओ पोखरेलले बताए । सहकारीहरुले आफ्नो कुल १०—१५ प्रतिशत रकम तरलताको रुपमा राख्नुपर्ने प्रावधान छ ।

विभागले जारी गरेको निर्देशनमा समेत १० प्रतिशत भन्दा कम तरलता भएको अवस्था व्यवस्थापकले संचालक समितिलाई जानकारी दिनुपर्ने र तरलता व्यवस्थापनको योजना बनाई लागू गर्नुपर्ने भनेको छ । यसैगरी तोकिएको भन्दा कम तरलता रहेको संस्थाले नाफाबाट लाभांस बाड्न समेत रोक लगाइएको छ ।



Leave a comment