विवादपछि कृषि सहकारी संघ ललितपुरको साधारणसभा स्थगित

विवादपछि कृषि सहकारी संघ ललितपुरको साधारणसभा स्थगित :: Sahakari Akhabar

काठमाडौं । जिल्ला कृषि सहकारी संघ ललितपुरको साधारणसभाका विषयमा संचालकहरुबिच नै विवाद भएपछि स्थगित भएको छ । साधारणको अघिल्लो दिन बरिष्ठ उपाध्यक्ष सहित ८ संचालक र लेखा समिति संयोजक गरी ९ जनाले साधारणसभा स्थगित गर्न उजुरी दिएपछि शुक्रबारका लागि तय गरिएको कार्यक्रम स्थगित गरिएको हो । संघका सचिव पुरुषोतम् हुमागाईले विहिबारकै मितिमा पत्र पठाउदै साधारणसभा स्थगित गरिएको जानकारी दिएका छन् ।

सचिव हुमागाईद्धारा जारी पत्रमा भनिएको छ–‘कृषि सहकारी संघ ललितपुरको एकिकरणपछिको प्रथम वार्षिक साधारणसभा फागुन ६ गते बोलाइएको भएपनि संचालक समिति ७ जनासहित लेखासमिति संयोजकज्यूले कार्यालयमा पत्र दर्ता गराउनु भएकोले उहाँहरुको भावानाको उच्च कदर गर्दै अर्को सूचना प्रकाशित नभएसम्मका लागि साधारणसभा स्थगित गरिएको छ ।’

वाग्मती प्रदेशको सहकारी नियमावली र एकिकरण कार्यविधि अनुसार एकिकरण पछि संस्थाको संचालक समितिलाई तदर्थ समिति मानेर प्रारम्भिक साधारणसभा गर्नुपर्ने भएपनि अध्यक्ष ओमदेवी मल्लले निर्वाचनको कार्यक्रम नराखी वार्षिक साधारणसभा गर्न लागेकी थिइन् । संचालकहरुले निर्वाचन सहितको प्रारम्भिक साधारणसभा गर्न तथा वाग्मती प्रदेश रजिष्टार कार्यालयमा उजुरी दिनुका साथै संघमा समेत निवेदन दिएका थिए ।

उजुरी दिनेमा निवेदकमा लेखा सुपरिवेक्षण समिति संयोजक बद्री घिमिरे र वरिष्ठ उपाध्यक्ष दिल नापितका साथै संचालकहरु लक्ष्मी कार्की, कृष्ण प्रसाद सञ्जेल, गंगालाल डंगोल, रमेश दहाल, काशीनाथ सापकोटा, सरद राना मगर, ज्ञान बहादुर लो रहेका छन् ।

तोकिएको साधारणसभा स्थगित भएपछि अब संचालक समितिमा छलफल गरेर अघि बढ्ने उजुरी दिनेहरुमध्ये एक उपाध्यक्ष दिल नापितले सहकारी अखबारसँग बताए । “आजको लागि डाकिएको साधारणसभा स्थगित भएको जानकारी आएको छ” उनले भने, “अब संचालक समितिको बैठक बसेर निर्वाचन सहितको प्रारम्भिक साधारणभा बोलाउनुपर्छ ।”

२०७८ असार ६ गते ललितपुर च्याउ उत्पादन सहकारी संघसँग कृषि संघको एकिकरण भएको थियो । एकिकरणपछि बनेको संघमा पनि कृषि संघकी अध्यक्ष रहेकी मल्ल एकिकृत संघको समेत अध्यक्ष बनेकी थिइन् । मल्ल राष्ट्रिय सहकारी महासंकी वरिष्ठ उपाध्यक्ष समेत हुन् ।
 

यो पनि पढ्नुहोला

कृषि सहकारी संघको साधारणसभा स्थगित गर्न उजुरी



Leave a comment