कृषि सहकारी संघको साधारणसभा स्थगित गर्न उजुरी 

कृषि सहकारी संघको साधारणसभा स्थगित गर्न उजुरी  :: Sahakari Akhabar

निर्वाचनसहितको साधारणसभा गनुपर्ने माग

काठमाडौं । जिल्ला कृषि सहकारी संघ ललितपुरको साधारणसभाको अघिल्लो दिन संचालकहरुले नै स्थगित गर्न उजुरी गरेका छन् । उनीहरुले निर्वाचनसहितको साधारणसभा गर्न माग गर्दै विहिबार वाग्मती प्रदेश  भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयमा उजुरी गरेका हुन् ।

संघको साधारणसभा शुक्रबारका लागि तय गरिएको छ ।

प्रदेशको सहकारी नियमावलीको नियम २१(४) को उप नियम ३ (छ) तथा एकिकरण कार्यविधिमा संघसंस्था एकिकरण हुदाँ बनेको संचालक समिति तदर्थ समिति हुने र ६ महिनाभित्र संचालक समितिको निर्वाचन गर्नुपर्ने प्रावधान छ ।

तर अध्यक्ष ओमदेवी मल्लले निर्वाचनको कार्यक्रम नराखी साधारणसभा गर्न लागेको भन्दै बरिष्ठ उपाध्यक्ष सहित ८ संचालक र लेखा समिति संयोजक गरी ९ जनाले साधारणसभा स्थगित गर्न उजुरी दिएका हुन् । यसैगरी निर्वाचन सहितको साधारणसभा गर्न उनीहरुले संघमा समेत  निवेदन दिएका छन् ।

उजुरी दिने निवेदकमा लेखा सुपरिवेक्षण समिति संयोजक बद्री घिमिरे र वरिष्ठ उपाध्यक्ष दिल नापितका साथै संचालकहरु लक्ष्मी कार्की, कृष्ण प्रसाद सञ्जेल, गंगालाल डंगोल, रमेश दहाल, काशीनाथ सापकोटा, सरद राना मगर, ज्ञान बहादुर लो रहेका छन् ।

संघको संचालक समितिको बैठकमै निर्वाचन सहितको साधारणसभा बोलाउन माग गरेपनि अध्यक्ष मल्लले अटेर गरेकाले साधारणभा रोक्न उजुरी गरिएको उपाध्यक्ष नापितले जानकारी दिए।

“हामीले निर्वाचन सहितको कार्यक्रम राख्न माग गरेका थियौं” उनले भने, “अध्यक्षज्यूले जस जसलाई इच्छा लाग्छ छोडेर गए हुन्छ भन्नुभयो ।” साधारण सभामा प्रस्तुत हुने प्रतिवेदन, नीति तथा कार्यक्रमहरु संचालक समितिमा छलफल तथा निर्णय नै नभएको र अधिकांश सदस्यहरुलाई साधारणसभाबारे जानकारी समेत नदिएको उनले दावी गरे ।

२०७८ असार ६ गते ललितपुर च्याउ उत्पादन सहकारी संघसँग कृषि संघको एकिकरण भएको थियो । एकिकरणपछि बनेको संघमा पनि कृषि संघकी अध्यक्ष रहेकी मल्ल अध्यक्ष बनेकी थिइन्। मल्ल राष्ट्रिय सहकारी महासंकी बरिष्ठ उपाध्यक्ष समेत हुन् ।



Leave a comment