काठमाडौं । सहकारीको सन्दर्भ व्याजदर सिफारीस गर्नका लागि गठित प्राविधिक उपसमितिको बैठक दिउसो एक बजे बस्ने भएको छ । सहकारी विभागका उपरजिष्ट्रार टोलराज उपाध्यायको संयोजकत्वमा गठित उपसमितिले ब्याजको समग्र पक्षको छलफल गरी विश्लेषण गरी समितिलाई सिफारीस गर्नेछ ।
उपरजिष्ट्रार उपाध्यायले अहिलेको बजारको ब्याजदरको तथ्यांक लिएर आउन अनुरोध गरिएको जानकारी दिए । ‘सबैलाई बजारको ब्याजको वास्तविक अवस्थाको तथ्यांक लिएर आउन भनेका छौं’ उनले भने, ‘छलफल र विश्लेषण गरी निचोडमा पुग्ने छौं ।’
उपसमितिमा राष्ट्रिय सहकारी महासंघकी महाप्रवन्धक चित्रा कुमारी सुव्वा, राष्ट्रिय सहकारी बैंकका प्रमुख कार्यकारी अधिकृत बद्री कुमार गुरागाईँ, नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) का प्रमुख कार्यकारी अधिकृत प्रकाशप्रसाद पोखरेलका साथै अर्थ मन्त्रालय, नेपाल राष्ट्र बैंकका प्रतिनिधिलाई सदस्य तोकिएको छ ।
बुधबार उपसमितिको बैठकमा रजिष्ट्रार रुद्रप्रसाद पण्डित समेत सहभागि हुने विभागले जनाएको छ । बैंक तथा वित्तीय संस्थाहरुले फागुन १ गतेदेखि निक्षेपको व्याज बढाएपछिसहकारीको सन्दर्भ ब्याजदर पुनरावलोकन गर्न दवाव बढेको छ ।
महासंघले मंगलबार विभागका रजिष्ट्रारलाई ज्ञापनपत्र बुझाउँदै तीन दिनभित्र निचोडमा पुग्न अल्टीमेटम दिएको छ । महासंघले सन्दर्भ ब्याजदर १७ प्रतिशत नबढ्ने गरी आधारदरमा ६ प्रतिशतसम्म प्रिमियम लिन पाउने व्यवस्था कार्यान्वयन गर्न सुझाव दिएको छ । उक्त सुझाव महासंघले अर्थमन्त्री जनार्दन शर्मा, सहकारी मन्त्री शशी श्रेष्ठलाई समेत बुझाएको छ ।
Leave a comment