सहकारी सचिवमा थपलिया

सहकारी सचिवमा थपलिया :: Sahakari Akhabar

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको सचिवमा रामप्रसाद थपलिया आएका छन् ।  मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा कार्यरत सचिव थपलियालाई सहकारी मन्त्रालयको सचिवको जिम्मेवारी दिएको हो । 

सहकारीसँगै भूमि र गरिबी निवारणको काम उक्त मन्त्रालयबाट हुँदै आएको छ । सहकारी र गरिबी निवारण भन्दा भूमिले नै उच्च प्राथमिकता पाउँदै आएको छ । देशभर ३० हजार सहकारी छन् । ती सहकारीको नियमन मन्त्रालयले सहकारी विभागमार्फत गर्दै आइरहेको छ ।

संघीयताअघि देशभर ३८ वटा डिभिजन कार्यालय रहेपनि अहिले केन्द्रमा सहकारी विभाग  र केन्द्रिय सहकारी प्रशिक्षण केन्द्र मात्रै छ । सहकारी विभागसँगै प्रदेश र स्थानीय तहले सहकारीको नियमन गर्दै आएका छन् । विभागले अन्य निकायसँग समन्वय गरी नियमन प्रभावकारी बनाउँदै आएको छ । 

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव गणेशप्रसाद पाण्डेलाई उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा सरुवा गरिएको छ । त्यहाँ उनले वाणिज्य सचिवमा कार्य गर्नेछन् । वाणिज्य सचिव दिनेश भट्टराईलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सरुवा गरिएको छ । उनलाई त्यहाँ अतिरिक्तमा तानिएको हो । 

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको अतिरिक्तमा रहेका मधुसूदन बुर्लाकोटीलाई सार्वजनिक खरिद अनुगमन कार्यालय पठाइएको छ । सार्वजनिक खरिदकी देव कुमारी गुरागाईँलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी दिइएको छ । 

सरकारले शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय(प्रविधि)सचिव सुरेश आचार्यलाई खानेपानी मन्त्रालयमा सरुवा गरेको छ भने खानेपानीकी प्रमीला देवी बज्राचार्यलाई शिक्षा, विज्ञान प्रविधि मन्त्रालयमा सरुवा गरिएको छ । केही समय अघि प्रधानमन्त्री कार्यालय पुगेकी यमकुमारी खतिवडाको स्वास्थ्य मन्त्रालयमा गरिएको काज फिर्ता गर्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्कै कार्यालयमै राखिएको छ ।



Leave a comment