कठमाडौं । राष्ट्रिय सहकारी विकास बोर्डको भाखा नाघेको ऋण ६३.०२ प्रतिशत रहेको पाइएको छ । महालेखापरीक्षकको ५८ औं वार्षिक प्रतिवेदनले गत वर्षसम्म ८ करोड १६ लाख ६५ हजार ऋण लगानी रहेकोमा यो वर्ष १ करोड ७२ लाख ७१ हजारले वृद्धि भई ८ करोड ८९ लाख ३६ हजार पुगेको छ ।
उल्लेखित ऋणमध्ये वर्षान्तमा बुझाउनुपर्ने ऋण किस्ता ६ करोड २३ लाख रहेकोमा भाखा नाघेको ऋण ६३ प्रतिशत बढी रहेको पाइएको हो । कर्जा लगानीसम्बन्धी नीति निर्माणका लागि एक उपसमिति गठन भएकोमा कुनै कार्य नभएको प्रतिवेदनमा जनाइएको छ ।
धितो मूल्यांकन विधि तयार गरी प्रवाह भएका ऋणहरुको धितो सुरक्षण पुनः मूल्यांकन गरी नपुग धितो सम्बन्धमा थप सुरक्षण लिनु आवश्यक देखिए पनि त्यसो नगरेको पाइएको छ ।
कर्जा स्वीकृत गर्दा धितोसहितको स्वीकृत मूल्यांकन रकम उल्लेख नगरिएको जनाइएको भाखा नाघेको ऋण असुली र धितो मूल्यांकन कार्यलाई व्यवस्थित बनाउन प्रतिवेदनमा सुझाव दिइएको छ ।
बोर्डको सेयर लगानी ७० लाख ४८ हजार रहेकोमा लगानी गरिएका संस्थाहरुबाट लाभांश प्राप्त भएको नदेखिएको बताइएको छ।
ती संस्था सञ्चालनमा रहेको नहरको वास्तविक स्थिति पहिचान गर्नुपर्ने तथा शेयर लगानी भएका संस्थाहरुमा बोर्डबाट तर्फबाबट सेयर हक अनुपाका आधारमा सञ्चालक प्रतिनिधित्व गराउनुपर्ने सुझाइएको छ ।
बोर्डको यो वर्ष पुँजीगत जगेडा १ अर्ब १० करोड ३९ लाख, सहकारी विकास कोष १२ करोड ३ लाख तथा साधारण जगेडा कोष २ करोड ३० लाख छ ।
स्थिर सम्पत्ति १ अर्ब ३० करोड ६७ लाख, कर्जा लगानी ९ करोड ८९ लाख, सेयर लगानी ७० लाख ४८ हजार र खुद चालू सम्पत्ति १३ लाख ३८ हजारसमेत गरी बोर्डको सम्पत्ति १ अर्ब ५२ करोड ५१ लाख पुगेको छ ।
सहकारी विकास कोषबाट कर्जा लगानी ८२.२३ प्रतिशत भएको छ । गत वर्ष १ करोड २६ लाख नाफा रहेकोमा यो वर्ष १ करोड १४ लाख पुगेको छ ।
Leave a comment