काठमाडौं । काठमाडौंका राजकुमार खड्गी र शान्ता खड्गीले साइकल मर्मत पसल गरेका छन् । उनीहरुले मेहनत गरेर जम्मा गरेको ६ लाख रकम गोगंबुको हलमार्क बचत तथा ऋण सहकारीमा राखेका थिए । तर अहिले फिक्स डिपोजिटको समय सकिइसक्दा पनि उनीहरुले निक्षेप फिर्ता पाउन सकेका छैनन् ।
८ महिना अघिदेखि उनीहरुले निक्षेपको साँवा, ब्याज पाउन सकेका छैनन् । आफ्नो पैसा नपाएपछि पसल सञ्चालन गर्न उनीहरुले अर्को सहकारीबाट ऋण लिन बाध्य छन् । ‘आउनुपर्ने ठाउँबाट पैसा नआएपछि अर्को सहकारीबाट ऋण लिनुपरेको छ’, राजकुमार भन्छन्,‘आफ्नो पैसाको टुंग्गो छैन, फोकटमा अरुलाई ब्याज र सावाँको किस्ता तिरिरहनुपरेको छ ।’
राजकुमारले साइकल मर्मत गर्नुका साथै बिक्री वितरण पनि गर्छन् । पसलबाट कमाएको पैसा उनीहरुले हलमार्क सहकारीमा जम्मा गरेका थिए । आफ्नो पैसा नआएपछि उनीहरु सकसमा छन् ।
राजकुमार दम्पतीले हलमार्क सहकारीमा ३ लाख र २ लाख गरी दुई चरणमा रकम जम्मा गरेका थिए । ‘सुरुमा १६ प्रतिशत ब्याज दिन्छु भनेर लोभ्यायो’ उनी भन्छन्, ‘अहिले पैसा दिन आलटाल गरिरहेको छ ।’
श्रीमतीले सहकारीले प्रलोभन हुन सक्ने त्यतिबेलै भनेपनि सहकारीको विश्वास गर्दा समस्या परेको राजकुमार सुनाउँछन् । राजकुमार दम्पती मात्र होइन, हलमार्कबाट धेरै निक्षेपकर्ताले निक्षेप फिर्ता पाउन सकेका छैनन् ।
२० जना भन्दा बढी निक्षेपकर्ताले पटकपटक ताकेता गर्दा पनि सहकारीले निक्षेपको सावाँ, ब्याज केही नदिएको गुनासो गर्छन् । आफ्नो पैसा नआउने र अर्कोतिर चर्काे ब्याजमा ऋण लिनुपर्दा तनाव भइरहेको उनी बताउँछन् ।
लकडाउनपछि सहकारी समस्यामा छ । संस्थाका कार्यकारी अध्यक्ष बीरेन्द्र प्रकाश सिन्दुकार महानगरीय प्रहरी महाराजगञ्जको नियन्त्रणमा छन् । निक्षेकपर्ताको पैसा फिर्ता पाउन नसकेपछि निक्षेपकर्ताको उजुरीका आधारमा प्रहरीले पक्राउ गरेको हो ।
हलमार्क कोभिड अघि राष्ट्रि«य सहकारी बैंकको सदस्य बनेको थियो । निक्षेप फिर्ताका लागि सहकारी सदस्यहरु राष्ट्रि«य सहकारी बैंकको गोंगबु शाखामा पनि पुग्न थालेका छन् ।
गोगंबु शाखा प्रमुख बिनोद भट्टराईले हलमार्क सदस्य बनेर केही समय कारोबार गरेको बताए । उनका अनुसार चेक लिएर केही निक्षेपकर्ता आएपनि सहकारीको खातामा पैसा नभएकाले बैंकले चेक साट्न नसकेको बताए ।
२८ हजारको एउटा चेक साटिएको उनले बताए । अरु दुई तीन जना चेक साट्न आएपनि खातामा पैसा नभएकाले फिर्ता पठाइएको उनको भनाइ छ । ‘८० हजारको चेक लिएर निक्षेपकर्ता आएकामा बैंकमा सहकारीको खातामा पैसा नभएकाले दिन सकिएन’ शाखा प्रमुख भट्टराईले भने ।
काठमाडौं महानगरपालिका सहकारी विभागले हलमार्कको समस्या समाधान गर्न नसकेपछि प्रहरीकहाँ लेखीपठाएको हो । महानगरको सहकारी विभाग प्रमुख देवराज पोखरेलले १५ दिन अघि नै अध्यक्ष पक्राउ गरेको जानकारी दिए । ‘मुद्धा दायर हुने क्रममा छ’ उनले भने ।
सदस्यलाई निक्षेप फिर्ता दिन नसकेको गुनासो आएपछि पत्राचार गरिएको उनले बताए । संस्थाले डेढ करोड हिनामिना गरेको पाइएको छ । आफैं अपचलन गरेको या लगानी नउठेको स्पष्ट खुल्न सकेको छैन ।
प्रहरीले अनुसन्धान गरिरहेकाले छिट्टै सत्यतत्य बाहिर आउने उनले बताए । कार्यसमितिले पनि अपचलन गरेको भन्दै उजुरी गरेको बुझिएको छ, उनल भने ।
Leave a comment