काठमाण्डौँ । नेपाल राष्ट्र बैंकले सहकारी अनुगमनका लागि नयाँ शाखा बनाउने भएको छ । गभर्नर महाप्रसाद अधिकारीले सहकारी अनुगमनकालागि नयाँ शाखा बनाउन लागिएको बताएका छन् ।
उनले सहकारीको अनुगमनकालागि केन्द्रीय बैंकमा नयाँ शाखा बनाउने जनाएका हुन् । उनले सञ्चालनमा रहेका ३० हजार सहकारीलाई एकैपटक केन्द्रीय बैंकले हेर्न नसक्ने बताएका छन् ।
कुनै संस्थालाई शून्यदेखि नियमन गर्न गाह्रो रहेको र केन्द्रीय बैंकले ठूलो वित्तीय कारोबार गर्ने सहकारी क्षेत्रलाई हेरेन भन्ने गुनासो पनि रहेको बताए । हाम्रो ऐनले सहकारी नियमन गर्ने म्यान्डेट दिएको छैन । तर हामी केन्द्रीय बैंकमा नयाँ शाखा बनाउँदै छौँ, उनले भने ।
विकास बैंक र फाइनान्सको शाखालाई मर्ज गर्ने र नन् बैंकिङ सुपरभिजन शाखा बनाउने तयारी रहेको जनाए । कानुनले दिए हामी सीमा भन्दा माथिका सहकारीका साथै, सामाजिक सुरक्षा कोष, कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोषलगायतलाई नियमन गर्छौं । उनले एक दैनिक पत्रिकालाई दिएको अन्तरर्वामा कानुनले अधिकार नदिएसम्म ती संस्थाहरूलाई गाइड पनि गर्ने बताएका छन् ।
Leave a comment