संघहरु शासन होइन, सेवाका लागि हुनुपर्छ : अर्थमन्त्री शर्मा

संघहरु शासन होइन, सेवाका लागि हुनुपर्छ : अर्थमन्त्री शर्मा :: Sahakari Akhabar

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले संघहरुले सहकारीको हित र सेवाका लागि काम गर्न निर्देशन दिएका छन् । नेपाल बचत तथा ऋण केन्द्रीय संघ (नेफ्स्कून) को ३४ औं स्थापना दिवसका अवसरमा बोल्दै अर्थमन्त्री शर्माले ‘संघहरु शासनका लागि होइन, सेवाका लागि हुनुपर्ने बताए । बचत तथा ऋण सहकारीका समस्या समाधान गर्न संघहरुले भूमिका खेल्नुपर्ने उनले बताए ।

सहकारी स्थिरीकरण कोष खडा गर्न किन ढिलाई गरेको भन्दै अर्थमन्त्री शर्माले प्रश्न गरे । ‘कोष सञ्चालनमा नआउँदा सहकारी संकटमा परेका छन्’ उनले भने । समस्या समाधान गर्न संघले ध्यान दिनुपर्ने उनको भनाइ छ । ‘पैसाको अभाव हो कि सहकारीले दिने पैसा नदिएर हो या संघ आफैंले सञ्चालन गर्न चासो नदेखाएको हो ’ उनले प्रश्न गरे ।

सिभिल सहकारीको समस्या समाधान गरेको खोइ

अर्थमन्त्री शर्माले सिभिल सहकारीको समस्या समाधान गर्न संघहरुले उचित ध्यान दिनुपर्ने बताए । ‘सिभिलको समस्या समाधान गर्न संघहरुले के गरेका छन्’, उनले भने,‘किन जिम्मेवारी लिन सकेका छैनन् ।’ 

निक्षेपकर्ताहरु सहकारीको अर्बाै पैसा नपाएको भन्दै रोइरहेको उनले बताए । ‘त्यो पैसा बचतकर्ताले पाउनुपर्छ,’ उनले भने,‘ठगी धन्दा नियन्त्रण गर्न संघहरुले जोड दिनुपर्छ ।’ सहकारी, निजी र सार्वजनिक क्षेत्रको हातेमालोबाट देश निर्माण अघि बढ्नुपर्ने उनले बताए । साकोसको ३३ लाख होइन । करोडमा पुर्याउनर उद्यमशीलता बढाउन आग्रह गरे ।

सहकारी सशक्त खम्बा बन्नुपर्नेमा जोड दिए । ‘तीन खम्बामध्ये सहकारीलाई सबल खम्बा बन्न आवश्यक वातावरण, सेवा सुविधा, नीति, नियम के चाहियो भन्नुहोस्, फुकाउन तयार छु ।’ उनले भने ।

नियत खराब राख्नेलाई कारवाही

ऋण नतिर्ने सहकारीका सदस्यलाई के गर्नुपर्ने हो त्यो गर्न तयार रहेको अर्थमन्त्री शर्माले बताए । ‘अधिकार, नीति, नियम बनाउन आवश्यक सहयोग गर्ने छु’, उनले भने । ऋणको दुरुपयोग हुन दिन नहुनेतर्फ सजग हुनुपर्ने उनले बताए । ‘नियतवस संस्थापक नै दुरुपयोग गर्ने, व्यापारमा लगाउने यो मान्ने हुँदैन ।’, उनले भने ।

कुल बचतको ६० प्रतिशत उत्पादनमा लगानी गर्नुस

अर्थमन्त्री शर्माले उत्पादनमूलक क्षेत्रमा लगानी नगर्ने सहकारीको काम नभएको उद्घोष गरेका छन् । सहकारीको पैसा उत्पादनमूलक क्षेत्रमा लगाउन निर्देशन दिएका हुन् । कुल बचतको ६० प्रतिशत उत्पादनमा लगानी गर्न उनले सहकारीलाई निर्देशन दिए ।

‘तपाईहरुको लगानी केमा छ ? अर्थमन्त्री शर्माले भने, ‘जग्गा किन्न, गाडी किन्न लगानी भएको भए सहकारीको अर्थ छैन । नेफ्स्कूनले सहकारीको पैसा उत्पादनमा लगानी गर्ने वातावरणको भूमिका खेल्नुपर्ने बताए । ‘उत्पादन बढाउन ब्याज सस्तो हुनुपर्छ,’ उनले भने । 

सहकारीले ब्याजदरमा पनि बढी लिएको बताए । ‘१७/१८ प्रतिशत ब्याज लगाएको सुनेको छ,’ उनले भने,‘उत्पादन बढाउन ब्याज सस्तो हुनुपर्छ ।’ गरिबी निवारणका क्षेत्रमा नागरिकले ऋण पाउनुपर्ने भएपनि व्यवहारमा त्यसो नभएको उनले गुनासो गरे ।

‘श्रमशक्ति विदेश जानुपर्ने अवस्था किन आयो’, उनले भने,‘उद्योग धन्दा किन खुलेन । कृषि यन्त्रिकरण किन भएन ।’ उद्यमशीलता बढाउन, रोजगारी सिर्जना गर्न सहकारीले योगदान गर्नुपर्ने अर्थमन्त्री शर्माले बताए ।  

नीतिहरु ठिक ढंगबाट जान नसकेकाले पनि उत्पादन नभएको उनले बताए । ‘नेफ्स्कूनले उत्पादन क्षेत्रमा लगानी गर्न घोषणा गरोस्’, उनले भने, ‘सहकारीमा पुँजी पनि छ ।

जनताको सानो पुँजी उत्पादनशील क्षेत्रमा लगाएर आत्मनिर्भर अर्थतन्त्रमा ध्यान दिन सकोस् ।’ गाडी, घरमा लगानी गर्ने सहकारीको अर्थ नभएको भन्दै भोलिबाटै त्यस क्षेत्रमा लगानी बन्द गर्न अर्थमन्त्री शर्माले निर्देशन दिए ।



Leave a comment