कृषि बजार सञ्चालन गर्दै श्री तपाई हाम्रो नमूना सहकारी

कृषि बजार सञ्चालन गर्दै श्री तपाई हाम्रो नमूना सहकारी :: Sahakari Akhabar

सिन्धुपाल्चोक । बाह्रबिसे नगरपालिका वडा नम्बर ९ मा सञ्चालित श्रीतपाई हाम्रो नमूना साना किसान सहकारी संस्थाले कृषि बजार सञ्चालन गर्ने भएको छ । संस्थाका कृषक सदस्यहरुले उत्पादन गरेका फलफूल, दुग्धजन्य वस्तु इत्यादिको कृषि बजार व्यवस्थापन गर्न बजार सञ्चालन गर्ने तयारी गरेको हो ।

संस्थाका अध्यक्ष शेरबहादुर  रायले कृषकका उत्पादनको बजारीकरण सुनिश्चित गर्नका लागि कृषि बजार संकलन केन्द्र तथा सहुलियत पसल गर्न लागिएको बताए । कृषि ढुवानीका लागि बोलेरो गाडि खरिद गरी ढुवानी सेवा दिने संस्थाले योजना बनाएको छ ।

संस्थाले खाक्दलमा जग्गा भाडामा लिई एकीकृत नमूना कृषि फार्म सञ्चालन गरेको थियो । बंगुर, कुखुरा, खसी, नगदे बाली खेती गर्दै आएको थियो । तर ०७७ असारमा खाक्दलमा आएको बाढीपहिरोले फार्म बगाएपछि संस्थाले नयाँ तरिकाबाट अझै फार्म सञ्चालन गर्न सकेको छैन ।

अध्यक्ष रायले बाह्रबिसे नगरपालिकाको कृषि सेवा कार्यालय र पशु सेवा कार्यालयसँग समन्वय गरी कृषि फार्म सञ्चालनमा ल्याउने प्रक्रियामा रहेको जनाए । संस्थाको कार्यक्षेत्र भित्रका बाँझो जग्गाका सदस्यहरुलाई अर्गानिक खेती गर्न उत्साह जगाउने संस्थाले योजना बनाएको व्यवस्थापक बिनिता भुजेलले बताइन् ।

संस्थाले अर्गानिक खेती गर्ने सदस्यलाई आवश्यक प्राविधिक तथा आर्थिक सहयोग गर्ने छ । सदस्यको बालीनालीमा आवश्यक पर्ने रासायानिक मल, मौसमी तथा बेमौसमी बीउ विजन, किटनाशक औषधि खरिद तथा बिक्री गर्न नगरपालिकासँग समन्वय गरी खरिद बिक्रीको व्यवस्था मिलाइने योजना रहेको व्यवस्थापक भुजेलको भनाइ छ ।

संस्थाले कागती, सुन्तला, केरा, आँपलगायतका बिरुवा कृषि सेवाकेन्द्रसँग समन्वय गरी कृषहकरुलाई उपलब्ध गराउँदै आएको छ । संस्थाले बाह्रबिसे नगरपालिका, साल्ट ट्रेनिङ कम्पनी र कृषि सामग्री कम्पनीसँग समन्वयमा सम्झौता गरी रासायानिक मल बिक्री डिलर प्राप्त गरी किसानलाई सहुलियत मल वितरण गर्ने गरेको अध्यक्ष रायले बताए ।

नगरपालिकाको ५० प्रतिशत अनुदानमा हाते ट्रयाक्टर, मकै छोडाउने मेसिन, औषधि छर्ने स्प्रे, गोलभेडा टनेल, च्याउ टनेल, मौरीघार प्राप्त गरी सदस्यलाई हस्तान्तरण गरेको छ । उन्नत जातका धान र मकैको वीउ वितरण गरेको छ । संस्थाले विभिन्न रेमिट सेवा पनि दिइरहेको छ ।

आधुनिक प्रविधिको प्रयोग गरी मोबाइल रिजार्ज, बिल भुक्तानी सेवा, टिभी रिचार्जको सुविधा दिइरहेको छ । संस्थाले स्वास्थ्य शिविर, भुस्या कुकुरलाई रेबिज कोपको सुई लगाउने कार्यक्रम गरेको छ । 
संस्थामा १ हजार ३२ जना पुरुष र ४८५ जना महिला गरी १ हजार ५२३ जना सेयर सदस्य छन् । सहकारीको सेयर पूँजी २ करोड ७२ लाख १६ हजार पुगेको छ ।

संस्थापक अध्यक्ष श्यामबहादुर भुजेलले बैंक तथा वित्तीय संस्थाबाट प्रावाहित भइरहेको सहुलियत कर्जा प्रभावकारी नभएको भन्दै सहकारीमार्फत वितरण गर्नुको विकल्प नभएको बताए । उनले सहकारीका केन्द्रिय संघहरुकोको पनि भूमिका सहकारी प्रवद्र्धनमा नरहेको गुनासो गरे ।

उत्पादन क्षेत्रका सहकारीले केही गर्न योजना लिएर गएपनि सुनुवाई नभएको गुनासो गरे । कृषकलाई सहुलियत कर्जा दिएर ब्यवसायीक बनाउने तर्फ राज्य तथा अभिभावक संघको ध्यान जानु पर्ने उनको भनाई छ । अनुदान तथा सहुलियत कर्जा बास्तविक कृषककोमा पुग्न नसकेको र पहुँच हुनेहरुले मात्र उपभोग गरेको गुनासो गरे ।



Leave a comment