काठमाडौं । सिभिल सेभिङ एण्ड क्रेडिट कोअपरेटिभ लिमिटेडका बचतकर्ताले निक्षेप फिर्ता नपाएको गुनासो गरेका छन् । सिभिल सेभिङका बचतकर्ता उज्जल सत्याल, विमल तण्डुकार र नरेन्द्र श्रेष्ठले सिभिलले लामो समयदेखि निक्षेप फिर्ता नदिएको गुनासो गरेका हुन् ।
जिल्ला बचत तथा ऋण सहकारी संघ ललितपुरले आयोजना गरेको कार्यक्रममा उनीहरुले निक्षेप फिर्ता नपाएको र सरकारले त्यस्ता सहकारीलाई कारवाही नगरेको गुनासो गरेका थिए ।निक्षेपकर्ता सत्यालले ठगी गर्ने, बिगार्नेलाई कसरी नियन्त्रण गर्ने भन्ने प्रश्न राखेका थिए ।
उनका अनुसार २ वर्षदेखि सिभिल सहकारीको साधारणसभा नगरी प्रनिवेदन समेत जारी नगरेके बताए । ‘सरकारले अनुगमन गरेन, २ वर्षदेखि लेखा परीक्षण प्रतिवेदन पनि आएको छैन ।’ उनले भने ।
अर्का निक्षेपकर्ता नरेन्द्र श्रेष्ठले वार्षिक साधारणसभा गर्दा सहकारीले नडाक्ने गरेको गुनासो गरे । ‘सञ्चालकले निजी स्वार्थका लागि काम गरेका छन्’ उनले भने,‘सिभिल सहकारीको अनुगमन गरेर पनि नसुने के गर्ने ?’ उनले प्रश्न गरे ।
सिभिल सहकारी बाग्मती प्रदेश सरकारले अनुगमन गरेको थियो । उसले निक्षेपकर्ताको बाहुल्य हुनेगरी समिति पनि बनाएको थियो । सञ्चालकबाट प्रतिवद्धता गराए पनि सञ्चालकले टेरेका छैनन् । निक्षेपकर्ता श्रेष्ठले विशेष साधारण सभा नडाकेको भन्दै के गर्ने ? भनी प्रश्न राखेका थिए ।
त्यस्तै अर्का निक्षेपकर्ता तण्डुकार निक्षेप फिर्ता नदिने सहकारी कस्तो कारवाही हुन्छ ? भनी सोधेका थिए । बाग्मती प्रदेश रजिष्ट्रार विक्रम पाण्डेले गल्ती गर्ने सहकारीलाई कारवाही गर्ने बताए । ‘हामीले समिति बनाएर सञ्चालकबाट पैसा फिर्ता गर्न प्रतिवद्धता गराएका हौं’ उनले भने,‘फिर्ता नगरेमा कारवाही हुन्छ ।’
सिभिलले करिब ९५ प्रतिशत सहकारीको पूर्व अध्यक्ष ईच्छाराज तामाङ अध्यक्ष रहेको सिभिल होम्स लगायतका परीयोजनामा लगानी गरेको छ । ८ अर्ब ५७ करोड ३८ लाख भन्दा बढी रुपैया मात्रै उनका निजी हाउजिङ कम्पनीमा लगानी गरिएको छ । संस्थाका निक्षेपकर्ताले लामो समयदेखि निक्षेप फिर्ता पाउन सकेका छैनन् ।
Leave a comment