पोखरा उप-महानगरपालिका बजेट : एक सहकारी एक उत्पादन

पोखरा उप-महानगरपालिका बजेट : एक सहकारी एक उत्पादन :: Sahakari Akhabar

पोखरा । पोखरा उपमहानगरपालिकाले एक सहकारी एक उत्पादन कार्यक्रम सञ्चालन गर्ने भएको छ । उपमहानगरको बजेट प्रस्तुत गर्दै उपप्रमुख मञ्जु गुरुङले सहकारीमार्फत उत्पादन बढाउन र रोजगारी सिर्जना गर्न बजेट केन्द्रीत गरेको बताइन् । एक सहकारी एक उत्पादनका लागि उपमहानगरले २५ लाख विनियोजन गरेको छ ।

एक सहकारी एक उत्पादनका लागि सार्वजनिक सूचनामार्फत इच्छुक सहकारीमार्फत प्रस्ताव माग गरी संभावनाको आधारमा छनोट हुने छ । महानगरले कृषि सहकारीलाई कृषि सेवा केन्द्रमार्फत कृषि प्राविधिक सेवा पुर्याइने उल्लेख छ । सेवा केन्द्रमार्फत आवश्यक जनशक्ति उपलब्ध गराउने उपमहानगरले जनाएको छ ।

सहकारी संस्थाहरुलाई आफ्नो उद्देश्य मुताविकका क्षेत्रमा प्रभावकारी सञ्चालन गर्ने महानगरले घोषणा गरेको छ । सहकारीको वित्तीय स्वास्थ्य तथा विश्वसनीय तथा अभिवृद्धि गर्न अनुगमन प्रभावकारी बनाइने महानगरले जनाएको छ । सहकारीको नगरस्तरीय  सञ्जाल निर्माण गर्न सहजीकरण गर्ने उल्लेख छ ।

सहकारी संस्थाका सिमान्तकृत तथा विपन्न वर्गलाई लक्षित गरी उत्पादनमूलक कार्यमा ऋण ब्याजमा अनुदान दिने महानगरले घोषणा गरेको छ । ब्याज अनुदानका लागि १० लाख विनियोजन गरिएका गुरुङले बताइन् ।

युवाहरुलाई उद्यमशील तथा सीप विकासका लागि तालिम प्रदान गर्न उपमहानगरले बजेट छुट्याएको छ । युवालाई सहकारीमा आबद्ध गराइ तालिम तथा सहयोग कार्यक्रम सञ्चालन गर्न २० लाख बजेट विनियोजन गरिएको छ । पोखरा उपमहानगरले ६ अर्ब २७ करोड ७५ लाख बजेट विनियोजन गरेको छ ।




Leave a comment