काठमाडौं महानगरपालिकाले प्रत्येक वडामा नमुना उपभोक्ता पसल संचालन गर्ने 

महानगरकाे आर्थिक वर्ष २०७८/७९ को नीति तथा कार्यक्रम प्रस्तुत

काठमाडौं महानगरपालिकाले प्रत्येक वडामा नमुना उपभोक्ता पसल संचालन गर्ने  :: Sahakari Akhabar

काठमाडौ । काठमाडौं महानगरपालिले उपभोक्ता सहकारी पसल स्थापना गर्ने भएको छ । प्रत्येक वडामा कम्तिमा एक नमुना उपभोक्ता सहकारी संस्था स्थापना गर्ने महानगरको योजना छ ।

महानगरले आर्थिक वर्ष २०७८/७९ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नमूना उपभोक्ता सहकारी पसल स्थापना गर्ने लक्ष्य लिएको हो । उपभोक्ता सहकारीमार्फत सुपथ पसल सञ्चालन गर्ने महानगरको नीति छ ।

सहकारी बजारमार्फत उपभोक्तालाई सुलभ खाद्यवस्तु प्रदान गर्ने महानगरले जनाएको छ । उपभोक्ताको गुणस्तरीय तरकारी तथा खाद्यवस्तुको उपभोग गर्ने हक सुनिश्चित गर्न उपभोक्ता सहकारी पसल सञ्चालन गर्ने योजना बनाएको हो ।

महानगरपालिका क्षेत्रभित्रका उपयुक्त स्थानमा निश्चित समय तोकेर तरकारी तथा फलफूल बजार सुनिश्चित गरिने नीतिमा उल्लेख छ ।

तरकारी खरिद बिक्रीमा एकै स्थानमा हुने भिडभाडलाई कम गर्न सडक डिभिजन कार्यालय र महानगरीय ट्राफिक प्रहरी महाशाखासँग समन्वय गरेर स्थान छनोट गर्ने महानगरको योजना छ ।

महानगरवासीलाई सर्वसुलभ ढङ्गबाट तरकारी तथा फलफुलको आपुर्ति गर्ने व्यवस्था मिलाउनका लागि जग्गा एकीकरण आयोजना क्षेत्रभित्र शीत भण्डारसहितको आधुनिक तरकारी बजारको स्थापना हुने छ ।

खाद्यपदार्थको गुणस्तर कायम गर्न, तरकारी तथा फलफुल बजारलाई व्यवस्थित गर्न र समग्र आपूर्ति व्यवस्थालाई सुनिश्चित गर्न स्थानीय बजार व्यवस्थापन सम्बन्धी मापदण्ड जारी गर्ने महानगरले जनाएको छ । स्थानीय समुदायलाई करेसाबारी तथा कौसीखेती गर्न प्रोत्साहन गर्ने नीति लिएको छ ।



Leave a comment