अस्ताए सहकारी बैङ्कका संस्थापक जोशी

अस्ताए सहकारी बैङ्कका संस्थापक जोशी :: Sahakari Akhabar

काठमाडौँ । सहकारी अभियानमा एउटा अपूरणीय क्षति भएको छ । सहकारीकर्मीले सहकारी अभियानका हस्ती, अग्रज अनि अभिभावक गुमाएका छन् ।

२०१२ सालमा जन्मिएका सहकारी अगुवा राजेशहरि जोशीको ०७८ जेठ ३० गते ६६ वर्षको उमेरमा निधन भएको छ । जोशी नेपालको सहकारी अभियानका शालीन व्यक्तित्वमा गनिन्छन् ।

उनी राष्ट्रिय सहकारी बैकका स्थापक मध्येका एक हुन् । स्थापना कालमा तदर्थ समितिका अध्यक्ष रहेका जोशी त्यसपछि सञ्चालक समितिको अध्यक्ष भएका थिए ।

उनी नेशनल डेभलपमेण्ट कोअपरेटिभ सोसाइटी लिमिटेडका कार्यकारी अध्यक्ष र मकवानपुर बचत तथा ऋण सहकारी संस्थाका समेत अध्यक्ष रहेका थिए । पछिल्लो समय गणेशमान सिंह स्वास्थ्य सहकारीका उपाध्यक्ष रहेका थिए ।

सहकारी बैङ्क स्थापना गर्दा सहकार्य गर्ने हिसाबमा राम्रो भूमिका निर्वाह गरेका उनी मिजासिला र सहयोगी रहेका सहकारी बैङ्क स्थापनाका संयोजक सहकारी अभियन्ता दिपक प्रकाश बास्कोटा बताउँछन् ।

स्थापना कालको सहित तदर्थ र पछि एक कार्यकाल अध्यक्ष भएका जोशी नेशनल कोपरेटर्स एसोसिएसनका सह–अध्यक्ष साथै मुक्तिनाथ विकास बैङ्कका स्थापक सदस्य रहेका थिए ।

जोशी नेपाल बुद्धिचाल सङ्घका संस्थापक तथा हेटौँडामा मुख्य कार्यालय रहेको तत्कालीन वर्ल्ड मर्चेन्ट बैंकिङ एन्ड फाइनान्स लिमिटेडको संस्थापक सञ्चालक समेत रहेका थिए ।

सहकारी बैङ्क स्थापनामा रातदिन नभनी लागेर सफल बनाएको स्मरण गर्दै राष्ट्रिय सहकारी बैङ्कका अध्यक्ष केबी उप्रेतीले सहयोगी र मिलनसार व्यक्ति गुमाउनु परेको बताए । सँगै धेरै समय रहेर नजिक भएर काम गरेको उनी बताउँछन् ।

सल्लाहमा काम गर्ने सहकारी बैङ्कलाई देश ब्यापी रुपमा सदस्यको आवश्यकता अनुरूप सेवा दिन सक्ने बनाउनु पर्छ भन्ने स्वभावका रहेको उप्रेतीको भनाइ छ।

जोशी सहकारी अभियानका सक्रिय अभियानकर्ता रहेको सहकारीकर्मीहरु बताउँछन् । सहकारी अभियानले उनको योगदानको कदर पक्कै गर्नेमा सहकारी कर्मी विश्वस्त छन् ।

भोलि असार १ गते सहकारी बैङ्कले उनको सम्झना स्वरूप सहकारी बैङ्कको सम्पूर्ण औपचारिक कार्यक्रमहरू बन्द गर्ने निर्णय गरेको बैङ्कका अध्यक्ष उप्रेतीले बताए । सहकारी अभियन्ता स्वर्गीय जोशी प्रति सहकारी अखबार परिवार हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछ ।



Leave a comment