अक्सिजन प्लान्ट स्थापनामा भक्तपुरका सहकारीको सवा करोड सहयोग 

अक्सिजन प्लान्ट स्थापनामा भक्तपुरका सहकारीको सवा करोड सहयोग  :: Sahakari Akhabar

भक्तपुर । भक्तपुर नगरपालिकाले स्थापना गरेको प्रकोप व्यवस्थापन कोषमा जिल्लाका सहकारी संघ संस्थाहरुले मात्रै हालसम्म १ करोड १२ लाख ६९ हजार भन्दा बढि आर्थिक सहयोग गरेका छन ।

भक्तपुर नगरपालिकाद्वारा संचालित ख्वप अस्पतालमा अक्सिजन प्लान्ट जडान र स्वास्थ्य सामग्री खरिदका लागि १ सय १५ वटा संस्थाले उक्त रकम सहयोग गरेको नगरपालिकाकी उपप्रमुख रजनी जोशीले जानकारी दिईन् ।

भक्तपुर नगरपालिकाभर १ सय ५६ सहकारी संस्था रहेको र विपदको अवस्थामा आफुहरुले सहयोग गर्न आह्वान गरेको उनले बताईन् । कोरोना माहामारीबाट नगरवासी र अन्य क्षेत्रका जनतालाई बचाउन अक्सिजन प्लान्ट जडानका लागि आवश्यक रकम जुटाउन सहकारीहरुको पनि सहयोग लिएको उनले जनाईन् ।

अक्सिजन प्लान्ट आइसकेको र ख्वप अस्पतालमा जडान गर्न सबै व्यबस्थापन मिलाइसकेको जोशीले बताईन् । त्यसबाट २४ घण्टामा १ सय देखि १२० वटा सिलिन्डर भर्न सकिने छ ।

अस्पतालमा कोरोना संक्रमितको उपचारको लागि २५ वेडको एचडियु र ५०  बेडको आइसोलेसन केन्द्र रहेको छ ।  कोरोना भाइरसको दोस्रो लहर समुदायस्तरसम्म तीब्र रुपले फैलिएसँगै संक्रमितको उपचारको लागि आवश्यक पर्ने अक्सिजनको चरम अभाव भएपछि नगरपालिकाले प्लान्ट जडानका लागि चासो देखाएको हो ।

प्लान्ट निर्माणाको अनुमानित लागत १ करोड २५ लाख रहेको र सोही अनुरुप नगरबासी, स्कुल कलेज एवं अन्य संघ संस्थालाई नगरपालिकाले सहयोग गर्न भनेसँगै हालसम्म ५ करोड ४७ लाख भन्दा बढि रकम संकलन भइसकेको छ ।




Leave a comment