कोरोनाबाट बच्न सहकारीकर्मीलाई  डा.विकाशानन्दका १० टिप्स

कोरोनाबाट बच्न सहकारीकर्मीलाई  डा.विकाशानन्दका १० टिप्स :: Sahakari Akhabar

काठमाण्डाैँ १२ जेठ । नेपाल मनोक्रान्ति योगका अगुवा डा.योगी विकाशानन्दले कोरोना रोगबाट बच्नका लागि शारिरीक शक्ति आर्जनका उपायहरु अबलम्बन गर्न सुझाव दिएका छन् ।

राष्ट्रिय सहकारी बैंकले बुधवार आयोजना गरेको कोरोना संक्रमितहरुसमेतसंग डा.योगी विकाशानन्द, संक्रमण : सुरक्षा र सामानार्थ आत्मबल विषयक कार्यक्रममा सहजीकरण गरेका थिए ।

कोरोनाकाल संकट मात्रै होइन, यसलाई जागरणकालका रुपमा उपयोग गर्न सुझाव दिदै उनले पहिला आफुलाई जागरण गर्न आग्रह गरे । कोरोना मात्रै नभएर हरेक रोगसंग लड्न सक्ने शक्ति आर्जन गर्नका लागि पहिला आफुलाई जोगाउनु पर्ने बताए ।

पद, पैसा र प्रतिष्ठा भन्दा ठुलो व्यक्तिको स्वास्थ्य भएकाले स्वास्थ्यलाई सहज बनाउनका लागि खानपान, आराम, योग, प्राणायम लगायत १० वटा सुत्र सुझाएका थिए ।

कार्यक्रममा बैंकका अध्यक्ष के.बी.उप्रेतीले सहकारी संघ संस्थाले नियमित सञ्चालन गर्ने कामसंगै कोरोना संकटको समयमा सदस्यहरुलाई थप सचेतना प्रदान गर्नु पर्नेमा जोड दिए ।

बैंकका प्रमुख कार्यकारी प्रमुख बद्रीकुमार गुरागाईले सञ्चालन गरेको कार्यक्रममा एक हजार जना सहकारीकर्मीहरुको सहभागिता रहेको थियो ।

कोरोनाकालमा इम्युन पावर बढाउन डा.विकाशानन्दका १० टिप्स

१. सुत्ने र उठ्ने समय : रोग लाग्नुको महत्वपूर्ण कारणहरु मध्ये सुताई एउटा हो । त्यसकारण प्रयाप्त मात्रामा सुत्ने गर्नाले रोगबाट बच्न सकिन्छ । अझै कारोनाकालमा त सुताई पहिलो डोज नै हो । बेलुका ९ देखि १० बजेभित्र सुतिसक्ने र बिहान ५ देखि ६ बजेसम्म उठ्ने गर्नाले निद्रा पुग्छ ।

ठिक ढंगले उठ्नका लागि ठिक ढंगले सुत्न जरुरी छ । मोवाइल लगायतले निद्रालाई असर गर्ने भएकाले सुत्नु भन्दा २ घण्टा अगाडि विद्युतीय सामग्रीहरु थन्क्याउनु पर्छ । निद्रा गुमाएर पैसा थुपार्ने काम गर्नु हुदैन ।

२. चिसो पानीले नुहाउने : बिहान उठेपछि गरिने दैनिक कर्म लगायत योग साधना, ब्यायाम गरेर चिसो पानीले नुहाउने गर्नाले पनि इम्युन शक्ति बढाउन मद्दत गर्दछ ।

३. बिहानको घाममा बस्ने : घाम बडो कामको चिज हो । जसको रगतमा भिटामिन डि को कमी छ, तिनीहरुलाई बढी प्रभावित बनाएको छ । भिटामिन डि घाम सहित दुध, दही, अण्डा, च्याउबाट पनि आउछ तर त्यसले पुग्दैन, घाममा बस्नु पर्छ ।

आजभोली सबै कुरा कोठा भित्रबाट हुने गर्छन् त्यसैले रोगले छिटो आक्रमण गर्दछ । चिसो पानीले नुहाएपछि १५ मिनेट अगाडिबाट र १५ मिनेट पछाडिबाट घाम पर्ने गरी बस्नु पर्छ । मानिससंग काम धेरै छ, घाम कत्ति पनि छैन, जसका कारण रोगले आक्रमण गर्दछ ।

४. व्यायाम : रोगसंग डराउने होइन, म कमजोर छु भनेर डराउने हो । त्यसैले आफ्नो इम्युन शक्ति बढाउन दैनिक रुपमा व्यायाम जरुरी छ । युवाहरु जीम जादा हुन्छ । ३० वर्ष भन्दा माथिकाले योग गर्नु ठिक हुन्छ ।

५. भोजन : रोगबाट बच्नका लागि सबैभन्दा महत्वपूर्ण कुरा भोजन हो । तपाई कस्तो भोजन गर्नु हुन्छ, त्यस आधारमा तपाईसंग रोगसंग लड्न सक्ने शक्ति प्राप्त हुन्छ । कोरानाकालमा महत्वपूर्ण भिटामिन सी हो । स्वास्थ्यकर्मीहरुले भिटामिन सि पाइने चिज खान सुझाव दिन्छन् ।

बिहान २ गिलास मनतातो पानीमा कागती निचोरेर विस्तारै पिउने गर्नाले शक्ति बढ्छ । फलफूल र सबै तरकारीमा भिटामिन सी पाइन्छ । काचो खाना मिल्ने तरकारीहरुमा बढी जोड दिनुस् । काजु, पेस्ता, बदाम, ओखर रातभरी पानीमा भिजाउने र बिहान दुध वा पानीसंग खाने गर्नाले भिटामिन सि पाइन्छ । जंग फूड, चिनी खादै नखानुस ।

भात कम गर्नुस, भात जति बढी खायो ग्लुकोजको मात्रा त्यति बढ्छ, ग्लुकोजको मात्रा जति बढी भयो कोरोना संक्रमण त्यति बढ्छ । ग्लुकोजको मात्रा घटाउन फलफूल बढी खानुस । प्रोटिनको मात्रा बढ्ने खानेकुराहरु माछा, मासु अण्डा, फलफूल, सलाद, दाल, भट्मास, गेडागुडी, टुसाउने अन्नहरुमा जोड दिनुस् ।

शाकाहारीहरुले मिल्क प्रोडक्टहरु दुध, दही, घ्यू खाने गर्नुस । रक्सी चुरोड खानु हुन्छ भने तत्काल छोड्नुस, कोरोना संक्रमणलाई यसले सहज बनाउछ ।

६,खुुशी हुनुस  ः आफुलाई के गर्दा खुशी भइन्छ, त्यो गर्नुस । नाच्नुस, हास्नुस, गाउनुस, क्यारेमबोर्ड, चेस, ब्याडमिण्टन खेल्नुस जसरी हुन्छ खुशी हुने प्रयत्न गर्नुस ।

७. माया प्रेम बढाउनुस् : जति बढी प्रेम बाड्न सक्नु हुन्छ, त्यति इम्युन शक्ति बढ्छ । प्रेम भन्दा ठुलो औषधी के होला ? परिवारका सदस्यहरुलाई दैनिक १२ पटक अंगाल्नुस (हक गर्नुस्) । प्रेमको फिलिङ हुदा रोगको फिलिङ घट्छ ।

८. बोट विरुवाको नजिक बस्नुस  ः घरमा विभिन्न जातका विरुवाहरु लगाउनुस्, रुखहरु भएको ठाउँमा कोरोना कम हुन्छ । रुखहरुले भाइरस रोक्न सहयोग गर्छन ।

कोरोना सबैभन्दा बढी महानगरहरुमा देखिएको छ, जहाँ रुखपात छैन, कंक्रिड बढी छ । ४ आना जग्गा छ भने सबैमा घर बनाएका छौ, थोरै पनि जग्गा राखेका छैनौ । ३ आनामा घर बनाएर १ आनामा रुख रोपेको भए रोग कम गर्न सहयोग पुग्थ्यो ।

९. मेडिटेशन (ध्यान) गर्ने  ः  दैनिक कम्तिमा २० मिनेट ध्यान गर्नुस् । ध्यानमा बस्ने हो भने माइण्ड रिल्याक्स हुन्छ यसले इम्युन पावर बढाउछ ।

१०. प्राणायम (श्वासक्रिया) : कोरोनाले सबैभन्दा बढी फोक्सो कमजोर भएकाहरुलाई आक्रमण गरेको छ । जिन्दगीभर पैसा, पद परिवार भनेर दौडेका छौ, सबै भन्दा पहिला आफुलाई जोगाउन फोक्सोलाई जोगाउन आवश्यक छ र त्यसका लागि श्वास क्रिया गर्न जरुरी छ ।

लामो श्वास तानेर आधा मिनेट भन्दा बढी रोक्ने गर्नाले फोक्सोलाई राम्रो राख्न सकिन्छ । आधा मिनेट पनि श्वास रोक्न नसक्ने अवस्था छ भने मेरो फोक्सो कमजोर छ भन्ने बुझेर दैनिक श्वास क्रिया गर्नु पर्दछ । जसले जति बढी श्वास रोक्न सक्यो त्यति बढी फोक्सो बलियो छ भन्ने बुझ्नु पर्छ । श्वास रोकौ, फोक्सोसंगै जिन्दगी राम्रो बनाऔ ।



Leave a comment