भक्तपुर । जिल्लाका ५ वटा सहकारी संस्थाले अक्सिजन प्लान्ट निर्माणको लागि ३० लाख रुपैयाँ सहयोग गरेका छन् । भक्तपुर नगरपालिकाले अक्सिजन प्लान्ट निर्माणमा सहयोग गर्न सहकारीहरुलाई आव्हान गरेपछि पहिलो चरणमा ५ वटा संघ संस्थाबाट ३० लाख रकम नगरपालिकालाई उपलब्ध गराएका हुन् ।
सहकारी संस्थाका प्रतिनिधिले उपमेयर रजन जोशी र प्रमुख प्रशासकिय अधिकृत रामलाल श्रेष्ठलाई उक्त रकम हस्तान्तरण गरेका हुन् । कोभिड १९ को दोश्रो लहर तीब्र रुपमा फैलिएसँगै अक्सिजनको अभाव भएको छ ।
नगरपालिकाले त्यसलाई मध्यजनर गर्दै अक्सिजन प्लान्ट बनाउने निर्णय गरेर सहकारी संघसंस्थाहरुलाई सक्दो सहयोग गर्न आव्हान गरेको थियो । त्यसै अनुरुप आफूहरुले सहयोग गरेको भक्तपुर बचत तथा ऋण सहकारी संघका अध्यक्ष कृष्ण गोविन्द लाखाजुले बताए ।
प्लाण्ट निर्माणका लागि सिद्धिगणेश साकोले १० लाख, भक्तपुर साकोसले १० लाख, संगम साकोसले ५ लाख, बाराही साकोसले ४ लाख र जिल्ला बचत संघको तर्फबाट १ लाख रुपैया एकमुष्ट हस्तान्तरण गरिएको अध्यक्ष लाखाजुले बताए ।
नगरपालिकाले भक्तपुर नगरपालिकामा रहेका १२० संस्थालाई नै सहयोगका लागि आव्हान गरेको र अन्य संस्थाले पनि यसमा सहभागिता जनाउने अध्यक्ष लाखाजुले बताए । प्लाण्ट निर्माणका लागि ८० लाख देखि १ करोडसम्म लागत लाग्ने र सहकारीहरुको तर्फबाट ५० लाखको हारहारीमा रकम जुटाउने प्रयास रहेको उनले जानकारी दिए ।
यस अघि पनि आइसोलेसन केन्द्र बनाउन नगरपालिकालाई सहकारी संघ र संस्थालहरुले ४५ लाख रुपैया सहयोग गरिसकेका छन् । भोलि मात्रै बचत संघ र बालकुमारी साकोसले १ लाख १२ हजार बराबरको २ थान अक्सिजन मेसिन कोरियन अस्पताललाई दिने जनाइएको छ । भक्तपुर नगरपालिकाका ८६ संस्था बचत संघमा आवद्ध रहेका छन् ।
Leave a comment