झापा । कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि झापा जिल्ला सहकारी सङ्घले सुरक्षाकर्मीलाई स्वास्थ्य सुरक्षा सामग्री सहयोग गरेको छ ।
संघले प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनालाई जिल्ला प्रशासन कार्यालय पुगेर ५ लाख रुपैयाँ बराबरको स्वास्थ्य सुरक्षा सामग्री हस्तान्तरण गरेको हो ।
हस्तान्तरण कार्यक्रममा संघका अध्यक्ष गणेश ढकाल, वरिष्ठ उपाध्यक्ष महेन्द्रकुमार गिरी, सचिव भवानीप्रसाद दंगाल र प्रदेश एक बचत तथा ऋण सहकारी सङ्घका अध्यक्ष घनश्याम अधिकारीको सहभागिता थियो ।
साथै झापाका प्रहरी उपरीक्षक सानुराम भट्टराई, नेपाली सेना चार आलीका प्रमुख सेनानी गौरवजंग थापा र सशस्त्र प्रहरी निरीक्षक रमेशकुमार पाण्डेको समेतको उपस्थिति थियो ।
सङ्घले १० हजार थान सर्जिकल मास्क, ६० थान पीपीइ सेट, ६ हजार सेट ग्लोब्स, एक हजार थान फेसशील्ड र १८ सय लिटर स्यानिटाइजर उपलब्ध गराएको संघका वरिष्ठ उपाध्यक्ष महेन्द्रकुमार गिरीले बताए ।
सङ्घले यस पटक कोरोना भाइरस सङ्क्रमितहरूलाई निमोनिया हुने जोखिम अत्यधिक देखिएकोले सङ्क्रमितहरूको एक्स–रे गर्न २५ लाख रुपैयाँ बराबरको अत्याधुनिक एक्स–रे मेशिन पनि ल्याउन लागेको र मेशिन झापाकै एक अस्पताललाई हस्तान्तरण गरिने अध्यक्ष ढकालले बताए ।
स्वास्थ्य सुरक्षा सामग्रीको अभाव हुने अवस्थामा पुगेको बेला सङ्घले गरेको यो सहयोगले सुरक्षाकर्मीहरूलाई कोरोना रोकथाम तथा नियन्त्रणका लागि अग्रस्थानमा खटिएर काम गर्न निकै सहयोग पुग्ने संघले बताएको छ ।
सङ्घले गत वर्ष जिल्लाका प्रारम्भिक सहकारी संस्थाहरूको सहयोगमा सबै स्थानीय तहमा कोरोनाका कारण सङ्कटमा परेका नागरिकहरूलाई राहतका लागि नगद सहयोग गरेको थियो भने झापाको कनकाईमा नागरिक स्तरबाट स्थापित पीसीआर परीक्षण ल्याबका लागि २५ लाखभन्दा बढी रकम जुटाएको थियो ।
सङ्घले यस पटक कोरोना भाइरस सङ्क्रमितहरूलाई निमोनिया हुने जोखिम अत्यधिक देखिएकोले सङ्क्रमितहरूको एक्स–रे गर्न २५ लाख रुपैयाँ बराबरको अत्याधुनिक एक्स–रे मेशिन पनि ल्याउन लागेको र मेशिन झापाकै एक अस्पताललाई हस्तान्तरण गरिने अध्यक्ष ढकालले बताए ।
Leave a comment