सहकारीमा सम्पर्क ब्यक्ती र समय तालिका तोकेर सेवा

सहकारीमा सम्पर्क ब्यक्ती र समय तालिका तोकेर सेवा :: Sahakari Akhabar

सहकारीले एटिएम, मोबाइल बैंकिङ  तथा क्युआर कोर्ड सेवामार्फत बचत तथा ऋणको सेवा संगै अन्य सेवापनि प्रवाह गरेका छन् । सहकारीले सदस्यलाई सकभर प्रविधिनै प्रयोग गर्न अनुरोध गरेको पाइन्छ ।

प्रविधि प्रयोग गर्न विषेश अनुरोध

काठमाडौँ । विश्वव्यापीरुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) सङ्क्रमणको त्रासमा मुलुक बन्दाबन्दी (लकडाउन) मा रहेको छ । सरकारले काठमाडौँ उपत्यकालगायत धेरै जिल्लामा वैशाख १६ गतेदेखि निषेधाज्ञा जारी गरेको गरेको हो ।

निषेधाज्ञाका क्रममा अत्यावश्यक वस्तु तथा सेवा सुचारु गर्न सरकारको निर्देशन छ । बैंंक वित्तीय संस्था, बिमा लगायत अत्यावश्यक सेवा सञ्चालन गर्न सरकारले छुट दिए पनि सहकारीको सेवालाई सरकारले बेवास्ता गरेको छ ।

सहकारी क्षेत्रका अभिभावक निकायको कमजोर पहलका कारण सहकारीहरू सदस्यलाई सेवा दिनबाट वञ्चित भएका छन् । सहकारीको सेवा सञ्चालन गर्ने विषयमा प्रस्ट निर्देशन नदिए पनि प्रारम्भिक सहकारीहरू जोखिम मोलेरै भए पनि सेवा दिइरहेका छन् ।

सहकारीले सीमित कर्मचारी खटाएर, आलोपालो गरेर तथा समय सीमा तोकेर भए पनि सेवा दिइरहेका छन् । प्रविधि प्रयोगलाई बढवा दिइएको भएता पनि सहकारीले खुलेर प्रविधि प्रयोग गर्न पाएका छैनन् ।

प्रविधि प्रयोगमा कानुनी स्पष्टता नभएका कारण  सहकारी क्षेत्रमा प्रविधि प्रयोग निकै कम छ । सहकारीका कर्मचारीलाई जिल्ला प्रशासनले कडाइ गरेको र कोरोनाको संक्रमणको त्रास पनि भएकाले सहकारीले बाध्य भएर प्रविधि प्रयोग गरी सदस्यलाई सेवा दिने पहल गरेका छन् ।

सहकारीले एटिएम, मोबाइल बैंकिङ  तथा क्युआर कोर्ड सेवामार्फत बचत तथा ऋणको सेवा संगै अन्य सेवापनि प्रवाह गरेका छन् । सहकारीले सदस्यलाई सकभर प्रविधिनै प्रयोग गर्न अनुरोध गरेको पाइन्छ ।

उपत्यकामा दुई दर्जन बढीले एटिएम सेवा तथा क्यु आर कोर्डलगायतको सेवा प्रवाह गरेको छन् भने अधिकांशले मोबाइल बैकिङ सेवा प्रवाह गरेको पाइन्छ ।

चावहिलमा रहेको कुमारी सेभिङ्ग एण्ड क्रेडिट को अपरेटिभले दैनिक ३ बजेसम्म सेवा दिने भएको छ । संस्थाले मुख्य कार्यालय तथा सबै सेवा केन्द्रबाट दैनिक रुपमा बिहान १० बजेदेखि दिउँसो ३ बजे सम्म सेवा दिने बताएको छ ।

संस्थाले बन्दा बन्दीको समयमा पनि ३६५ दिने सेवालाई निरन्तर संचालन गरिरहेको छ । संस्थाको आफ्नै भवन चाबहिल तथा सेवा केन्द्र कालीमाटी, ठमेल, साँखु र बालाजुबाट सदस्यहरुले बचत भुक्तानी, बचत जम्मा, रेमिटेन्स लगाएत एटिएम सेवा लिन सक्ने संस्थाका अध्यक्ष सूर्यध्वज न्यौपानेले जानकारी दिए ।

संस्थाले विषम परिस्थिीतिमा समेत आफ्ना सदस्यहरु लाई नियमित रुपमा कार्यालय संचालन गरी सेवा प्रदान गरिरहेको र बिहान १० बजे देखि दिउँसो ३ बजे सम्म ३६५ दिने काउण्टर सेवा दिएको हुँदा सदस्यहरुलाई रकम राख्न र झिक्न सहज हुने उनले बताए ।

संस्थाबाट  रेमिटेयान्स सेवा पनि दिएको संस्थाकी ब्यवस्थापक ईश्वरी सिंहले जानकारी दिइन । उनले संस्थाबाट एटिएम तथा रेमिटेन्स सेवा लिन सकिने जानकारी दिइन । संस्थाका सदस्य बाहेकले पनि  उक्त सेवा उपयोग गर्न सकिने सिंहले बताइन ।

संस्थाले एटिएम सेवा, मोवाइल बैंकिङ, एसएमएस सर्भिस, इन्टरनेट सर्भिसलगायत  सेवा संचालन गर्दै आएको छ । सदस्यहरुले कुमारी सेभिङको मोबाइल एप मार्फत संस्थामा रहेको खाताबाट सिधै बैंकमा रकम ट्रान्सफर गर्न मिल्ने सेवा समेत संचालनमा ल्याएको छ ।

पुरानो सिनामंगल पेप्सीकोलामा रहेको पाँच तारा बचत तथा ऋण सहकारी संस्थाले आजबाट १ साताका लागि कार्यालय पूर्ण रुपमा बन्द गरेको जनाएको छ ।

संस्थाले सूचना जारी गर्दै कोरोना भाइरसको दोश्रो लहर बढ्दै जाँदा सदस्य र संस्थामा कार्यरत कर्मचारी स्वास्थ्य सुरक्षालाई ख्याल गर्दै कार्यालय एक साताका लागि बन्द गरेको संस्थाका अध्यक्ष भोलानाथ पाठकले जनाएका छन् ।

कार्यालय बन्द रहेपनि सदस्यहरुलाई वित्तीय सेवा प्रवाह गर्ने उद्देश्यले संस्थाले एटिएम, पाँचतारा मोबाइल एप तथा भुक्तानी र बचतका प्रविधिमा आधारित सदस्य सेवाका विभिन्न माध्यम प्रयोगमा ल्याएकाले त्यसबाट सेवा लिन सूचना जारी गरेको छ ।

विषम परिस्थितिमा पनि सदस्यको हितलाई ध्यानमा राख्दै आकस्मिक ऋण प्रवाह र वित्तीय सेवालाई सदाझैं निरन्तरता दिने जनाइएको छ । अत्यावश्यक अवस्थामा संस्थाका कोषाध्यक्ष कुमार बिमली र व्यवस्थापक राधा कडरियालाई सम्पर्क गर्न सकिने संस्थाले जनाएको छ ।

न्युरोडमा रहेको शुक्रपथ बहुउद्देश्यीय सहकारी संस्थाले आफ्ना सेवा केन्द्र मार्फत छुट्टा छुट्टै बार सेवा दिने भएको छ । कोरोना भाइरसका कारण सरकारले गरेको निषेधाज्ञासँगै सहकारीले कार्यालय खोल्ने समय घटाएको हो ।

कोभिडका कारण सेवा केन्द्र तोकिएको दिन खुलेपनि केन्द्रिय कार्यलय भने संधै खुला रहने छ । साथै संस्थाले संचालन गरेको ३६५ दिने सेवा संचालनमा रहेको संस्थाका संचालक तथा सूचना अधिकारी अर्जुन बिश्वकर्माले जानकारी दिए । सदस्यहरुलाई सुरक्षित कारोबारका लागि शुक्रपथ एप्सको प्रयोग गर्न  पनि संस्थाले आग्रह गरेको छ ।

ललितपुरमा रहेको मनासलु बहुउद्देश्यीय सहकारी संस्थाले आलोपालो गरेर सेवा दिन थालेको छ । कोरोना भाइरसको जोखिम बढ्दै गए संगै संस्थाले हरेक दिन बिहान ११ बजे देखि दिउँसो २ बजेसम्म ब्यवस्थापनमा संलग्न कर्मचारीहरु बिचमा आलोपालो प्रणाली लागु गरि सदस्यलाई सेवा दिने संस्थाका अध्यक्ष राजेन्द्र पौडेलले जानकारी दिए ।

बौद्ध टुसालमा रहेको नेचुरल बचत तथा ऋण सहकारीले सदस्यहरुको आवश्यकता बमोजिम वित्तीय तथा सामाजिक कारोबार वृद्धि गर्ने जनाएको छ । संस्थाले प्रविधि मार्फत हुने कारोबारलाई जोड दिँदै आएको छ ।

नेचुरल साकोसको मोबाईल बैंकिङबाट मोबाईल रिचार्जदेखि बैंक रकम ट्रान्फर सम्मको सेवा सदस्यले उपयोग गर्न सकिने जनाएको छ । करिब ३ हजार सदस्यले मोबाईल बैंकिङ सेवा सुचारु गरेको संस्थाका प्रवन्ध संचालक विकल्प पाठकले बताए । यो सेवा नलिएका सदस्यले घरबाटै सेवा सुचारु गर्न सकिने पाठकको भनाई छ ।

कालिमाटीमा रहेको आश्रय बहुउद्देश्यीय सहकारीले सेवा दिन सम्पर्क व्यक्ती तोकेको छ । कोरोना संक्रमणका कारण जारी निषेधाज्ञा सरकारले थप कडाई गरेपछि कार्यलय खुल्ने समय तालिका परिवर्तन गरेको हो ।

अति आवश्यक वस्तुको खरिद तथा आकस्मिक स्वास्थ्य उपचारका लागि संस्थाले दिएको प्रविधिको प्रयोग गर्न सुझाएको संस्थाका प्रबन्ध निर्देशक राजेन्द्र कृष्ण श्रेष्ठले जानकारी दिए ।

थानकोटमा रहेको चन्द्रागिरि बचत तथा ऋण सहकारी संस्थाले कार्यालय सञ्चालन तालिका सार्वजनिक गरेको छ । कोरोना सङ्क्रमणका कारण जारी निषेधाज्ञा सरकारले थप कडाइ गरेपछि कार्यालय खुल्ने तालिका परिवर्तन गरेको हो ।

संस्थाले बिहान ८ बजे देखि बेलुका ५ बजे सम्म सेवा दिने जनाएको छ । यस्तै संस्थाले एम्बुलेन्स र शव बाहान सेवा चौबिसै घण्टा खुल्ला रहने जनाएको छ ।

कुलेश्वरमा रहेको शुभ लाभ बचत तथा ऋण सहकारी संस्थाले कार्यालय सञ्चालन सम्बन्धी तालिका हेरफेर गरेको छ ।निषेधाज्ञा भर अर्को सूचना जारी नभए सम्मका लागि आइतबार र बुधवार बिहान १० बजे देखि १ बजे सम्म मात्र सेवा सञ्चालन हुने जानकारी दिएको छ । यस्तै संस्थाले अति आवश्यक परे तोकिएका व्यक्ती सँग सम्पर्क गरी सेवा लिन भनेको छ ।

न्युरोडमा रहेको जेष्ट आइडियोलोजी बचत तथा ऋण सहकारीले सेवा केन्द्र मार्फत छुट्टा छुट्टै बार सेवा दिने भएको छ । कोरोना भाइरसका कारण सरकारले गरेको निषेधाज्ञा सँगै सहकारीले कार्यालय खोल्ने समय पनि घटाएको छ । कोभिडका कारण केन्द्रिय कार्यलयबाट दिने सेवा बन्द गरेको संस्थाका प्रमुख कार्यकारी अधिकृत हेम कार्कीले जानकारी दिए ।

धापासीमा रहेको धापासी बहुउद्देश्यीय सहकारी संस्थाले निषेधाज्ञा भर बिहाना १० बजे देखि २ बजे सम्म कार्यलय खुल्ने जनाएको छ । सेवा लिन आउने सदस्यले नेपाल सरकारले तोकेको मापदण्ड पालना गरि सेवा लिन अनुरोध गरेको छ ।

सुकेधारामा रहेको आइडियल यमुना बहुउद्देश्यीय सहकारी संस्थाले हप्ताको दुई दिन बिहान १० बजेदेखि दिउँसो १२ बजेसम्म कार्यालय खोली सेवा दिने जनाएको छ । संस्थाले हप्ताको दुई दिन आइतबार र बुधबार कार्यालयबाट सेवा दिने जनाएको छ ।

त्यसका अलवा संस्थाले सदस्यले सम्पर्क गरेमा घरमै पैशा पुर्यादिने जनाएको छ । संस्थासंग बचतलगायतका सेवा लिनु दिन संस्थाको कर्मचारीसंग सम्पर्क गरेर सेवा लिन सकिने संस्थाले जनाएको छ ।

कौशलटार भक्तपुरमा रहेको नागरिक विकास सेभिङ एण्ड क्रेडिट को अपरेटिभले सूचना प्रकाशन गरी समय तालिका तोकेको छ ।

संस्थाले २६ गतेबाट हप्ताको दुई दिन सेवा दिने जनाएको छ । सोमबार र बिहिबार बिहान १० बजेदेखि दिउँसो १२ बजेसम्म कार्यालयबाट सेवा दिने जनाएको छ । साथै सम्पर्क ब्यक्ती मार्फत पनि सेवा लिन सकिने छ भने एक पटकमा एक बचत खताबाट बढीमा २० हजारसम्म रकम झिक्न पाउने सूचनामा जनाइएको छ ।

बलम्बुमा रहेको बलम्बु सहकारी समुहले सूचना प्रकाशन गरी बिहान ७ बजेदेखि दिउँसो १२ बजेसम्म सेवा दिने जनाएको छ । समुहमा आवद्ध ११ वटा सहकारी संस्थाले संयुक्त रुपमा विज्ञप्ती प्रकाशन गरेका हुन् ।

समुहमा अभिलेख साकोस, बलम्बु च्याउ सहकारी, विजयी भव साकोस, चम्किला तारा महिला साकोस, हसना भास्तिपुर साकोस, किसान कृषि सहकारी, प्रज्ञान साकोस, सेभ एण्ड एन्हान्स साकोस, सुकर्म बहुउद्देश्यीय सहकारी, सुमेध साकोस र युनाइटेड ह्याण्ड्स साकोस आवद्ध रहेका छन् । समुहले उक्त संस्थाका अध्यक्ष तथा कर्मचारीसंग सम्पर्क गरेर सेवा लिन सकिने जाएको छ ।

ललितपुर चन्द्र सूर्य बचत तथा ऋण सहकारी संस्थाले साताको ३ दिन कार्यालय खोलेर कारोबार गर्ने जनाएको छ । संस्थाले साताको सोमबार, बुधबार र शुक्रबार बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म कार्यालय खोलेर सेवा दिने जनाएको हो ।



Leave a comment