सहकारीमा रकम जम्मा नगर्न भनेको छैन : बासुकला

सहकारीमा रकम जम्मा नगर्न भनेको छैन : बासुकला :: Sahakari Akhabar

भक्तपुर । भक्तपुर नगरपालिकाको सहकारी संस्था अनुगमन समितिका संयोजक हरिप्रसाद बासुकलाले आफूले नगरपालिकाको स्वीकृति बिना संचालित सहकारीमा रकम जम्मा नगर्न नभनेको बताएका छन् ।

उनले सहकारीमा रकम जम्मा गर्दा सदस्यले ध्यान दिनुपर्ने र पहिचान गरेर मात्र रकम जम्मा गर्न भनेको बताएका छन् । समितिले कार्यक्षेत्र बाहिरको सहकारीको अनुगन गरेको भन्दै सहकारीकर्मीले बिरोध गरेपछि संयोजक बासुकलाले नगर भित्र रहेका सहकारी समितिको सरोकारमा रहने भएकोले अनुगमन भन्दापनि अवस्थाको जानकारी लिएको बताए ।

केही दिन अघि समितिले कमलबिनायक मुलढोकामा रहेका ४ वटा सहकारी अनुगमन गरेको थियो । अनुगमन गरेका संस्थाहरुमा शिव शिखर बहुउद्देश्यीय सहकारी, अभियान कृषि सहकारी, कल्याण उपकार बचत तथा ऋण सहकारी र शुभ ज्योती बचत तथा ऋण सहकारी अनुगमन गरिएको बताएको छ । चारवटै संस्था प्रदेश अन्तर्गत पर्ने बताइएको छ ।

उनले प्रदेशको सहकारी ऐन अनुसार स्थानीय सरकारको स्वीकृति लिएर मात्र संस्था संचालन गर्न पाउने व्यवस्था भएपनि अधिकांश सहकारीहरुले नगरपालिकाको स्वीकृति बिना संस्था तथा सेवाकेन्द्र संचालन गरिरहेको बताए । अनुगमन भएका संस्थाको प्रदेशले अनुगमन गर्ने भएपछि स्थानीय तहले अनुगमन गरिरहनु नपर्ने सहकारीका संचालक बताउँछन् ।

सहकारी विभाग र प्रदेशले अनुगमन नियमन गरिरहेको संस्थालाई नगरपालिकाले पनि अनुगमन गर्नु भनेको दुख मात्र दिन खोज्नु हो अनुगमन भएको संस्थाका संचालकले भने । अनुगमन समितिका संयोजक बासुकला भने नगरभित्र संचालन भएका सहकारी भएकोले नगरको चासो भित्र पर्ने भएकोले सामान्य रुपमा सोधपुछ गरेको बताउँछन् । संघिय कानुन अगावै स्थापना भएका सहकारीले पनि नगरको स्विकृति लिनु पर्ने उनको भनाई छ ।

उनले स्थानीय कानुन आउनु अगावै स्थापना भएका र विभागबाट सेवा केन्द्रको स्विकृति लिई कारोबार गरिरहेका सहकारीलाई भने अनुगमन भन्दा पनि कस्तो अवस्थामा संचालन भएका रहेछन् चसोको विषय भएकोले गहन अनुसन्धान नभइ समन्वयका रुपमा हेरेको बताए । उनले नगरमा १५६ संस्था रहेको र सवैमा पालो पालो अनुगमन हुने बताए ।

उनले भने ‘धेरै पहिलादेखि अनुगमन गरिरहेका छौं, पछिल्लो पटक चाही प्रदेश र विभागबाट स्किृति प्राप्त संस्थाले नगरमा संचालन गरेका सेवा केन्द्र हेरेको बताए । उनले भने नगर भित्र भएकोले चासो लिएको र मैले सहकारीमा बचत नगर्न भनेको छैन ।’ उनले अब आउने सहकारीहरुले नगरपालिकाको स्वीकृति बिना संचालन गर्न नपाउने बताए ।

अनुगमनको क्रममा नगरका १५६ संस्थामध्ये १३० वटा संस्थाले बचत तथा ऋणको मात्र गरेको र केही समुदायको हितमा पनि काम गरेको पायौं । केहीले सहकारी पसल संचालन गरेर सेवा दिएको पनि पायौं । तर अधिकांश बहुउद्देश्यीय र कृषि लगायतले बचत संकलन र ऋण लगानी मात्र गरेको पाइयो ।

सेवाकेन्द्र संचालन भएको संस्थाका शाखामा कारोबारको बिबरण नराख्ने, संस्थामा ब्यवस्थापकीय हावी, बिना धितो ५० लाखसम्म लगानी, सदस्य नबनाई कारोबार गरेको, साधारण सभा नगरेकोलगाएतका कैफिएत भेट्टाएको उनले बताए ।

उनले अनुगमन गरिएका सहकारीको बिबरण नगरपालिका सहकारी शाखालाई लाई जानकारी गराएको बताए । अनुगमन पछि नगरपालिकामा रिपोर्ट बुभाउने गरेको र नगरको सहकारी शाखामा उपस्थित हुन अनुगमन समितिले निर्देशन दिएको बताए ।




Leave a comment